अन्ततः माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुने निश्चित

  • काठमाडौं ।
नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकता गर्ने तयारी गरेको छ । माओवादी केन्द्रको सोमवार पेरिशडाँडामा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकमा एमालेसँग पार्टी एकता गर्नेबारेमा छलफल भएको छ । बैठकमा एमालेसँग पार्टी एकता तथा बाम तालमेल गर्नेबारेमा छलफल भएको थियो ।

बैठकमा एमाले सहितका बाम पार्टीहरुबीच एकता तथा सम्भावित तालमेलकाबारेमा छलफल भएको प्रवक्ता पम्फा भुसालले बताइन् ।

माओवादी केन्द्र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादललाई एकताको लागि छलफल गर्ने जिम्मा दिएको पनि भुसालले बताइन् ।

तर माओवादी केन्द्रका एक उच्च नेताले दिएको जानकारी अनुसार माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुने निश्चित भइसकेको छ ।

एमालेले आगामी निर्वाचनमा माओवादी केन्द्रसहितका बाम दलहरुसँग सहकार्य र तालमेल गर्ने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले एमालेसँग पार्टी एकता नै गर्ने निश्कर्षमा पुगेको हो । यसका लागि मंगलबार नै एमालेसँग तीन नेताले छलफल गर्ने पनि माओवादी स्रोतले बतायो ।

एमालेको निर्णय लगत्तै भएको माओवादी केन्द्रको यो निर्णय दुई पार्टीबीच तत्कालै पार्टी एकता नभए पनि मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल र सहकार्य गर्ने देखिएको छ । एमाले र माओवादी केन्द्र यो निर्णयले गैरबामदलहरुलाई एक्ल्याउने स्पष्ट संकेत देखा परेको छ ।

एमाले र माओवादी केन्द्रबीच भएको समझदारीको प्रारम्भिक निर्णय मंगलबार नै सार्वजनिक गर्ने भएको छ । तर दुई पार्टीबीच सहकार्य र तालमेल भए पनि तत्कालै शेरबहादुर देउवा नेतृत्वको सरकार भने परिवर्तन नहुने भएको छ ।

निर्वाचनअघि नै सरकार परिवर्तन गर्न निर्वाचनमा विभिन्न षड्यन्त्र हुन सक्ने भन्दै मंसिरसम्म सरकार परिवर्तन नगर्ने पनि दुई दलबीच समझदारी भएको माओवादी एक हेडक्वाटर स्रोतको भनाइ छ ।

२०७४ असोज १७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...