पाँचथर ७ भदौ ।
बाँसको तामाको अचार खाँदा पाँचथर नागिनमा एकै परिवारका दुई बालबालिकाको ज्यान गएको छ ।
नागिन ३ मालवासे निवासि दुर्गा राईकी आठ वर्षकी छोरी सरिता र सात वर्षका छोरा सन्तोष राईको मंगलबार बिहान ज्यान गएको पाँचथरका प्रहरी नायब उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।
मंगलबार बिहान खाना खानुभन्दा पहिले तामाको अचार खाएका सन्तोषको अचार खाएको २० मिनेटमै ज्यान गएको र उपचार गर्न लैँजादै गर्दा सरिताको पनि ज्यान गएको प्रहरीको भनाई छ ।
काठामाडौं, २२ साउन । इटहरी रामगनर भुटाह गाविस ५ का खलखल मस्किले बेहुला पक्षबाट पाँच हजार रुपैयाँ लिएर आफ्नी १२ वर्षीया नावालिका छोरीको विवाह गरिदिएका छन् ।
सनसरीका दक्षिणी क्षेत्रमा रहेको अधिकांश गाविसमा बालबालिकाको विवाह गर्ने क्रम नरोकिएको समाचार संकलनका क्रममा गएका सञ्चारकर्मीसमक्ष खलखलले गरिबीका कारण आपू नाबालिका छोरीको विवाह गर्न बाध्य भएको बताएको आजकोअन्नपूर्णमा समाचार छ ।
उनले छोरी प्रमिलाको विवाह गर्दा सप्तरी घर भएका ज्वाई प्रभु मरिकले पाँच हजार दिन राजी भएपछि छोरीको विवाह गरिदिएको सुनाए ।
१२ वर्षमा विवाह गरेको खलखल मरिकको छोरी प्रमिला अहिले १७ वर्ष पुगेकी छिन् । १२ वर्षमा बालविवाहको सिकार बनेकी प्रमिला दुई सन्तानकी आमा भइसकेककी छन् ।
उमेर नपुगी गर्भ बसेपछि प्रमिलाको पहिलो सन्तानको निधन भयो । उनले वर्ष दिनपछि अर्को सन्तान छोरा जन्माइन् ।
पोखरा, १८ साउन ।
सेती नदीमा पौडी खेल्ने क्रममा २ विद्यार्थीको डुबेर ज्यान भएको छ ।
खाल्टेमसिनाको ओखलढुंगा भन्ने ठाउँ नजिकै सेती नदीमा विहीबार पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको हो ।
पौडी खेल्ने क्रममा डुबेका अर्का एक जना बेपत्ता छन् भने एकजना पौडिएर बाँच्न सफल भएका छन् ।
डुबेर मृत्यू हुनेमा पर्वत घर भई पोखराको सिर्जनाचोक बस्ने १७ वषिर्य शंकर जिसी र नदीपुरका १७ वषिर्य अभिषेक बरुवाल छन् । उनीहरुको शव नदीले बगाएको ठाउँभन्दा करीब एक किलोमिटर तल भेटिएको थियो ।
त्यस्तै १८ वषिर्य शुरेश मल्ल बेपत्ता छन् । उनलाई विहीबार रातीसम्म सेतीको तल्लो भागमा खोजि गरिएपनि नभेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।
सँगै पौडी खेल्न गएका रामबजारका राजिव मल्ल भने पौडिएर बाँच्न सफल भएका थिए । नदीले बगाएपनि उनी पौडी खेल्न सिपालु भएकाले मुश्किलले बाँच्न सफल भएका हुन् ।
चारै जनाको पर्वत भएको र उनीहरु मिल्ने साथी भएकाले सेतीमा नुहाउन सँगै गएका थिए । नुहाउने क्रममा एकजनालाई सेतीले बगाएपछि बचाउन जाँदा नदीले सबैलाई बगाएको उद्धार गरिएका राजिव मल्लले बताएका छन् । मृतकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।
भैरहवा, ८ साउन ।
अन्तर्राष्ट्रिय कानुनविपरीत भारतीय पक्षले दसगजानजिकै एकतर्फी रुपमा बनाएको बाँध तथा उच्च सडकका कारढा नेपालका रुपन्देही र कपिलबस्तुको सीमावर्ती भूमि डुबानमा परेको छ।
सीमानजिकै भारतले बनाएको बाँध तथा सडकले पानी रोकिँदा नेपालतर्फको हजारौं हेक्टर भूमि जलमग्न भएको हो। अन्नपूर्ण पोष्टमा समाचार छ।
भारतले सीमा सडक निर्माण योजना अन्तर्गत विगत १५ वर्षदेखि दसगजा नजिकै सडक विस्तार र्दै सडक उच्च र पक्कि बनाई पानी निकास रोकिँदा डुबानको समस्या आएको डुवान प्रभावित क्षेत्रका स्थानीय मोहम्मद फारुद खाँले गुनासो गरे।
बाँधेको फाँटक पूर्णरुपमा नखोल्दा सडकमा राखिएका कल्भर्ट सानो र जमिनदेखि चारफुट माथि राख्दा सीमावर्ती हजारौं खेतीयोग्य जीवन डुबानमा पर्दा धान रोपाइँ गर्नबाट बञ्चित भएको नेपाल किसानसंघका केन्द्रीय सदस्य चतुर्भूजमणि त्रिपाठीले जानकारी दिए।
अहिलेको वाम गठबन्धन टुटाउने योजनाको प्रमुख मतियार नै खड्ग ओली भएको भन्दै नेकपा(एमाले) भित्र
ओलीलाई हटाउने गृहकार्य सुरु भएको छ ।
बरिष्ठ नेता माधव नेपालको नेतृत्वमा झलनाथ खनाल, वामदेव गौतम, योगेश भट्टराई, घनश्याम ढकाल, युवराज ज्ञवालीलगायतका नेताहरुले मोर्चाबन्दी सुरु गरेका छन् ।
