आर्थिक बर्ष २०७४/७५ मा कुन राशिको कति कमाउने योग छ ? हेरौं बार्षिक आर्थिक राशिफल

  • काठमाडौं ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आर्थिक दृष्टिले यो वर्ष लाभदायक र आशावादी परिणाम प्राप्त हुने सम्भावना छ, यद्यपि नयाँ लगानीको प्रतिफल प्राप्त हुन केही ढिलो हुनसक्छ । बन्दव्यापारमा नयाँ निवेश र लगानीका लागि उपयुक्त समय छैन, तर गरिआएको कारोबारबाट लाभ नै हुनेछ । उता अनावश्यक खर्चमा पनि नियन्त्रण गर्नु पर्छ । वित्तीय कारोबार र सेयर मार्केट पक्षमा रहने देखिंदैन । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जसले नयाँ व्यवसाय वा नोकरी थाल्नुभएको छ, तिनलाई वर्षको पूर्वार्द्धमा केही कठिनाइ हुनसक्छ, तर वर्षको उत्तरार्द्ध भने अनुकूल नै हुनेछ । यो वर्ष रिस, राग, आवेश, उत्तेजना र कामुकतामा नियन्त्रण राख्नुपर्ने वर्ष हो, अन्यथा बेकारको झन्झटमा फँस्न सक्नुहुन्छ । आर्थिक दृष्टिले यो वर्षको सम्पूर्ण समय आफ्नै पक्षमा रहने छ । आफूले गरेको मिहिनेतको राम्रो परिणाम प्राप्त हुने वर्ष हो, यो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आयमा कमी आउने सम्भावना छ, अतः जतिसक्दो खर्चमा नियन्त्रण गर्नु राम्रो हुन्छ । उता बन्दव्यापारमा लागेका हरूले राम्रो मुनाफा कमाउने छन्, तर कुनै अवैध वा गैरकानुनी मानिने वस्तुप्रतिको आकर्षणले धोका दिनसक्छ । यो वर्ष आफ्ना प्रियतमसँग बितेको समय पछिसम्म यादगार रहन सक्छ । भ्रमण, पर्यटन र घुमघाममा समय र धन खर्च हुने सङ्केत छ । सरकारी कामकाज र राज्यपक्षका काममा सफलता हासिल हुनेछ । वैदेशिक रोजगारीबाट लाभ लिन सकिने छ । केही छिटपुट विषयलाई नलिने हो भने समग्रमा यो वर्ष निमित्त राम्रो र असल वर्ष साबित हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आर्थिक दृष्टिले यो समय सुझबुझ र समझदारीमा निर्भर रहने समय हो । जोसुकैसित आँखा चिम्लिएर विश्वास गर्नु लाभकारी हुन्न, सञ्चित धन नाश हुने खतरा छ । बन्दव्यापारमा साझेदारप्रति सशङ्कित हुनुपर्छ, तपाईंविरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । नोकरीमा संलग्न व्यक्तिहरूले उन्नतिका निमित्त प्रशस्त अवसर प्राप्त गर्नेछन् र नवीन पेसा वा रोजगारीको राम्रो अवसर प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आर्थिक पक्ष सन्तुलित नै रहने छ, मूलधनमा निरन्तर बृद्धि भइ रहने छ । पेसा, व्यवसाय र बन्दव्यापार गर्नेका लागि पनि लाभप्रद समय छ । कार्यक्षेत्रमा साख यथावत रहने छ, हाकिमले कामधन्दा र प्रयासको प्रशंसा गर्नेछन् र यश, सम्मान र जस पाउनुका साथै पुरस्कार समेत प्राप्त हुनेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बन्दव्यापारमा लागेका व्यक्तिले अगस्टभन्दा पहिले निकै तनाव झेल्नुपर्छ । तर त्यसपछि वर्षको सुरुमा देखिएका कमीकमजोरी र घाटालाई पूर्ति गरी उन्नति गर्ने अनुकूलता आउने छ । समग्रमा कन्या राशिका जातकका लागि वर्षको सुरु आफ्नो पक्षमा नरहे पनि वर्षको अन्तिम चरणले खुसी, उमङ्ग र उत्साह सिर्जना गर्ने सङ्केत देखिंदैछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पुराना