यी हुन् फेसबुकबाट १७ करोडको लोभ देखाएर सुजाताको ५५ लाख झ्वाम् पर्ने युवकहरु

  • काठमाडौँ। 

फेसबुकबाट १७ करोडको लोभ देखाएर दाङकी सुजाता केसी पौडेलको ५५ लाख रुपैँया झ्वाम् पार्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धानबाट धादिङ धुनीबेसी नगरपालिका वडा नम्बर ७ घर भई ललितपुरको लगनखेलमा बस्ने २१ बर्षीय पुरन घर्तीमगर भन्ने सुमन लामा, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ घर भई काठमाडौँको लाजिम्पाट बस्ने ३७ बर्षीय रवि थोकर र ललितपुर उपमहानगरपालिका वडा नम्बर ४ धोबिघाटका ३४ बर्षीय दिनेश बस्नेतले सुजाताको त्यो रकम ठगेको पत्ता लगाएको छ । उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय अपराध महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

दाङको लमही नगरपालिका वडा नम्बर ५ की सुजाता केसी पौडेलको ५५ लाख ८५ हजार रुपैँया डुबेको हो । फेसबुकमा साथी बनेका युनुस स्मीथ नामक व्यक्तिले देखाएको करोडौँ रुपैँयाको लोभमा परेपछि उनले रकम डुबाएकी हुन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाका अनुसार, करिब एक बर्षअघि स्मीथले आफूलाई बेलायती नागरिक हुँ भन्दै फेसबुकमा साथी बनाएको थियो । फेसबुकमा लामो कुराकानीपछि उसले भारतीय मोबाइल नम्बरबाट ह्वाट्स एपमा कुराकानी गर्न थाल्यो । उनीहरुबीचको कुराकानीपछि सुजाता खुबै राम्रो साथी पाएकोमा मख्ख भइन् । स्मीथले सुजाताको खातामा १.७ मिलियन डलर (१७ करोड रुपैँया नेपाली) बैंक अफ अमेरिकाको दिल्ली शाखाबाट पठाएको बतायो । तर, भारतीय नियम अनुसार कर तिर्नुपर्ने भन्दै उसले जगदीश आचार्य तथा पुरन घर्तीमगरको खाताबाट र रामकुमार शेर्पा, सञ्जीव महर्जन समेतको नामबाट आइएमई गरी रकम पठाउन सक्छु भनी विश्वास दिलायो । सोही अनुसार, उसले सुजातालाई बैंक खाता र आइएमईबाट पटकपटक गरी ५५ लाख ८५ हजार रुपैँया पठाउन लगायो ।

तर, १७ करोड रुपैँया रकम पठाएको भनेको व्यक्ति एकाएक फरार भएपछि मात्र सुजाताले आफू ठगिएको जानकारी पाएकी थिइन् । उनले महानगरीय अपराध महाशाखाको शरण लिएपछि प्रहरी घटनाको जरैसम्म पुग्न सफल भएको छ ।


,

प्रतिकृया दिनुहोस्

Loading...