सीमाविद्ले दिए कोशी बाँध फुट्न लागेको चेतावनी, पूर्वी नेपालमा खैलाबैला

  • इनरुवा । 

सिमाविद् बुद्धिनारायण श्रेष्ठले सप्तकोशी नदीको बाँध फुट्न लागेको बताएपछि सुनसरी र सप्तरी क्षेत्रमा सन्त्रास फैलिएको छ ।

सप्तकोशी नदीमा पानीको बहाव घटवढ हुने क्रम जारी रहेका बेला कोशी फुट्ने हल्ला चलेपछि र सीमाविद् श्रेष्ठले आफ्नो एक अन्तर्वार्तामा कोशी ब्यारेजको म्याद सकिएको भन्दै जतिबेला पनि फुट्न सक्ने चेतावनी दिएपछि सुरक्षा निकायका प्रमुखसहित सुनसरी र सप्तरीका सरकारी अधिकारी निरीक्षणका लागि पुगेका छन् ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक विद्यानन्द माझी, प्रमुख कोष नियन्त्रक बद्री घिमिरे र सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरीक्षक मुकेशकुमार सिंह लगायतले कोशी बाँध तथा स्परको निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा कोशीको बाँध तथा स्पर भत्किने कुनै खतरा नरहेको र बिगतको तुलनमा मजवुत भएका कारण अहिले बाँध भत्किने स्थिति नभएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कोशी नदीमा अहिलेकै अवस्थामा पानीको बहाव यथावत रहे सुनसरी र सप्तरीमा कुनै खतरा नहुने प्रजिअ पराजुलीले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...