वामगठबन्धन टुटाएर प्रतिक्रियावादीको गोटी बनेको, विगतका सहमति तथा सम्झौता तोडेको, कुनै पनि सम्झौता कार्यान्वयन गर्न तयार नभएको भन्दै ओली विरुद्ध पार्टीका सबै शीर्ष नेताले मोर्चा खोलेपछि एमालेभित्र ओली पूर्ण रुपमा रक्षात्मक अवस्थामा पुगेको आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
सरकार विरुद्ध सदनमा अविश्वासको प्रस्ताव दर्ता भइसकेपछि नैतिक हिसाबले राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्नेमा पदमा बसिरहन्छु भन्दै अड्डी लिएर बस्नु नैतिक हिसाबले समेत राम्रो नभएको भन्दै वामदेव गौमतले त ओलीका कारण पार्टीको साख समेत गिरेको बताए ।
मंगलबार बालुवाटारमा बसेको स्थायी समितिको बैठकमा वामदेव गौतमले ओली विरुद्ध आगो ओकल्दा अरु नेताले भने ताली बजाएका थिए ।
गौतमले विगतमा पनि सहमति कार्यान्वयन नगर्दा आफूले मिलाएको सन्दर्भ जोड्दै राजनीतिमा सामान्य नैतिकताको प्रश्न हुन्छ ।
काठमाडौँ ६ साउन ।
संविधान जारी भएदेखि सरकारको नेतृतव सम्हालेसम्म राजनीति जीवनमा आफूले प्राप्त गरेका सम्पूर्ण उपलब्धि गुमाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ।
आफ्नै कारण ओलीले यो अबसर गुमाएका हुन्। आफू प्रधानमन्त्री नरहने भएपछि त्यसलाई कम क्षति गराउनुभन्दा पनि उनले सम्पूर्णरुपमा मुठभेडको स्थितिमा राजनीतिलाई धेकेले। यो परिस्थितिले सबैभन्दा खुसी तिनैलाई तुल्याएको छ, जो संविधान र पछिल्ला परिवर्तनप्रति खुसी थिएनन्।
त्यतिमात्र होइन, संविधानको पूर्ण कार्यान्वयनका निम्ति कांग्रेस, एमाले र माओवादी केन्द्रबीच हुनु पर्ने सहमतिको वातावरण पनि सम्पूर्ण रुपमा धुमिल भएको छ।
एमाले बरिष्ठ नेता माधवकुमार नेपालदेखि बामदेव गौतमसम्मलाई राम्रैसँग थाहा छ– बजेट ल्याएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको जिम्मेवारी दिने भद्र सहमति भएको थियो।
गौतमले त सार्वजनिक रुपमै यसबारे बोलेका थिए। पछिल्लो पटक प्रचण्डसँग प्रधानमन्त्री छाड्ने विषयमा सहमति हुँदा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, एमाले नेता नेपाल समेत थिए।
ओलीले त्यो सहमति पालना गरेको भए एमालेलाई अहिले भन्दा कम क्षति हुने थियो। एमालेले गुमाउने भनेको प्रधानमन्त्री पद मात्र हुन्थ्यो तर सरकारका प्रभावशाली मन्त्रालयको जिम्मा लिएर सरकारमा रहिरहन सक्ने थियो। नागरिक दैनिकमा समाचार छ।
काठमाडौँ ६ साउन ।
काठमाडौं महानगपालिकाले ७० प्रतिशत घरधनीले अहिलेसम्म घरजग्गा कर नबुझाएको उल्लेख गरेको छ।
स्थानीय निकायले घरजग्गा कर उठाउन थालेको करिब १६ वर्ष पुग्दा महानगरपालिकामा ३० प्रतिशत घरधनी मात्रै करको दायरामा आएको देखिएको छ।
गत आर्थिक वर्ष २०७२/०७३ को जेठ मसान्तसम्ममा ७५ हजार ७ सय ७९ जघरधनीले घरजग्गा कर बुझाएका थिए। गत अघिल्लो आर्थिक वर्ष २०७१/०७२ मा ७६ हजार ५ सय ३७ घरधनीले घरजग्गा कर बुझाएको उल्लेख छ।
तर, नक्सा पासको रेकर्डका हिसाबले हाल महानगरपालिकाभित्र २ लाख ५४ हजारभन्दा बढि घर तथा भवन छन्। राजधानी दैनिकमा समाचार छ।
बाँके,४ साउन ।
दंगा नियन्त्रण प्रहरी गण व्यायामशाला, पुष्पलालचोक नेपालगन्जमा कार्यरत एक महिला प्रहरीले ड्युटीमै आत्महत्या प्रयास गरेकी छन्।
आइतबार राति सवा ९ बजे ड्युटीमै रहेका बेला प्रहरी जवान गीता केसीले आत्महत्या प्रयास गरेकी हुन्। युनिफर्ममा रहेको सिटीगार्डले ड्युटीको पोस्टमा पासो लगाएर झुन्डिएका बेला साथीले देखेर बचाएकी थिइन्।
ड्युटीमा रहेको साथीले देखेर उद्धार गरेपछि गीतालाई तत्काल भेरी अञ्चल अस्पताल, नेपालगन्ज ल्याइएको थियो। भेरीमा सामान्य उपचारपछि नर्सिङ होम नेपालगन्ज हुँदै कोहलपुर मेडिकल कलेज पुर्याइएको थियो।
मानसिक रोगका डाक्टरलाई देखाउने बताइएपछि गीतालार्इ कोहलपुर लगिएको थियो। त्यहाँ डा. मोहन बेल्बासेले गीताको उपचार गरेका थिए। डा. बेल्बासेले सबै सोधपुछ गरेर अवस्था बुझेपछि मानसिक समस्या नरहेको भन्दै रिफर गरेका छन्।
गीताको घरायसी समस्या रहेको स्रोतले बताएको छ। गीताका श्रीमान् पनि प्रहरी नै हुन्। उनी पनि नेपालगन्जमै कार्यरत रहेका छन्। श्रीमानसँग असमझदारी भइरहेपछि गीताले आत्महत्या प्रयास गरेको बुझिएको छ। नेपाल समाचार पत्र दैनिकमा समाचार छ।
