
- वीरगन्ज २५ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ ।
मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् ।
बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् ।
व्यापारी र आन्दोलनकारीबीचको झडपका कारण वीरगन्जको घण्टाघर क्षेत्र तनाबग्रस्त बनेको छ । व्यापारीले गरेको प्रतिकारमा परी राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल समान्य घाइते भएका छन् ।
व्यापारी र आन्दोलनकारीबीचको भिडन्तलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जको घण्टाघर चोकमा भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ ।
मोर्चाले आह्वान गरेको दुईदिने मधेस बन्दको आज दोस्रो दिन वीरगन्जमा रहेको बजार, उद्योग, वित्तीय संस्था शैक्षिक संस्था, सवारी साधन सञ्चालनमा आएका छैनन् ।
वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारीसाधन सञ्चालनमा नआउँदा सेवाग्राही मारमा परेका छन् ।

- वीरगन्ज २४ पुस ।
जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले सामुदायिक विद्यालयहरूमा करिब १४ लाख मूल्यबराबरको म्याद गुज्रिएका औषधि पठाएको छ ।
स्वास्थ्य शिक्षा कार्यक्रमअन्तर्गत जनस्वास्थ्य कार्यालयले दुई सय ४८ वटा सामुदायिक विद्यालयमा १४ लाख रुपैयाँ मूल्यको प्राथमिक उपचार बक्स पठाएको थियो ।
म्याद गुज्रिएका पारासिटामोल, हेन्डिप्लास्ट, मलम, जीवनजल र हातमा लगाउने ग्लोब राखेर प्राथमिक उपचार बक्स विद्यालयमा पठाइएको थियो ।
जनस्वास्थ्यले खरिद गरेर विद्यालयमा पठाएका प्राथमिक उपचार बक्समा रहेका औषधिमध्ये पारासिटामोल ट्याब्लेटको सन् २०१६ अगस्ट र पेरिनोर्म मलमको म्याद नोभेम्बर २०१६ मै सकिएको छ । ब्यान्डेज, ग्लोब र साबुनको म्याद पनि ६ महिनाअघि सकिएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
जनस्वास्थ्यले साउन २३ मा शिक्षा कार्यालय पर्सामा सामुदायिक विद्यालयमा वितरण गर्न औषधिसहितको प्राथमिक उपचार बक्स पठाएको थियो । तर शिक्षा कार्यालयले असोज पहिलो सातामा ६ वटा स्रोत केन्द्रमातहतका सामुदायिक विद्यालयमा प्राथमिक उपचार बक्स वितरण गरेको थियो ।
