आचारसंहिता उल्लंघन गर्दै कर्मचारी भर्ना गरिएपछि अन्तरष्ट्रिय सम्मेलन केन्द्रभित्र बबाल

काठमाडौँ । 

निर्वाचन आचारसंहिताको उलंघन गर्दै अन्तराष्ट्रिय सम्मेलन केन्द्रले ५ जना नयाँ कर्मचारी नियुक्त गरेको छ ।

शहरी विकास मन्त्रालय मातहातमा रहेको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा आचारसंहिता लागु भएका बेला आफ्ना मान्छेलाई जागिर खुवाउनकै लागि दरबन्दी थपेर नयाँ कर्मचारी भर्ना गरिएको हो ।

श्रोतकाअनुसार अर्जुननरसिंह केसी सहरी विकास मन्त्री हुँदा नै उनीहरु ५ जनालाई भर्ना गर्न खोजिएको थियो तर केसीले स्वीकृति नदिएपछि ति ५ जनाले सम्मेलन केन्द्रको जागिर खाने मौका पाएका थिएनन् ।

निर्वाचन आचारसंहिता लागु भइसकेपछि ३ जना बैशाखमा र २ जना असारमा गरि ५ जनालाई नियुक्त गरिएको छ । तर कर्मचारी नियुक्त गर्न वोर्ड समितिले भने सिफारिस गरेको छैन ।

सम्मेलनकेन्द्र कर्मचारी श्रोतका अनुसार आचारसंहिता उल्लंघन गरि नारायण श्रेष्ठ, बसन्त शर्मा, मनुमायाँ साक्य, ममिता श्रेष्ठ र मनोज कार्कीलाई करारमा नियुक्त गरिएको हो। 

'बैसाखदेखि काममा लागेका उनीहरुले तलब भत्ता नियमित बुझिरहेका छन् । विगतमा भने कर्मचारी नियुक्त भएको ३ महिना पछी मात्र थप भत्ता र सेवा सुबिधा दिने प्रचलन थियो. उनीहरुलाई भने काममा लागेको महिनादेखि नै सबै सेवा सुबिधा उपलब्ध गराइएको छ ।' इमान्दार मिडियासँग सम्मेलन केन्द्रका एक कर्मचारीले भने ।

मन्त्री शाहले दिएका छैनन् स्वीकृति 

अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा नयाँ कर्मचारी भर्नाको लागि शहरी बिकास मन्त्री प्रभु साहले स्वीकृति दिएका छैनन् । अघिल्लो सरकारका मन्त्रि अर्जुननरसिंह केसीले पनि सम्मेलन केन्द्रमा तत्काल नयाँ कर्मचारी भर्ना अनावश्यक भएको र खर्च भार मात्र बढ्ने भन्दै स्वीकृति दिएका थिएनन् ।

श्रोतका अनुसार मन्त्रि साहले अनुसन्धानला लागी सम्मेलन केन्द्रको सबै कर्मचारी विवरण, मासिक खर्च विवरण, लगायत भौतिक सामाग्रीको विवरण समेत माग गरी अध्यन गरिरहेका छन् ।

नयाँ कर्मचारी भर्नाका लागी सम्मेलन केन्द्र बोर्ड बैठकले सिफारिस गरेर मन्त्रालय पठाइ मन्त्रीले स्वीकृति दिएपछि मात्र निर्णय लागु हुने व्यवस्था छ । 

बोर्डमा सहरी बिकाश मन्त्रालयको एक, भवन बिभागकको एक, उद्ध्योग बाणिज्य महासंघको एक, पर्यटन मन्त्रालयको एक, होटल एसोसिएसनको एक, महानगरपालिकाको एक र गृह मन्त्रालयबाट एक-एक जना प्रतिनिधि रहने ब्यवस्था छ । 

कर्मचारी भर्नामा पैसाको चलखेल हुनसक्ने आसंका 

नयाँ कर्मचारी भर्ना प्रकरणमा यता सहरी बिकास मन्त्रालयलाइ पनि जानकारी नहुनु र बोर्ड समितिमा निर्णय नै नगरी बैसाखबाट कर्मचारी भर्ना गरी तलब खुवाइनुले कार्यकारी निर्देशक माथि पैसाको चलखेल भएको आसंका सम्मेलन केन्द्रका अन्य कर्मचारीहरुले गर्न थालेका छन् ।

आफ्नो नाम सार्बजनिक नगरिदिन अनुरोध गर्दै एक जना कर्मचारीले इमान्दार मिडियासंग भने - 'बोर्ड समितिको बैठक असार ३० गते बसेर निर्णय गर्ने भनिएको छ। तर नयाँ कर्मचारीलाई भने बैसाखदेखि नियुक्ति गरेर तलब भत्ता खुवाउन सुरु गरिएको छ । यो अनियमितता नभएर के होला ? यसले पक्कै पनि हामीलाई ससंकित बनाएको छ । यो कर्मचारी नियुक्ति प्रकरणमा पक्कै पैसाको चलखेल भएकै हो ।'

भ्रमणको बहानामा कर्मचारीलाई भोट हाल्न पठाइयो

यस्तै अन्तराष्ट्रिय सम्मेलन केन्द्रले निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै केही कर्मचारीलाई भ्रमणमा पठाएको छ । निर्वाचनको नजिकै कुनै पनि सरकारी कर्मचारीलाई सरुवा बढुवा गर्न तथा नयाँ नियुक्त गर्न पाइदैन । 

त्यस्तै आचारसंहिताको उल्लंघन गर्दै सरकारी कर्मचारीहरुलाई कुनै पनि प्रकारको भ्रमण वा बिदामा पठाउन पनि पाइदैन तर सम्मेलन केन्द्रका हाकिम आफूसहित ४ जना कर्मचारीको खर्च समेत सम्मेलन केन्द्रले व्यहोर्ने गरी भ्रमणमा गए । 

' उहाँहरुलाई सम्मेलन केन्द्रका कार्यकारी निर्देशकको मनोमानीमा अवलोकन भ्रमणको बहानामा दैनिक भत्ता समेत दिएर निर्वाचनमा भोट हाल्न पठाइएको हो ।' ती कर्मचारीले इमान्दार मिडियासँग भने ।

सम्मेलन केन्द्रका कार्यकारी निर्देशक बोर्ड समितिका सदस्य सचिब रहने व्यवस्था छ । हाल कांग्रेस निकट कर्मचारी पुरुषोत्तम अमात्य कार्यकारी निर्देशक छन् ।

अत्यावश्यक कर्मचारी नियमानुसार नै भर्ना गरिएको छ : निर्देशक अमात्य

यता सम्मेलन केन्द्रका कार्यकारी निर्देशक पुरुषोत्तम अमात्यले ५ कर्मचारी भर्ना गरेको स्वीकार गर्दै कर्मचारी भर्ना नियमसंगत नै भएको बताएका छन् । 

'केहि अत्यावश्यक कर्मचारी प्रक्रिया पुर्याएर नियमसंगत भर्ना गरिएकै हो ।' अमात्यले इमान्दार मिडियासँग भने - ' यहाँ केहि कर्मचारी साथीहरुले आफ्ना मान्छे राख्न दबाब दिएका थिए । उहाहरुको भनेको नमानी नियमसंगत दरखास्त आव्हानबाटै भर्ना गरिएको हुनाले उनीहरुलाई यो कुरा मन परेन होला, त्यहि कुरालाई इष्यु बनाए हाेलान ।'

२०७४ असार २९ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...