काठमाडाैं ३ असार ।
नेपालका दुई ठूला पदमा रहेका राष्ट्रपति र व्यवस्थापिका संसदका सभामुखलाई विभिन्न राजनीतिक दलहरुले आआफ्नो स्वार्थमा प्रयोग गर्न उक्साउन थालेका छन्।
१० महिनाअघि जारी भएको संविधानको भावनाबमोजिम कार्य गर्न हौस्याउनु पर्नेमा केही राजनीतिक दलहरुले राष्ट्रपति र सभामुखलाई आफ्नो स्वार्थमा कार्य गर्न उक्साउन थालेको पाइएको हो।
नेकपा एमालेले अप्रत्यक्षरुपमा राष्ट्रपति आफ्नो मान्छे भएको भन्दै संविधानमा नयाँ सरकार बन्ने कुनै पनि व्यवस्था छैन भनिरहेको छ भने नेकपा माओवादी केन्द्रले सभामुखले आफ्नो कुरालाई स्वीकार गर्ने आंकलन गरी अविश्वासको प्रस्ताव बाहेक अन्य विषयमा व्यवस्थापिका संसद चल्न नदिने रणनीतिमा लागेको पाइन्छ।
एमाले समर्थितहरुले संविधानको धारा टेकर राष्ट्रपतिले नयाँ सरकार गठन गर्नका लागि आह्वान गर्ने भनी आवाज निकालिरहेका छन्। नेपाल समाचार पत्रमा समाचार छ।
लामो समयदेखि त्रिभुवनविश्वविद्यालय अन्तर्गतका कलेहरुमा संविधानको प्राध्यापन गरिरहेका संविधानविद मुनेन्द्रप्रसाद अवस्थीले संविधानमा राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गर्नका लागि भनी स्पष्ट व्यवस्था नगरिए पनि संसदीय अवस्थाको त्यसको जिम्मेवारी राष्ट्रप्रमुखको नै हुने स्पष्ट पारे।
काठमाडौँ ३ असार ।
हावाबाट तीन हजार मेगावाट बिजुली उत्पादनको प्रस्ताव गर्ने कम्पनी सम्पर्कविहीन भएको छ। दी गोर्खाज युकेले प्रस्ताव पेस नगरेपछि लगानी बोर्डले निर्णय खारेजीको तयारी गरेको छ।
प्रधानमन्त्री अध्यक्ष रहने लगानी बोर्डको ११ माघको बैठकले हावाबाट बिजुली उत्पादन गर्न तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पेस गर्न दी गोर्खाज युकेलाई निर्देशन दिएको थियो। बोर्डले निर्देशन दिएको ६ महिना पुग्ने वेलासम्म कम्पनीले डिपिआर पेस गरेको छैन।
कम्पनीका सञ्चालक नै सम्पर्कमा नरहेको बोर्डका प्रवक्ता सहसचिव रवि भट्टराईले बताए। ‘डिपिआर पेस गर्न दिएको समयसीमा कम्पनीले गुजारिसकेको छ, कम्पनीका व्यक्ति नै सम्पर्कमा छैनन्,’ भट्टराईले भने,‘हावाबाट बिजुली निकाल्न त्यो कम्पनीलाई दिनेबारे यसअघिको निर्णय खारेजीका लागि बोर्ड बैठकमा पेस गर्दै छौँ।’
प्रधानमन्त्री केपी ओलीले सो कम्पनीकै भनाइकै आधारमा हावाबाट बिजुली निकाल्ने भाषण गरेका थिए। प्रधानमन्त्री ओलीनजिकका व्यवसायी वसन्त भुजेलले हावाबाट बिजुली निकाल्ने निवेदन दिएका थिए।
भुजेलको कम्पनी दी गोर्खाज् युकेले पहिलो चरणमा तीन सय र तीन वर्षमा तीन हजार मेगावाटसम्म वायु ऊर्जा उत्पादन गर्ने आशयको निवेदन बोर्डमा दिएको थियो।
मन्त्रिपरिषद्को १७ पुसको बैठकले कम्पनीले पेस गरेको र आगामी दिनमा सय मेगावाटभन्दा माथि हावाबाट बिजुली निकाल्न आउने प्रस्तावलाई बोर्डमार्फत अगाडि बढाउने निर्णय गरेको थियो। प्रधानमन्त्री ओलीले हावाबाट बिजुली निकाल्ने प्रस्ताव आफौ अध्यक्ष रहेको लगानी बोर्डबाट कार्यान्वयन गर्ने निर्णय गराएका थिए।
बोर्ड स्रोतले हावाबाट बिजुली ‘हावाजस्तै’ भएको बतायो। स्रोतले भन्यो,‘कम्पनी पनि हावा नै रहेछ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ।
काठमाडौँ ३ असार ।
सरकारले जाँदाजाँदै प्रधानमन्त्री तथा प्रभावशाली मन्त्रीका आफन्त, नेता तथा पहुँचवालालाई राज्यको ढुकुटीबाट १ करोड ३१ लाख ५० हजार रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ।
मन्त्रिपरिषदको गत असार २४ को बैठकले तत्कालीन गृहमन्त्री शक्ति बस्नेतको प्रस्तावमा ७८ जनालाई आर्थिक सहायता दिने निर्णय गरेको हो।
सरकार आफैले बनाइ कार्यान्वयनमा ल्याएको ‘विपन्न तथा विशिष्ट व्यक्तिहरुलाई उपचार खर्च दिनेसम्बन्धी कार्यविधि’ विपरीत सरकारले पुनः रकम बाँडेको हो।
यसअघि मन्त्रिपरिषदले असारको पहिलो साता एकैदिन ३१ जनालाई डेढ करोड बाँडेको थियो। कार्यविधिमा विपन्न र विशिष्ट व्यक्तिलाई मात्र अस्पतालको विलअनुसार उपचार खर्च बेहोर्ने व्यवस्था भएपनि सरकारले कसैलाई पनि आर्थिक सहायता दिन सक्ने व्यवस्था छैन।
