जनकपुरधाम, २२ कात्तिक ।
आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्घ दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि सुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।
व्रतालुले यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, विहारकुण्ड, रत्नसागर, रुक्मिणी सर, अरगजा, महाराजसागर, विषहर, मुरलीसर र अग्निकुण्डलगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाइ अक्षता, फूल लिई आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ अर्पण गरेका थिए ।
अर्घमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अर्घमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।
छठपर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठपर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो ।
अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो । धनी, गरिब, कथित तल्ला र माथिल्ला जाति एकै ठाउँमा उपस्थित भई पूजा गर्नु ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुने सन्देश दिन्छ भने सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको अभिव्यक्ति पनि यस पर्वले दिन्छ ।
आफ्नै गाउँघरका खेतबारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो, जो आडम्वरविहीनताको परिचयसँगै श्रमको सम्मानको परिचायक मानिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुनुका साथै सन्तान र धन प्राप्ति हुने जनविश्वास छ । छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यत्तिकै छन् ।
वैज्ञानिक र ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन् । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राखी व्रतालुले यो पर्वमा सूर्यको आराधना गरी मनोवाञ्छित फल प्राप्त गर्ने गरेको विश्वास पाइन्छ ।
छठका अवसरमा बेहुली झैँ सिङ्गारिएका पोखरी र तलाउमा नवबस्त्रमा सजिएका श्रद्धालुको भीड पनि उल्लेखनीय रहेको थियो ।

- मुगु, ८ कात्तिक ।
व्यापारिक प्रयोजनका लागि खाद्यान्न लिएर सुर्खेतबाट आउँदै गरेको भे१च ६३१० नंको ट्र्याक्टर मुगुको खमाले गाविस–५ खमालेमा दुर्घटना हुँदा आज २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुर्खेत तरन्गा गाविस–८ का १६ वर्षीय ललित सारुमगर र मुगु गम्था गाविस–५ का ४० वर्षीय धनबहादुर डाँगर रहेको जिल्ला प्रहरी कार्यालय मुगुका सूचना अधिकारी लोकबहादुर जिसीले बताए ।
सूचना अधिकारी जिसीका अनुसार ट्र्याक्टर चालक फरार रहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले पुल्चोकस्थित साझा प्रकाशन केन्द्रीय कार्यालयको जग्गा लिलामी प्रक्रिया रोक्न निर्देशन दिएका छन्। ऋण तिर्न नसकेपछि सहकारी विकास बैंकले प्रकाशनको जग्गा लिलामीको प्रक्रिया प्रारम्भ गरेकोमा साेमबार प्रधानमन्त्री दाहालले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षामन्त्रीसहित सम्बन्धित निकायका प्रतिनिधिलाई सो निर्देशन दिएका हुन्।
प्रकाशनले सो बैंकलाई तिर्नुपर्ने रु सात करोड ५० लाख र अन्य ऋण भुक्तानीका लागि आफ्ना अन्य जग्गा बिक्री गर्नेसमेत निर्णय गरेकोमा प्रधानमन्त्रीले अनुदान र ऋण गरी रु ४० करोड निकासा दिइने आश्वासन दिए।
शिक्षामन्त्री धनीराम पौडेल, प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, सञ्चालक प्रदीप नेपाल, दीनानाथ शर्मालगायतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्रीले दाहालले प्रकाशनलाई सरकारले रु २० करोड ऋण र रु २० करोड अनुदान दिई सो संस्था बचाइने बताए।
प्रधानमन्त्री दाहालले भने-“हामी प्रक्रिया पूरा गरेर एक साताभित्र मन्त्रिपरिषद्वाट सो रकम दिने निर्णय गर्छाैं, हाललाई जसरी हुन्छ लिलामी रोक्नुपर्यो । सरकारले सहयोग गरेपछि संस्था चलाउने जिम्मा तपाईंहरुले लिनुपर्छ, त्यो ऐतिहासिक संस्था बन्द हुनुहुँदैन ।”
शिक्षामन्त्री पौडेलले सो प्रकाशन बचाउन प्रधानमन्त्रीको निर्देशन बमोजिम आवश्यक फाइल अर्थमन्त्रालयमा पठाइएको जानकारी दिनुभयो । अध्यक्ष तथा महाप्रबन्धक शर्माले यसअघि पनि प्रधानमन्त्री र मन्त्रीबाट विभिन्न आश्वासन दिइएको र आजको निर्देशनले थप आशा जागेको बताए। उनले संस्थामा लामो समयदेखि हुन नसकेको लेखा परीक्षण, कर्मचारी कटौती, बिक्री वितरणमा चुस्तता, विगतको अनियमिततामाथिको छानबिन गर्ने कार्य जारी राखेको पनि बताए।

- काठमाडौँ, ८ कात्तिक ।
नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट रु ६० लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना छ ।
गत बर्ष तिहारमा रु. एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दुई लाख माला आयात गर्ने योजना रहेकोे फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए ।
तिहारमा सबैभन्दा बढी फूलको आयात हुने गरेको छ, अध्यक्ष श्रेष्ठले भने — गत वर्ष उपभोक्ताले फूलको प्रतिमाला रु एक सयदेखि एक २० सम्म तिर्नुपरेकोमा यो वर्ष बढीमा रु ८० सम्ममा तिर्नुपर्ने हुन्छ ।
पछिल्लो समय मुलुकले गोदावरी र मखमली फूलमा आत्मनिर्भर भइसकेको छ भने अहिले पनि सयपत्री फूलमा मुलुक आत्मनिर्भर हुन सकेको छैन् । तिहारका वेला हरेक वर्ष भारतबाट सयपत्री फूल आयात गर्नुपर्ने हुन्छ ।
हरेक वर्ष झन्डै रु डेढ अर्ब मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ । तिहारमा मात्र मुलुकभर करिब ११ लाख मालाको कारोबार हुने गरेको छ । तीमध्ये नौ लाख माला नेपालमै उत्पादन भएको फूलबाट बनेका हुन्छन् । नेपालमा प्रयोग हुने मालाको ४० प्रतिशत खपत काठमाडौँ उपत्यका नै हुने गरेको एसोसिएसनले जनाएको छ । एसोसिएसनका अनुसार मुलुकभर तिहारमा मात्र झन्डै रु सात करोड मूल्य बराबरको फूलको कारोबार हुने गरेको छ ।
नेपालमा सन् १९५० बाट सामान्यस्तरमा सुरु भएको पुष्प व्यावसाय सहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यवसाय पनि फस्टाउँदो छ । फूलको माँगमा आएको बृद्धिसंगै यतिखेर काठमाडौँ, ललतिपुर, भक्तपुर, पोखरा, नारायणघाट, हेटौँडा, काभ्रे र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फर्म÷नर्सरी विस्तार भइसकेको छ ।
नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ४०० प्रजातिका फूल उत्पादन भइरहेको तथा पुष्प व्यावसायवाट ४१ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।
काठमाडौं- प्रहरीले नक्कली पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ। ठमेलस्थित नर्सिङ चोकमा झगडा गरिरहेको अवस्थामा सामाखुशी बस्ने २१ वर्षीय ज्ञानसागर लामा र नयाँबानेश्वर बस्ने २१ वर्षीया निर्मला लामालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुबीच झगडा भएपछि महानगरीय प्रहरी बृत्त लैनचौरको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ज्ञानसागरको साथबाट नक्कली पेस्तोल फेला परेको जनाएको छ।