रिनसापटी चुक्ता गर्न वर्षको उत्तरार्द्धमा झन् गाह्रो हुने भएकाले सुरुको ७ महिनाभित्रै प्रयास गरेको जाति हुन्छ । प्रेम र प्रणयप्रसङ्गमा शुभ सङ्केत छ, प्रियतमसित नै लामो समय व्यतीत हुनेछ, आपसी समन्वयको कमी रहने छ । शारीरिक सुख र स्वास्थ्यस्थितिमा सुधार आउने छ, वर्षको अन्त्यमा धार्मिक, सामाजिक र माङ्गलिक काममा धन खर्च हुने सम्भावना छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बन्दव्यापार र नोकरीका क्षेत्रमा उत्साह र स्फूर्तिको कमीले काम बिग्रने सम्भावना छ । व्यापारीहरूले अगस्टभन्दा पहिले धननिवेश गर्नु त्यत्ति राम्रो हुँदैन, तर त्यसपछि राज्यस्थानमा बृहस्पति जाने भएकाले पूँजी निवेश र लगानीको राम्रो वातावरण प्राप्त हुनेछ । उता शनिश्चर तपाईंको राशिमा छ, त्यसैले ज्यादा महत्त्वाकांक्षा देखाउनु पनि राम्रो हुन्न । कार्यक्षेत्र, घरपरिवार र आन्तरिक समस्यामा धेरै समय व्यतीत हुनाले उन्नतिप्रगतिमा बाधा पुग्नसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ननवीन पेसा वा रोजगारीका लागि गरेको प्रयास सफल हुनेछ । देशपरदेशको भ्रमणबाट लाभ नै हुनेछ । कार्यरत कर्मचारीको पदोन्नति र तलबसुविधामा बृद्धि हुने सम्भावना छ । बन्दव्यापारमा राम्रै छ, तर धोखाधडी र जालसाजीबाट जोगिनु पर्छ । आर्थिक हैसियत राम्रै हुनेछ, तर ऋणसापटी र लेनदेनमा सतर्क रहनु राम्रो हुन्छ । पूँजी निवेश र लगानीका लागि वातावरण राम्रो छ, तर नयाँ मानिस, नयाँ ठाउँ र नयाँ कम्पनीमा कारोबार नगर्नु राम्रो हुन्छ । कानुनी झमेलाबाट टाढा रहनु पर्छ । समग्रमा धनु राशिका व्यक्तिहरूले यो वर्ष सचेत र संयम भई काम गर्दा राम्रो लाभ प्राप्त गर्न सक्नेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारीले सरकारी कारोबारबाट लाभ पाउने छन्। वैदेशिक क्षेत्र, आयातनिर्यातका कारोबारबाट उन्नति हुनेछ । अगस्टपछि बृहस्पति भाग्यभावमा आउने र राशिको मालिक शनिश्चरको वर्षभरि पूर्णदृष्टि रहने भएकाले अत्तालिने परिस्थिति छैन, धैर्य, संयम र नियन्त्रित भई व्यवहार गर्न सकेमा सबै पक्षमा राम्रो प्रतिफल पाउन सकिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आर्थिक पक्ष बलियो बन्नेछ, वित्तीय कारोबारबाट लाभ मिल्नेछ । सँगीसाथी र घरपरिवारका सदस्यहरूले सकेको सहयोग गर्नेछन् । नयाँ ठाउँमा लगानी वा पूँजी निवेशको सम्भावना देखिन्छ । यो वर्ष तपाईंको लगनशीलता, मिहिनेत र परिश्रमको परीक्षणको समय हो । नोकरी र बन्दव्यापारमा लागेकाहरूका लागि अझ धेरै राम्रो छ । पदोन्नति र आर्थिक लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बन्दव्यापार र व्यापारिक प्रतिष्ठानमा पनि केही विवाद र समस्या देखिन सक्छन् । अप्रत्याशित ढंगले खर्चको मात्रा बढ्नसक्छ । स्वास्थ्यप्रति सचेत हुनुपर्छ, आन्द्रा, कलेजो र मिर्गौला यस वर्षका लागि कमजोर अङ्ग हुनेछन् । तर अगस्टपछि एकाएक समय तपाईंको पक्षमा आउने छ । परिवारमा खुसीको वातावरण सञ्चरण हुनेछ, कारोबारमा गतिशीलता आउने छ ।

(इमान्दार मिडिया डटकमका लागि ज्योतिष पण्डित कृष्ण पौडेलद्वारा प्रस्तुत)

,

प्रतिकृया दिनुहोस्

Loading...