मन्त्रिपरिषद निर्णयका नाममा कानुनविपरीत सत्तारुढ एमाले र राप्रपा नेपाल तथा प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रका पहुँचवाला नेता, सांसद तथा कार्यकर्तालाई आर्थिक सहायता दिइएको हो। कान्तिपुर दैनिकमा समाचार छ।
काठमाडौँ ३ असार ।
नेकपा माअोवादी केन्द्रभित्र कांग्रेससँग गठबन्धन बनाउने विषयलार्इ लिएर असन्तुष्टि देखिएको छ।
आइतबार लाजिम्पाटमा बसेको हेडक्वार्टर बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका नेताहरुले सरकार फेरबदलसम्बन्धी निर्णयमा पारदर्शिता नभएको भन्दै असन्तुष्टि राखेका हुन्।
श्रेष्ठ पक्षले वैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारलार्इ दिएको समर्थन फिर्ता लिने र कांग्रेससँग मिलेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय राजनीतिक दृष्टिकोणले सही भएपनि पद्धतिमा त्रुटि भएको भन्दै आत्मालोचना गरेको दाबी गरेको छ।
तर, प्रचण्ड पक्षले बैठकमा आत्मालोचनाको कसनै प्रसंग नआएको भन्दै प्रतिवाद गरेको छ।
‘सरकारबाट फिर्ता हुने निण्र्मायमा जुन शैली अपनाइयो त्यसले पार्टीको प्रतिष्ठामा क्षति पुग्न गएको छ,’श्रेष्ठलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो,‘जुनसुकै बाटो र प्रक्रियाबाट भएपनि निर्णय भइसकेको अवस्थामा अब क्षतिलाई जतिसक्दो घटाउनु बुद्धिमानी हुन्छ। अध्यक्षले यसबारे सोच्नुपर्यो।’
श्रेष्ठभन्दा अघि बोल्दै नेता रामबहादुर थापाले केपी ओली सरकारबाट परिवर्तनका एजेन्डा उल्टाउने कदमलाई बल पुगिरहेका कारणबाट सरकारबाट माओवादी फर्कनु राजनीतिक दृष्टिले उचित कदम भएको बताएका थिए। कान्तिपुर दैनिकमा समाचार छ।
काठमाडौँ ३ असार ।
नयाँ सरकार गठनका लागि संवैधानिक अडचन रहेको भन्दै वरिष्ठ अधिवक्ता र कानुन व्यवसायीहरूले तीनवटा विकल्प प्रयोग गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन्।
संविधान संशोधन गर्ने, धारा ३०५ अनुसार राष्ट्रपतिबाट बाधा अडकाउ फुकाउ आदेश जारी वा राजनीतिक सहमतिमध्ये कुनै विकल्प प्रयोग गर्न सकिने उनीहरूको सुझाव छ।
संविधानको धारा २९८ अनुसार नयाँ सरकार बनाउन सकिने/नसकिनेबारे परामर्श गर्न प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा केही वरिष्ठ अधिवक्ता र कानुन व्यवसायीलाई बोलाएका थिए।
चार उपप्रधानमन्त्री र केही एमाले नेताहरूसमेत राखेर ओलीले गरेको छलफलमा सहभागी अधिकांश कानुनविद्ले संविधानको धारा २९८ अनुसार नयाँ सरकार बनाउनका लागि बाधा रहेको व्याख्या गरेका थिए।
‘धारा २९८ अनुसार नयाँ सरकार गठन गर्ने बाटो छैन,’ छलफलपछि नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले भने, ‘यो धारामा रहेको अडचन हटाएर मात्र सरकार गठन गर्नुपर्ने हुन्छ भन्ने सबैको राय छ।’ अडचन हटाउने कुन–कुन विकल्प प्रयोग गर्ने भन्नेमा प्रधानमन्त्रीले प्रयोग गर्न सक्ने उनीहरूको धारणा थियो।
छलफलमा विश्वकान्त मैनाली, रविनारायण खनाल, गोविन्द बन्दी, रमेश बडाल, सुनील पोखरेल, ईश्वरी भट्टराई र चन्द्रकान्त ज्ञवालीलगायत सहभागी थिए। कान्तिपुर दैनिकमा समाचार छ।
न्युयोर्क, ३ साउन ।
‘वैशाख १२’ महाभूकम्पको केही घण्टा नबित्दै फ्लोरिडाको टेम्पा सहरकी प्रतिज्ञा तामाङले अर्थ संकलनका लागि ‘गोफन्ड मी’ नामक अनलाइन प्लेटफार्ममा खाता खोलिन्।
अभियानको नाम राखियो, ‘भूकम्प पीडितहरूका लागि घर’। सहयोग याचनामा वसन्तपुर दरबार क्षेत्रमा भत्किएका घरहरूका तस्बिर पोस्ट गरियो।
तामाङको त्यो सुरुवाती अभियानले धेरैको सहानुभूति पायो। तामाङले सात महिनाकै अवधिमा १ करोड २० लाख रुपैयाँभन्दा बढी रकम एक्लैले संकलन गरिन् र लक्ष्य पूरा भएको घोषणासहित अर्थ संकलन बन्द गरिन्।
तर, के गरिन् त उनले त्यो रकम ? कहाँ गयो सहयोग ? सोही पेजमा उनले लेखेकी छन्, ‘मेरो अभिभावकबाट रसुवाको भूकम्पपीडित क्षेत्रमा राहत बाँडिएको छ।’
चन्दा दाताहरूलाई चिन्ता नगर्न अनुरोध गर्दै उनले हालैमात्र ४७ परिवारलाई प्रतिपरिवार दुई सय डलरको हिसाबले रकम बाँडिएको बताएकी छन्। रसुवाको कुन क्षेत्रमा राहत बाँडिएको भन्ने विस्तृत उल्लेख छैन। तामाङसँग सम्पर्क गर्ने प्रयास गरे पनि सम्पर्क भएन ।
