
डडेल्धुरा ४ फागुन ।
डेल्धुरा सदरमुकाम नजिकै आइत भन्ने ठाउँमा आज बिहान भएको जिप दुर्धटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
मत्यु हुनेमा डडेलधुरा ४ भागेश्वरका गणेश सार्की, ८ का लक्ष्मण भट्ट, जयानन्द भट्ट, दिवाकर पाण्डेय, त्यस्तै गरी भागेश्वर ५ डडेल्धुराका पदम बहादुर मल्ल रहेका छन् ।
मृतक दुई जनाको नाम खुल्न सकेको छैन । से १ ज ८३३ नम्बरको जीप आज मध्यान्ह पौने १२ बजे अमरगढी ३ ठूलोखोलामा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । अन्यको उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

- डडेल्धुरा, २० माघ ।
धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने डडेल्धुरा अलिताल गाविसमा रहेको ताललाई पर्यटन प्रवद्र्धन गर्न तालनजिक स्थानीयवासीले मन्दिर निर्माण गरेका छन् ।
आलिताल क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आगमन बढाउनका लागि स्थानीयवासीले आलितालको प्रवेशद्वारमा भगवती माताको मन्दिर निर्माण गरेको स्थानीयवासी रघुवीर धामीले जानकारी गराए ।
धार्मिक आस्थाले पनि महत्व राखेको आलितालमा सोही गाविस–४ चनला, पड्याम, आमसैनका बासिन्दाले जनश्रमदान गरी पर्यटकीय आलितालमा माता भगवतीको मन्दिर निर्माण गरेको आलिताल गाविसका सचिव जयसिंह साहुले बताए ।
बुधबार वसन्त पञ्चमीको अवसर पारेर परशुराम नगरपालिकामा रहेको इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख दत्तुराम पाण्डेयको प्रमुख आथित्यमा मन्दिरको उद्घाटन गरिएको मन्दिर निर्माण समितिका अध्यक्ष गगनबहादुर बोहराले जानकारी गराए ।
डडेल्धुरा आलिताल गाविसको गोदामबाट तीन किलोमिटर टाढा समुद्री सतहबाट आठसय मिटर उचाइमा महाभारतको काखमा लम्बाइ एकहजार एकसय ७५ मिटर र चौडाइ करिब चारसय मिटर रहेको ताललाई व्यवस्थित गरी तालको पर्यटकीय र धार्मिक महत्वका बारेमा प्रचार गर्नसके यो क्षेत्रकै महत्व बढ्ने देखिन्छ ।
जीर्ण बन्दै गइरहेको तालको संरक्षणमा स्थानीयवासी लाग्नुपर्ने र तालको संरक्षण र संवद्र्धनमा आफूले पनि सक्दो सहयोग गर्ने इलाका प्रशासन कार्यालय जोगबुढाका प्रमुख पाण्डेयले मन्दिर उद्घाटनका क्रममा बताए।
स्थानीय र सरोकारवालाले तालको संरक्षण नगर्दा तालको महत्व घट्नुका साथै तालको अवस्था जीर्ण बन्दै गइरहेको छ ।

- काठमाडौँ २ माघ।
समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुराको भूबनोट कमजोर भएकाले भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।
पुरानै शैलीमा निर्मित घर भएकाले भूकम्प जाने हो भने ठूलो धनजनको क्षति हुन सक्ने सर्वसाधारणको समेत बुझाइ छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक प्रजिअ उदयबहादुर सिंहले घरहरु बिनामापदण्ड मनपरी किसिमले बनाइएकाले भूकम्प गयो भने क्षति पुग्न सक्ने जनाउँदै सतर्कता अपनाउन सुझाव दिए।
सदरमुकाम डडेल्धुरा उच्च जोखिममा रहेको उनको भनाइ छ । जिल्लामा भवन तथा भौतिक कुरा निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्ने र भूकम्परहित घरको निर्माण हुनुपर्नेमा सरोकारवालाहरुको भनाइ छ।
भिरालो जमिनमा घर बनाइएकाले डडेल्धुरा उच्च जोखिममा रहेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रामकुमार श्रेष्ठले बताए। नयाँ बनेका घर पनि भूकम्प प्रतिरोधात्मक नभएर मनोमानी रुपमा निर्माण भइरहेको इञ्जिनियर श्रेष्ठको जिकिर छ ।
