संगठनप्रति गम्भिर घात गरेको भन्दै उजिर मगर प्रेस सेन्टरबाट निश्काषित

  • काठमाडौँ । 
संगठनको लाइनविपरित पत्रकार महासंघको आसन्न चुनावमा अध्यक्ष पदमा बागी उम्मेदवारी दिएका उजिर मगरलाई प्रेस सेन्टरले कारवाही गरेको छ । 

संगठनप्रति गम्भिर घात गरेको भन्दै मगरलाई प्रेस सेन्टरको साधारण सदस्यसमेत नरहने गरी निश्काषित गरिएको महासचिव विष्णुप्रसाद सापकोटा ‘जुगल’ले जानकारी दिएका हुन् ।

मगर नेपाल पत्रकार महासंघको २४ औं महाधिवेशनमा प्रेस सेन्टर नेपाल (तत्कालीन क्रान्तिकारी पत्रकार संघ)को तर्फबाट उम्मेद्वार भई महासचिवमा निर्वाचित भएका थिए । 

तर, महासंघको २५ औं महाधिवेशनमा संगठनले अध्यक्षमा गोविन्द आचार्यलाई उम्मेद्वार बनाएकोमा उजिर मगरले संगठनको निर्णय विपरित अध्यक्ष पदमा उम्मेद्वारी दिएका थिए । 

सेन्टरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारी फिर्ता लिई संगठनको निर्णय मान्न पटक पटक निर्देशनात्मक आग्रह गर्दा पनि नमानी आफ्नो उम्मेदवारी कायमै राखेकोले उजिर मगरलाई आजकै मितिदेखि प्रेस सेन्टर नेपालको साधारण सदस्यबाट निस्कासित गरिएको सबैमा जानकारी गराइन्छ ।’

पत्रकार महासंघको महासचिवमा निर्वाचित भईसके पश्चात मगरले गरेका काम, कारबाही र कार्यशैलीका कारण प्रेस सेन्टरलाई क्षति तुल्याएको विज्ञपितमा भनिएको छ । ‘पत्रकार महासंघका बहालवाला केन्द्रीय सदस्यले समाचारलाई आधार बनाएर लाखौं रुपियाँको बार्गेनिङ गरेको घटनामा खेलेको भूमिका, पत्रकार महासंघको काठमाडौं शाखाको निर्वाचनमा संस्थागत धाँधली गरी प्रेस सेन्टरका उम्मेदवारलाई पराजित गरेकालगायतका घटना संगठनको हित बिपरित छन्,’ विज्ञप्तिमा भनिएको छ ।

पत्रकार महासंघको निर्वाचनमा भ्रममा नपरी अध्यक्ष पदका उम्मेदवार गोविन्द आचार्य र उनी नेतृत्वको लोकतान्त्रिक, प्रगतिशील, समावेशी र व्यवासायिक प्यानललाई मतदान गर्न प्रेस सेन्टरले अपिल गरेको छ । प्रेस सेन्टरको कोही कसैले उजिर मगरलाई सहयोग गरेको पाइएमा संगठनले तत्काल कार्बाही गरिने पनि विज्ञप्तिमा उल्लेख छ ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...