पेन्सिलभेनियाकी मेरी इलेन फान्सेस्कानी अर्की पात्र हुन् जसले नेपालका भूकम्पपीडितका नाममा झन्डै ४२ लाख रुपैयाँ संकलन गरेकी छन्। लक्ष्य त उनको १ करोड रुपैयाँ संकलन गर्ने हो। त्यहाँ उल्लेख भएअनुसार ‘स्काई चेजर च्यारिटिबेल फाउन्डेसन’ का तर्फबाट रकम रसुवाको लामटाङ क्षेत्रमा खर्च गरिएको र अझै धेरै खर्चिने खाका छ।
नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा कार्यरत चिकित्सक अन्जली श्रीवास्तवाले फिलाडेल्फियाबाट नेपालका लागि औषधि शीर्षकमा रकम उठाएकी छन्।
न्युयोर्कमा कानुन व्यवसाय गरिरहेका नेपाली मूलका केशव सेढार्इं पनि करिब ५९ लाख रुपैयाँँ राहत संकलक हुन्। गत वर्ष नै पीडितलाई टेन्ट र स्कुलका सामान वितरण गरिएको र नेपालमा रहेका आफ्ना भाइले अभियान सञ्चालन गरिरहेको सेढाईंको दाबी छ।
न्युयोर्कका ग्याल्जेन नोर्बु शेर्पाले ४० लाख, न्यु हयाम्सायरको हडसनमा बस्ने तेजस्वीसिंह राणाले झन्डै ३० लाख रुपैयाँ भूकम्पपीडितका नाममा संकलन गरेका छन्।
अमेरिकामा यसरी रकम संकलन गर्नेको सूची १ हजार ८ सयको हाराहारी छ। झन्डै ९० हजार दाता छन्। क्यालिफोर्नियास्थित ‘गो फन्ड मी’ मा यी व्यक्तिहरूले पीडितका नाममा करिब ८० करोड रुपैयाँ संकलन गरेका छन्। कान्तिपुर दैनिकमा समाचार छ।
काठमाडौं, १ साउन ।
हाम्रो राष्ट्रपतिको भारत भ्रमण रोकियो । त्यतिबेला हामीबीच धेरै मतान्तर थिएन, राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने विषयमा पनि हामीलाई जानकारी दिनुभएन । उहाँ (ओली)को काम गर्ने तरिका असाध्यै आत्मकेन्द्रित रहेछ भन्ने कुरा देखियो ।
हुँदाहुँदा उहाँले महत्वपूर्ण निर्णयमा हामीलाई सामान्य जानकारी दिन पनि आवश्यक ठान्नु हुँदोरहेनछ । हामी नभएपछि त उहाँलाई जे–जे गरे पनि हुन्छ भन्ने लागेको होला । तर, त्यसले अन्ततः उहाँलाई नै घाटा हुन्छ, किनकि हामी एमालेसँग दुस्मनी नै गर्न चाहिरहेका छैनौँ ।
हिजो भएको सहमति र सम्झौता मानेको भए यो गठबन्धनसहित कांग्रेससमेतलाई ल्याएर राष्ट्रिय सहमति बनाउने हाम्रो जोड थियो । अहिले पनि एमाले जातिबिघ्न उग्र ढंगले नगइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ । एमालेसँग पनि राजनीतिक समझदारी बनाउन जोड गर्नुपर्छ । त्यसको बोध हामीलाई छ ।
यस्ता भ्रममा सत्यता छैन
संविधानमा प्रधानमन्त्री फाल्ने प्रवाधान छ, तर निर्वाचन गर्ने प्रावधान छैन भन्ने एउटा प्रचार गरिएको छ । जबकि त्यो कुरा सत्य होइन । संविधानमा अलिक स्पष्ट नभएको कुरा हालै सदनबाट पारित संसद्सम्बन्धी नियमावलीमा प्रस्टसँग उल्लेख छ ।
अविश्वास प्रस्ताव पारित भएपछि नयाँ प्रधानमन्त्री चुन्ने प्रक्रियामा कतै कन्फ्युजन छैन । दलीय सिस्टमअनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा संयुक्त, अहिले सरकारमै भएका केही पार्टीहरू, जसको सदस्य संख्यालाई हेरियो भने ३२० भन्दा माथि नै जान्छ । उहाँहरू पनि नयाँ गठबन्धनमा आउने तयारीमा देखिन्छ । उता, मधेसी मोर्चाले अविश्वासको प्रस्तावमा समर्थन छ भनिसकेको छ ।
त्यो परिस्थितिमा पनि उहाँहरूले बहुमत छ भनेर भ्रम दिने कोसिस गरेको देखिन्छ । त्यसकारण उनीहरूले फैलाएको प्रचारमा सत्यता छैन ।
ओलीजी र उहाँका नजिकका मान्छेहरू यो भइसक्दा राजीनामा दिनुको साटो, महत्वपूर्ण निर्णय गर्नेतिर उद्यत हुनुले कहीँ न कहीँ मुलुक षड्यन्त्रतिर जान थालेको आभास पाइन्छ ।
राजीनामा दिएर सहज निकास दिनु संसदीय परम्पराअनुसारको हुने थियो । दलीय राजनीतिमा सबै पार्टी स्वतन्त्र छन्, आफ्नो निर्णय गर्न । सबै पार्टीले स्वतन्त्र रूपमा आफ्नो निर्णय लिँदा उहाँले कहिले ब्याट्री भन्ने, कहिले कहाँ बाहिरको भनेर भन्ने गर्नुभएको छ । त्यो बिल्कुल नियोजित छ ।
अहिले आन्तरिक राष्ट्रिय एकतालाई सुढृढ गर्नुपर्ने आवश्यकता छ । सबै आन्दोलनको मागलाई अधिकतम सम्बोधन गरेर मात्र आन्तरिक राष्ट्रिय एकता सुढृढ गर्न सकिन्छ ।
