दरबन्दीअनुसार डाक्टर छैनन्, बिरामी भारत जान्छन

बैतडी, ९ असार ।

सुदूरपश्चिममा दरबन्दीअनुसार चिकित्सक पदपूर्ति नहुँदा समस्या भएको छ । यसका कारण स्थानीय जनता बिरामी पर्दा भारतका अस्पताल जान बाध्य छन् ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमका विभिन्न स्वास्थ्य संस्थामा गरी कुल ६० जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेको छ ।

अहिले कुल दरबन्दीमा १२ जना मात्र विशेषज्ञ डाक्टर सुदूरपश्चिमका स्वास्थ्य संस्थामा कार्यरत रहेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका नायब सुब्बा अमर भण्डारी बताए। उनले भने– “४८ जना विशेषज्ञ डाक्टरको दरबन्दी रिक्त रहेको छ ।”

पच्चीस लाखभन्दा बढी जनसङ्ख्या रहेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको दरबन्दी न्यून रहेको र त्यसमाथि पनि पदपूर्ति नहुँदा यस क्षेत्रका नागरिक समस्यामा परेको स्थानीय समाजसेवी हेमराज गिरीले बताए ।

स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर नहुँदा सामान्य खालकै स्वास्थ्य समस्या देखिए पनि भारत धाउनु पर्ने बाध्यता रहेको छ । समाजसेवी गिरीले भने – “२५ लाखभन्दा बढी जनसङ्ख्या भएको सुदूरपश्चिममा १२ जना मात्रै विशेषज्ञ डाक्टर हुनु चिन्ताको विषय हो ।”

अहिले सुदूरपश्चिमका चार वटा स्वास्थ्य संस्थामा मात्रै विशेषज्ञ डाक्टरको दरबन्दी तोकिएको छ । उपक्षेत्रीय अस्पताल डडेल्धुरा, सेती अञ्चल अस्पताल धनगढी, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर र जिल्ला अस्पताल बैतडीमा विशेषज्ञ डाक्टरको दरबन्दी छ ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा १९ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि एक जनाको पनि पदपूर्ति हुन सकेको छैन । अहिले एक जना विशेषज्ञ करारमा सेवा दिइरहेका छन् ।

कैलालीको धनगढीमा रहेको सेती अञ्चल अस्पतालमा २१ जना विशेषज्ञको दरबन्दी भए पनि ११ जनाको मात्रै पदपूर्ति भएको छ । कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा कुल १९ जनाको दरबन्दी भएकामा एकजनाको पनि पदपूर्ति हुन नसकेको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

जिल्ला अस्पताल बैतडीमा रहेको विशेषज्ञको एक दरबन्दी भने पदपूर्ति भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका नायब सुब्बा भण्डारीले जानकारी दिए । 

,

प्रतिकृया दिनुहोस्

Loading...