अपडेट: बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ६४ पुग्यो (घाइते र बेपत्ताको विवरणसहित)

  • काठमाडौं।
अविरल बर्षाका कारण भएको डुबान तथा बाढी पहिरोबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । विभिन्न जिल्लामा अहिलेसम्म ६४ जनाको ज्यान गएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।

त्यस्तै प्राप्त विवरण अनुसार अहिलेसम्म बाढी, पहिरो र डुबानमा परेर ४४ जना घाइते भएका छन् भने ३६ जना बेपत्ता भएका छन् । 

झण्डै १९ हजार घरपरिवार विस्थापित भएका, ७ सय २८ घरहरु पूर्णरुपमा क्षति भएका तथा २ हजार १ सय ५३ घरमा आंशिक क्षति भएको मानवअधिकार आयोगले जनाएको छ । बाढी, पहिरो तथा डुबानपछि सृजित अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राहत, उद्धारको लागि प्रभावकारी कार्य भएको नपाइएको भन्दै तत्काल जुट्न आग्रह समेत गरेको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीद्वारा आज जारी प्रेस विज्ञप्तिमा जोखिममा परेका सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिको आवश्यकताअनुसार खोज, उद्धार र राहत कार्यमा लाग्न सरकार तथा सरोकार भएका पक्षलाई आग्रह गरिएको छ ।

प्राकृतिक प्रकोपपछि देखा पर्न सक्ने सरुवा रोगको प्रकोप तथा महामारीबाट संरक्षणका लागि चिकित्सकको अस्थायी टोली व्यवस्थापन गर्न, बाढी, पहिरो तथा डुबानबाट थप जनधनको क्षति हुन नदिन, पूर्व सावधानी अपनाउन आयोगले सबैमा विशेष आग्रह गरेको छ ।

२०७४ साउन २९ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...