त्यो गरिसकेपछि मात्र राष्ट्रिय एकता र स्वाधीनताको रक्षा गर्न सकिन्छ । तर, एउटा प्रवृत्ति छ, एउटा समुदायविशेष, वर्गविशेषलाई राष्ट्रिय हित भन्ने र बहुसंख्यक समुदायलाई राष्ट्रको मूलधारबाट पर राख्ने राख्ने परम्परा छ ।
सामान्तवादले त्यसलाई स्थापित गर्दै पनि आएको छ । नक्कली राष्ट्रवादले जहिले पनि नेपालमा क्षतविक्षत बनाउने र कमजोर बनाउने काम मात्र गरेको छ ।
आफूलाई खुलेआम गणतन्त्रको पक्षधर भन्न पनि नरुचाउने, संघीयताको विरोधी भन्न रुचाउने, धर्मनिरपेक्षता चाहिएन भन्ने, समानुपातिक समावेशिता सुन्दा एलर्जी नै हुने प्रवृत्तिको नाता सम्बन्ध गहिरो गरी हेर्नुभयो भने पुराना राजावादीसँग त्यसको साइनो सम्बन्ध छ ।
त्यसले राष्ट्रवादको कभर लिए पनि, वामपन्थको कभर लिए पनि त्यसको साइनो सम्बन्ध गणतन्त्रविरोधी, राजतन्त्रका पक्षधरसँग, संघीयताका विरोधीहरूसँग, समानुपातिक समावेशीका मान्यताका विरोधीहरूसँग त्यसको लगनगाँठो दह्रोसँग कस्सिएको देखिएको छ ।
माओवादीलाई जसरी पनि किच्नुपर्छ, दबाउनुपर्छ, त्यसले भनेको गर्न दिनुहुन्न भन्ने, तर संघीयताविरोधी, गणतन्त्रविरोधीसँग गहिरो प्रेम देखिन्छ । प्रेम भनेको कहीँ न कहीँ भावनाात्मक मिलेपछि हुन्छ । भएको सहमति लागू गरौँ भन्दा नगर्ने, यसलाई गहिरो रूपमा अध्ययन गर्नुपर्छ । यसले मुलुकलाई फेरि एकपटक प्रतिगमनतिर लैजाने डिजाइन देखिन्छ ।
चीन नकारात्मक भन्ने भ्रम हो
अहिले भारत–चीनसँग जोडेर असाध्यै गलत र भ्रामक प्रचार भएको छ । चीनले माओवादी केन्द्रको नेतृत्वमा बन्ने गठबन्धनलाई सकारात्मक रूपमा हेर्दैन भन्ने बिल्कुल गलत कुरा हो ।
ओलीजी प्रधानमन्त्रीका रूपमा चीन जाँदा जे–जति समझदारी भए, राजदूतमार्फत जे–जति समझदारी भए माओवादी र प्रचण्डको पहलमा भएको हो । ओलीजी आउँदाआउँदै मलाई त्यो सूचना दिइएको थियो ।
दक्षिण एसियाबाट पहिलोचोटि सी जिन पिङसँग भेटेर मैले लामो कुराकानी गरेको छु । पार्टीगत सम्बन्ध पनि राम्रै छ, छलफल चलिरहेकै छ । अनि प्रचण्ड आउँदा नेगेटिभ ठान्छ, भारतले बनाएको भन्ने ठान्नु अपरिपक्वता हो ।
प्रचण्डको नेतृत्वमा सरकार बन्दा चीन नमीठो बन्नुपर्ने कुनै कारण छैन । मैले बुझेसम्म, मसँग भएको सूचनाअनुसार खुसी हुनुहुन्छ ।
उहाँहरू पनि यो चाहनुहुन्न कि नेपालको आन्तरिक राष्ट्रिय एकता पनि सुढृढ नहोस्, भारतसँग पनि नेपालले निहँु खोजिरहोस् भन्ने । म आफैँ चिनियाँ नेताहरूसँग नजिकबाट सम्बन्ध, सम्पर्क र कुराकानीमा छु । त्यसकारण यो एउटा ठूलो भ्रम हो । सरकार टिकाउने डिजाइनबाट यो प्रचार गरिएको छ । यसमा कुनै सत्यता छैन । यो कुरा आउने दिनमा प्रस्ट देखिने कुरा हो ।
ओलीलाई प्रधानमन्त्री नबनाएको भए संविधान आउन्नथ्यो
सबैलाई एक ठाउँँमा ल्याउने पहल नगरेको भए संविधान हुँदैनथ्यो । मैले त्यो कुरा लुकाएको छैन । त्यतिवेला त्यो गर्न आवश्यक भएर नै गरेको हो । ओलीजीलाई नचिनेर, नबुझेर पनि होइन । ओलीजीलाई प्रधानमन्त्री बनाउने कुरा म, कमल थापा र ओली मात्रै बसेर भएको थिएन ।
१६ बुँदे सहमति र पछि अन्तिमसम्म पनि कांग्रेस पनि सरकारमा भई राखोस् भन्नका लागि थियो । ओलीजीलाई प्रधानमन्त्री र सुशीलजीलाई राष्ट्रपतिको आश्वासन नदिइएको भए संविधान नै बन्दैनथ्यो ।
यसकारण छाड्नुपर्यो ओली सरकार
संयुक्त मोर्चाभित्र अपनाउनुपर्ने र अपनाउन गरिएका मूल्य–मान्यतालाई एमाले नेतृत्व मुख्यतः ओलीजीले ध्यान दिनुभएन । एकलौटी चल्न खोज्ने प्रवृत्ति देखापर्यो ।
मुख्यतः शान्तिप्रक्रियासँग सम्बन्धित कामहरू कार्यान्वयन भएनन् । गोरखाको फुजेलकाण्डको घटनासँग सम्बन्धित नभएका ७६ वर्षीय वृद्धलाई थुनछेकमा राख्ने काम भयो, त्यसमा मुख्यतः ओलीजीनजिककै मान्छेको सक्रियतामा त्यो घटनाक्रम आयो ।
ओखलढुंगा र देशका विभिन्न स्थानमा पनि यस्तै देखियो । त्यसपछि हामीले गम्भीर समीक्षा गर्न थालेका हौँ । जुन पार्टी र दलका कारणले सरकारको नेतृत्व गरिएको छ, त्यही नेतृत्ववरिपरि भएका मान्छेले शान्तिप्रक्रियालाई सकारात्मक ढंगले टुंग्याउनुको सट्टा झन् के गर्न सकिन्छ, के गरेर मुद्दा बल्झाउन सकिन्छ भन्ने देखिएपछि कार्यालयबाट निर्णय गरेर लिखित रूपमा चिठी लेखिएको थियो ।
