स्थानीय तह निर्वाचनमा संख्या एमालेको बढी, पपुलर मतमा कांग्रेस पहिलो

  • काठमाडौँ ।
पहिलो, दोस्रो र तेस्रो चरणको निर्वाचन सकिएपछि देशभरका स्थानीय तहको संख्यामा सबैभन्दा ठूलो दल नेकपा एमाले बन्ने निश्चित भएको छ भने पपुलर मतका आधारमा भने सबैभन्दा ठूलो दल कांग्रेस नै रहिरहनेछ।

प्रदेश २ को निर्वाचन परिणाम उत्तरार्धमा चल्दै गर्दा सो प्रदेशका एक सय ३६ स्थानीय तहमध्ये अहिलेसम्म कांग्रेसले ३९ स्थानमा जीत दर्ज गरेको छ जसले उसलाई चार लाख १३ हजार मत दिलाएको छ। मतगणना भइरहेका वीरगञ्ज महानगर, कलैया उपमहानगर र राजविराज नगरमा कांग्रेसले पाएको मत निर्वाचन आयोगले उपलव्ध गराएको यो तथ्याङ्कले समेटको छैन।

मतगणना भइरहेका तीन स्थानको मतपछि कांग्रेसले चार लाख ५५ हजार हाराहारीमा मत आर्जन गर्ने छ। जव कि प्रदेश नम्बर दुईमा पपुलर मतका आधारमा दोस्रो दल बनेको एमालेले १८ स्थान जित्दै तीन लाख आठ हजार मत पाएको आफ्नो पोल्टामा पारिसकेको छ। मत गणना भइरहेका वीरगञ्ज, कलैया र राजविराजको मत पनि जोड्दा एमालेले तीन लाख २५ हजार हाराहारीको मत आफ्नो पक्षमा पार्नेछ।

पहिलो र दोस्रो निर्वाचनमा भने तहको संख्याका आधारमा मात्र होइन पपुलर मतका आधारमा पनि एमाले पहिलो दल बनेको थियो। 

यसअघिका दुई चरणका निर्वाचनमा कुल मतमध्ये एमालेले २६ लाख ९८ हजार ७ सय ३६, नेपाली काङ्ग्रेसले २६ लाख ५६ हजार २ सय ७५ र माओवादी केन्द्रले १२ लाख ७५ हजार ३५ मत प्राप्त गरेका थिए। 

यसरी काङ्ग्रेसभन्दा एमाले कुल ४२ हजार ४ सय ६१ मतले अग्रस्थानमा रहेको थियो। तर प्रदेश नम्बर दुईको निर्वाचनले भने पपुलर मतका आधारमा कांग्रेसलाई पहिलो नम्बरमै राखेको छ।

तहगत रुपमा कांग्रेस दुई नम्बर प्रदेशमा पहिलेभन्दा कमजोर देखिए पनि पपुलर मतका आधारमा यसअघिको संविधानसभा निर्वाचनको साख जोगाएको देखिन्छ। 

अहिले उसले पाएको मत २१ प्रतिशतको हाराहारीमा हुन्छ जुन पछिल्लो संविधानसभामा कांग्रेसले मधेस–तराईका ८ जिल्लामा प्राप्त गरेको थियो।

संविधानसभाको कसीमा हेर्ने हो भने एमालेले प्रदेश नम्बर दुईमा पपुलर मत गुमाएको देखियो। झण्डै १९ प्रतिशत मत ल्याएको एमालेले अहिले झण्डै १६ प्रतिशत मात्र मत आफ्नो पोल्टामा पारेको छ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...