सैनिक विद्रोहमा मारिनेको सङ्ख्या ९०, १५ सय घाइते
अङ्कारा, १ साउन
टर्कीमा केही सैनिकले विद्रोह गरी ‘कू’ को प्रयास गरेको भएपनि शनिबार बिहान परिस्थिति नियन्त्रणमा लिने प्रयास सरकारले गरिरहेको बताइएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्डोगेनले सैनिक विद्रोहलाई नियन्त्रणमा लिने प्रयास शनिबार बिहानसम्म नै गर्नुभएको बुझिएको छ । उनी बिदामा बसेको समयमा यो प्रयास भएको थियो ।
करिब १३ वर्षदेखि टर्कीमा शासन गरिरहेका राष्ट्रपति तैयपका विरुद्धमा टर्कीमा विद्रोहको आवाज उठेको थियो । सोही कारण पछिल्लो समयमा विभिन्न आन्दोलन सुरु भएका थिए । शुक्रबार राति टर्कीको सैनिक दुई भागमा बाँडिएर यस्तो कू को प्रयास भएको जनाइएको छ । उनी इस्तानबुलको विमानस्थलबाट ओर्लिए र आफ्ना समर्थकहरुलाई सम्बोधन गरे ।
उक्त समर्थनमा उनले पछिल्लो समयमा आतङ्कवादीहरुले आक्रमण सुरु गरेको समयमा देशभित्रै यस्तो विद्रोह हुनु दुःखद भएको बताए । शुक्रबार राति इस्तानबुल र अङ्कारामा सयौँको सङ्ख्याका सैनिक सडकमा ओर्र्लिएका थिए । उनीहरुले सरकारी सेनासँग भिडन्त पनि गरेका थिए । यस भिडन्तमा परी मारिने व्यक्तिको सङ्ख्या करिब ९० रहेको जनाएका छन् ।
त्यसमा परी एक हजार ५०० भन्दा पनि बढी मानिस घाइते पनि भएका छन् । घाइते हुनेमा सर्वसाधारण के कति र कति सेना छन् भन्ने बारेमा भने केही खुलेको छैन । त्यस्तै मारिनेमा पनि के कतिजना सेना वा सर्वसाधारण छन् भन्ने बारेमा पनि केही खुलेको छैन । यी दुई सहरमा ती सैनिकले विद्रोह गरेका थिए । विद्रोही सैनिकले गोलाबारी पनि गरेका थिए ।
टर्कीको सरकारले यसलाई सैनिक विद्रोह भनेको छैन । राष्ट्रपति तैयप विदामा बसेको समयमा सेनाको एक समूहले देशको शासन व्यवस्थालाई नै नियन्त्रणमा लिने प्रयास गरेको जनाइएको छ । टर्कीको सरकारी समाचार समिति, अन्दालउले यो समाचार दिएको छ । उक्त समाचारका अनुसार शनिबार बिहान अबेर तिर सयौँ सैनिकलाई नियन्त्रणमा लिएको छ भने सयौँले आत्मसमर्पण गरेका जनाइएको छ ।
सरकारले इस्तानबुल र अङ्कारामा कफ्र्यू लगाएको छ । कफ्र्यूका बाबजुद पनि राष्ट्रपति तैयपको राजनीतिक दलका समर्थकहरुले उक्त प्रयासका विरुद्धमा यी दुवै सहरमा सरकारको समर्थनमा जुलुश निकालेका छन् । राष्ट्रपतिले यस प्रयासलाई देशद्रोह भनेका । उनले यस्ता देशद्रोहीलाई नछोडिने पनि बताए ।
उनले भने, यस्ता देशद्रोहीले भविश्यमा ठूलो मूल्य चुकाउनुपर्ने छ । त्यस विद्रोहमा संलग्न हुने सेनाको सङ्ख्या अझै स्पष्ट रुपमा आएको छैन । सरकारले कतिपयलाई नियन्त्रणमा लिएको छ भने केहीले आत्मसर्पण गरेका छन् । विद्रोहमा संलग्नहरुको खोजी र पहिचानको काम भइरहेको सरकारले जनाएको छ । यसको सबै विवरण आउन अझै केही घन्टालाग्ने पनि सरकारले जनाएको छ । रासस/एएफपी
प्रतिकृया दिनुहोस्
Loading...