सबै विषयको समीक्षा गर्नुपर्ने भयो, संविधान कार्यान्वयन, पुनर्निर्माण, मधेसको राजनीतिक सम्बोधन गर्ने कुरालगायतमा समीक्षा गर्न भनियो । डेढ महिना बित्दा पनि सम्बोधन र सुनुवाइमा चासो दिइएन ।
एमालेका साथीहरूले सदनमा ठूलो संख्या भएको ठूलो पार्टीलाई नौ महिना, सानो पार्टीलाई बाँकी २० महिना कसरी हुन्छ ? भन्नुभएको थियो । मैले भनेको थिएँ, ‘सरकार छाडिदिनुहोस्, अनि माओवादीलाई कति महिना र तपाईंलाई कति महिना भन्ने छलफल गरौँ ।’
ओलीजीले सहमतिअनुसार अहिले नसक्ने कुरा गर्दै केही अवधि नयाँ तोकांँ भन्ने कुरा गरेपछि हाम्रा अगाडि नैतिकताको कुरा आयो । हामीले कांग्रेससँग पनि छलफल गरिरहेका थियौँ । सातबुँदे समझदारीमा हाम्रा मुद्दा सम्बोधन गर्ने कुरा आएपछि हामीले नयाँ समीकरण बनाउने पहल लिएका हौँ ।
एमाले नेतृत्व पूर्वाग्रही नहुने, साहै्र अहंकारमा नजाने हो भने फेरि राष्ट्रिय सहमतिको सम्भावना बाँकी रहन्छ । तर, अहिले जे गतिविधि ओलीजी र उहाँ नजिककाले गरेका छन्, त्यसले उहाँहरू राष्ट्रप्रति र जनताप्रति जिम्मेवार भएको देखिँदैन ।
(आफ्नैनिवास लाजिम्पाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा व्यक्त भनाइ)
–नयाँ पत्रिका दैनिकबाट
तातोपानी १ साउन ।
७६ वर्षीय खड्गबहादुर खड्कालाई अब तातोपानी क्षेत्रमा फेरि बस्ती बस्छ र पुरानै रुपमा फर्कन्छ भन्नेमा शंका छ। तातोपानी-१ कोदारीका खड्का सर्वस्व गुमाएका भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का बाँचेकोमा नै अचम्मित छन्। घर छाडेको केही मिनेटमै बाढी बस्तीमा पसेपछि चाैकीडाँडा पुगेका खड्का भूकम्पपछि कमै काेदारी बसे। संयाेग घर अाएकै दिन उनले त्यो त्रासको सामना गर्नु पर्यो।
चाैकीडाँडामा पट्यार लाग्दो दिन गुजारिरहेका उनी भोटेकोशीको एकै झट्काले अाफूहरुलार्इ सुकुमबासी बनाएको बताउँछन्।
‘भएको सबै भोटेकोसीले लग्यो,अब कसरी यहाँकाे बास होला र?’ खड्काले भने,’अब यहाँको विकल्प खोज्नु पर्छ।’ खड्कामात्र होइन कोदारीकै फुर्पु तामाङ पनि अब फेरि यही ठाउँमा बस्ने कल्पना गर्न सक्दिनन्।
चाैकीडाँडामा राहत अाएको खानाको भरमा बसिरहेकी उनलार्इ अब परिवार कहाँ राख्ने भन्ने चिन्ताले सताउन थालेको छ। बाढिअघि नै अाएको कम्पनले घर छाडेकी फुर्पुको घर पनि भोटेकोशीमा मिसिने अाज हो कि भोलि नै भएको छ।
काठमाडौँ १ साउन ।
नेपालको पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले आफ्नै इतिहास र सम्पत्ति खोज्न समिति बनाएको छ। इतिहास केन्द्रीय विभागका प्राध्यापक डा. भवेश्वर पंगेनीको संयोजकत्वमा त्रिविले समिति बनाएको हो।नयाँ पत्रिका दैनिकमा समाचार छ।
असार मसान्तसम्ममा प्रतिवेदन दिने गरी गठन गरेको पाँच सदस्यीय कमिटी अहिले त्यत्ति सक्रिय छैन। कमिटीका संयोजक पंगेनी भन्छन्,‘विगत दुई महिनादेखि कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय खोजिरहेको छु, म हराएको छु।’
अमेरिकाको अरेगन विश्वविद्यालयबाट विज्ञ ल्याएर काम सुरु
२०१६ सालमा त्रिपुरेश्वरस्थित हालको वल्र्ड ड्रेड सेन्टरबाट त्रिभुवन विश्ववद्यालयको यात्रा सुरु भएको इतिहास विषयका प्रा.डा पंगेनीले बताए।
अहिले कसरी विश्वविद्यालय स्थापना भयो, किन कीर्तिपुरमा विश्वविद्यालय आयो भन्ने तथ्यको खोजीमा लागेको उनको भनाइ छ। ‘भिसी अफिस, केन्द्रीय पुस्तकालयमा खोजेको खोज्यै छु, भनेजस्तो रेकर्ड पाएको छैन,’ उनले भने। कमिटीले त्रिविमा स्थापनाको सिद्धान्त के थियो, व्यवहारमा कस्तो रहेको छ भन्ने पनि पत्ता लगाउने प्रयत्न गरेको छ।
त्रिविको समग्र इतिहास खोजिने
‘त्रिभुवन विश्वविद्यालयको सम्पत्ति अथाह, छ तर कति छ भन्न गाह्रो छ,’ यो भनाइ हो त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा तीर्थ खनियाँको। उपकुलपति प्रा.डा. खनियााले त्रिभुवन विश्वविद्यालयको सुरुवात कसरी भयो, अहिलेसम्म आइपुग्दा कस्ता निर्णय भए र अब कसरी अघि बढ्ने भन्ने कुरालाई कमिटीले दिएको सुझाबले सहयोग हुने बताए।
