बडा दशैंको सन्देश भन्दै ज्ञानेन्द्रले दिए यस्तो चेतावनी

  • काठमाडौं ।
विभिन्न समय र सन्दर्भ पारेर विज्ञप्तिबाजी गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहले बडा दशैंका सन्दर्भमा बुधबार शुभकामना सन्देश जारी गर्दै राजनीति दलहरुलाई फेरि एक पटक झस्काएका छन् ।

हिन्दु धर्मको रक्षा आफ्नो बंशले मात्रै गर्न सकेको सन्देश पटक पटक जारी गर्ने गरेका नेपालका अन्तिम ज्ञानेन्द्रले फेरि एक पटक विज्ञप्ति जारी गरी मौलिक संस्कृति, मूल्य मान्यता विस्थापित गरी आयातित संस्कृति र धर्मलाई प्रोत्साहित गरिरहेको भन्दै आफू गम्भीर बनेको बताएका छन् । 

‘मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मूल्य मान्यता विस्थापित गर्दै जाने र आयातित संस्कृति र धर्मलाई प्रोत्साहित भइरहेकोप्रति हामी गम्भीर बन्नु परेको छ ।’– शाहले विजयदशमीका उपलक्ष्यमा जारी गरेको शुभकामनामा उल्लेख छ । उनले बाह्य शक्तिद्वारा स्रोत परिचालन गरी देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा प्रहार हुँदै आएको आरोप लगाएका छन् । 

‘यो देशको अखण्डता, अविभाज्यता र स्वाभिमानमा केही बाह्य शक्तिद्वारा स्रोत परिचालन गरी प्रहार हुँदै आएको अनुभव, नेपाली जनतामा हुनु सुखद विषय हुँदै होइन’, शुभकामना सन्देशमा पूर्वराज ज्ञानेन्द्रले भनेका छन्, ‘त्यसैले एकातिर सबैको सामुहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहाँ स्वाभिमान गुम्ने र समृद्धि टाढिने स्थितिको सामना हामीले गरिरहनु परेको छ ।’ 

राज्यका सबै संयन्त्रहरुमा राजनीतिकरण भइरहेको तथा राज्यप्रतिको विश्वास र भरोसामा ह्रास आउनु देशका लागि शुभ संकेत नभएको पनि उनले स्पष्ट गरेका छन् । ‘किन र कसका कारणले यस्तो स्थिति भएको हो, त्यसको खोजीनीति हुनु आवश्यक भइसकेको छ ।’– उनको चेतावनी छ । 

पूर्वराजा शाहले नेपालका राजनीतिक दलहरुले प्रजातन्त्रकै बर्खिलाप गर्ने काम गरेको आरोप लगाउँन पुनः एक पटक झस्काउन पुगेका छन् । यस पटकको बडा दशैंमा टीका नलगाउने घोषणा गरेका शाहले हिन्दु राष्ट्र कायम गर्नुपर्ने स्पष्ट नभने पनि घुमाउनु पारामा दूरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमत मार्फत खोज्न पर्ने बताएका छन् । 

धर्म निरपेक्षताको निर्णय जनमत संग्रहबाट गर्नुपर्ने राप्रपा अध्यक्ष कमल थापाले पनि उठाउँदै आएका छन् । जनमत मार्फत दूरगामी महत्वका राष्ट्रिय मुद्दाको निरुपण खोज्न हिच्किचाउनु प्रजातन्त्र सम्मत ब्यवहार नभएको उनको तर्क छ । 

राजनीतिक दलहरु नै प्रजातन्त्रविरोधी 

‘दूरगामी महत्वका राष्ट्रिय मुद्दाहरुको निरुपण जनमतमार्फत खोज्न हिच्किचाउनुलाई प्रजातन्त्र सम्मत ब्यवहार भन्न मिल्छ कि मिल्दैन ?’, शाहले प्रश्न छ, ‘संवैधानिक अंगहरुको निश्पक्ष भूमिकालाई निरुत्साहित गर्ने र राज्यका हरेक निकायलाई दल विशेष गर्दै जाने नीतिले देशलाई कहाँ पुर्याउँछ ?’ 

उनले पारस्परिक विश्वास, सम्मान र एकताले मात्र सम्वृद्धिको यात्रामा अगाडि बढ्न सक्ने उल्लेख गर्दै देश शान्त, सुस्थिर र सम्मानित भएको हेर्ने आफूहरुको चाहना अझै पूरा हुन नसकेकोमा दुःखी भएको बताएका छन् । 

२०७४ असोज १२ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...