भँगारीमा पहिरो रिडी–तम्घास सडक अवरुद्ध,यात्रु बाटोमै अलपत्र

गुल्मी, ७ साउन । 

अविरल वर्षाका कारण गुल्मीको रिडी–तम्घास सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ । उक्त सडकखण्डअन्तर्गत दुविचौरस्थित भँगारीमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । 

सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बुटवल र काठमाडौँका लागि छुटेका र सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन र सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । 

अवरुद्ध सडक सञ्चालन गर्न डोजर परिचालन भइरहेको हुँदा सडक सञ्चालन हुन अझै केही समय लाग्ने जिल्ला ट्राफिक कार्यालय प्रमुख एवम् प्रहरी नायब निरीक्षक प्रेम श्रेष्ठले जानकारी दिनुभयो । 

अविरल वर्षाका कारण सडक बीच–बीचमा खसेको पहिरोका कारण रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्डसमेत अवरुद्ध बनेको छ । 

यस्तै अविरल वर्षासँगै बढीघाट खोलामा आएको बाढीका कारण गुल्मीको जोहाङ गाविस–२ अन्तर्गत उर्लीखोला बजार पुनः जोखिममा परेको छ ।


गएरातिदेखि खोलामा आएको बाढीको बहाब बढ्दै जानथालेपछि बजार क्षेत्रका ६० घर उच्च जोखिममा रहेको स्थानीयवासी विष्णुमाया भण्डारीले बताए । 

बिहीबारदेखि निरन्तर रुपमा परेको वर्षाले बजार नजिकैको बडिघाट खोलाको सतह बढ्दै गएपछि सडकसमेत बगाउन थालेको बताइएको छ । खोला बढ्दै जानथालेपछि यतिबेला नदी किनारका बासिन्दा निकै त्रसित छन् । 

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...