त्रिवि कसरी आयो र अहिले त्रिविका सम्पत्तिलाई किन अरू विश्वविद्यालय लैजान खोजे, सम्पत्ति कसरी प्राप्त भयो, भौतिक सम्पत्ति कति छ र कसरी संरक्षण गर्ने भन्ने त्रिविको इतिहासमा खोजिने उनले बताए। रानीको पकेट मनीबाट सुरु भएको विश्वविद्यालयको यात्रा खोजिने उनको भनाइ छ।
काठमाडौँ १ साउन ।
पार्टीले वर्तमान केपी ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव गर्दा गरेर राजधानी बाहिर नजान ह्विप जारी गरेकै बेला कांग्रेसका डेढ दर्जन सांसद विदेश सयरमा निस्किएका छन्।
कांग्रेस संसदीय दलले गत असार १३ गते नै ह्विप जारी गर्दै भूकम्पपीडितको घर निर्माण र बाढी पहिरो प्रभावित जनताको समस्या लगायत महत्वपूर्ण विषयमा छलफल चलिरहेको भन्दै असार १४ गते बस्ने संसदको बैठकमा र समितिमा अनिवार्य उपस्थित हुन आग्रह गरेको थियो।
तर त्यसको उल्लघंन गर्दै ती सांसदहरु कुनै महत्व नभएका कार्यक्रमका लागि विदेश भ्रमणमा गएका छन्। सांसदहरु पार्टीसँग परामर्श नगरी ह्विप उल्लघंन गर्दै विदेश गएपछि शुक्रबार मुख्य सचेतक चीनकाजी श्रेष्ठले साउन २ गतेभित्र विदेशमा भएका सबैलाई नेपाल फर्किन अर्को ह्विप जारी गरेका छन्।
अविश्वासको प्रस्ताव दर्ता गरेकै भोलिपल्ट तीन सांसद धनराज गुरुङ, सीता गुरुङ र राजु थापा हङकङ र मकाउ भ्रमणमा निस्किएका छन्। उनीहरु नेपाली जनसम्पर्क समिति मकाउका अध्यक्ष सुदर्शन थापाको निमन्त्रणामा त्यहाँ पुगेका हुन्। थापा मानव बेचबिखनको आरोपमा नेपाल सरकारले खोजी गरेर मस्ट वान्टेड सूचीमा राखेका व्यक्ति हुन्।
यसैगरी सांसद रामचन्द्र पोखरेलको नेतृत्वमा १० जना १० दिने भ्रमणमा चीन् गएका छन्। पौडेलसँग सांसदहरु सुरेन्द्र आचार्य, रेशम बानियाँ, तप्तबहादुर विष्ट, रश्मी ठाकुर, बुद्धिसागर चौधरी, अनिता देवकोटा,दिवानसिंह विष्ट, शारदा पौडेल र विष्णुमाया परियार चीन भ्रमणमा छन्। उनीहरु साउन ६ गते बेलुका नेपाल फर्कन कार्यक्रम छ।
गगन थापा अमेरिका भ्रमणमा छन्। अन्नपूर्ण पोस्टमा समाचार छ।
सिन्धुपाल्चोक, १ साउन ।
भूकम्प र बाढीपहिरोको लगातारको प्रकोपले नेपालको कुनै एक ठाउँलाई सबभन्दा बढी असर गरेको छ भने त्यो हो–सिन्धुपाल्चोक।
२०७१ साउनमा जुरे पहिरो, २०७२ बैशाख १२ मा भूकम्व र २०७३ सालमा भोटेकोशीको बाढीले पुर्याएको भौतिक र मानवीय क्षतिले यो जिल्लालाई संकटमा पारेको छ।
यी प्रकोपका कारण जिल्लाका सबैजसो निजी तथा सार्वजनिक भौतिक संरचना ध्वस्त छन्। क्षतिको प्रकृति हेर्दा तत्कालै पुनर्निर्माण गरेर पहिलेकै अवस्थामा लैजान सकिने सम्भावना देखिँदैन।
जिल्लाको सबैभन्दा महत्वपूर्ण आर्थिक गतिविधिको मूल आधार नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार तातोपानी नाका १५ महिनादेखि बन्द छ। नाका बन्द हुँदा हजारौंले रोजगारी गुमाए नै अर्बौं पुँजी पनि पलायन भएको छ।
सडक, विद्युत आयोजना, विद्यालय, गाविस भवन, गुम्बा, मन्दिर, होटल तथा साना उद्योगहरु भूकम्पले भत्काएका छन्। जलविद्युत तथा होटल व्यवसायमा गरिएको अर्बौंको लगानी हुब्ने खतरा बढेको छ।
निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाका लगानीकर्ताहरु पनि अलमलमा छन्। कान्तिपुर दैनिकमा समाचार छ।
काठमाडौँ १ साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सत्तारुढ गठबन्धनकै मन्त्रीहरुले भेटघाट तीब्र पारेका छन्।
नयाँ गठबन्धनमार्फत निर्माण हुने सरकारमा पर्न उनीहरु व्यवस्थापिका संसददेखि प्रचण्डको निवासै पुग्ने गरेका छन्।
माओवादी स्रोतका अनुसार अहिलेसम्म ओली नेतृत्वको सरकारमा सामेल मन्त्रीकै दलका २० भन्दा बढी सांसदले कांग्रेस माओवादी गठबन्धनमा साथ दिने प्रतिबद्धता जनाइसकेका छन्।
दुई दलले केही दिनअघि आगामी ९ महिनासम्म माओवादी अध्यक्ष प्रचण्ड र त्यसपछि कांग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री हुने सहमति जुटाएका छन्।
संसदमा आगामी साउन ६ गते ओलीविरुद्ध अविश्वास प्रस्ताव बढेपछि बहालवाला मन्त्री अध्यक्ष प्रचण्डलाई फकाउन गोप्य भेटघाटमा जुटेका हुन्।
खानोपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंह शुक्रवार साँझ झन्डावाल गाडीमै प्रचण्ड निवास लाजिम्पाट पुगेका थिए। नागरिक दैनिकमा समाचार छ।