सामुदायिक सूचना केन्द्र स्थापना
बागलुङ, १० साउन ।
जिल्लाको पैयुँपाटा–१ स्थित त्रिभुवन उच्च माविमा सामुदायिक सूचना केन्द्र स्थापना गरिएको छ ।
सामुदायिक विद्यालयमार्फत सूचना, सञ्चारको पहुँच बढाउन केन्द्र स्थापना गरिएको हो ।
सूचना तथा सञ्चार मन्त्रालयको आर्थिक सहयोगमा स्थापित केन्द्र आइतबार उद्घाटनपछि सञ्चालनमा आएको छ ।
मन्त्रालयका उपसचिव रुद्रादेवी शर्मा र बागलुङका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले केन्द्रको संयुक्त रुपमा उद्घाटन गरेका थिए।
उपसचिव शर्माले समुदायमा ‘डिजिटल’ साक्षरता बढाउने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए । “यसबाट विद्यार्थी र समुदायले लाभ लिनेछन्”, उपसचिव शर्माले भने– “सूचना, प्रविधिमा जनसाधारणको समेत सहज पहुँच बढाउन केन्द्र उपयोगी बन्ने हाम्रो विश्वास छ ।”
विद्यालय व्यवस्थापन समितिले नै सूचना केन्द्रको सञ्चालन एवम् व्यवस्थापन गर्नेछ । सूचना केन्द्रको सेवालाई सहज र प्रभावकारी रुपमा प्रवाह गरिने विद्यालयका निमित्त प्रधानाध्यापक कृष्णप्रसाद पौडेलले बताए ।
विद्यालय भवनबाटै सञ्चालित केन्द्र विद्यालय समयबाहेक बिहान–बेलुकाको समयमा पनि खुल्ला रहने उनको भनाइ छ ।
केन्द्रमा कम्प्युटर, इन्टरनेट, फोटोकपी, लेमिनेसन, प्रिन्टर, स्क्यानिङलगायतका सेवा उपलब्ध छन् । सूचना÷सन्देश प्रवाह गर्न, सर्वसाधारणलाई कम्प्युटर सिकाउन पनि केन्द्रको उपयोग गर्न सकिनेछ ।
सबै सेवा लिन उपभोक्ताले न्यूनतम शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको विद्यालयले जनाएको छ । “गाउँघरमै सहज र सुलभरुपमा सूचना, प्रविधिको सुविधा उपलब्ध भएपछि स्थानीवासीलाई ठूलो राहत पुग्नेछ”, निमित्त प्रअ पौडेलले भने– “सेवा लिनका लागि अन्यत्र धाइरहनुपर्ने अवस्थाको अन्त भएको छ ।”
मन्त्रालयले केन्द्र स्थापनाका लागि चार थान कम्प्युटर, फोटोकपी मेसिन, प्रिन्टर, लेमिनेसन, स्क्यानर, इन्टरनेट–डिभाइस, सोलार, ब्याट्रीलगायत गरी रु आठ लाख बढीको उपकरण सहयोग गरेको हो ।
सूचना तथा सञ्चार मन्त्रालयको सहयोगमा जिल्लाका अन्य विद्यालय, सहकारी र सामाजिक संस्थामा पनि सूचना केन्द्र स्थापना गरिएको छ ।
कतिपय केन्द्रहरु प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन् । मन्त्रालयले आफ्नो नीति र कार्यक्रमअनुरुप देशभर ‘डिजिटल साक्षरता’ बढाउन केन्द्र स्थापनाका लागि सहयोग गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...