बाढी प्रभावित क्षेत्रमा राहत बाँडियो

सप्तरी, १० साउन । 

जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीले बाढी प्रभावित क्षेत्रमा आइतबार राहत वितरण गरेको छ ।

जिल्ला विकास समिति सप्तरीको सहयोग तथा जिल्ला दैवी प्रकोप उद्धार समितिको आजोजनामा बाढीबाट अति प्रभावित क्षेत्र सकरपुरा, कोलाडी बसाइन र बिषहरिमा करिब एक हजारभन्दा बढी घर परिवारलाई चिउरा भुजिया र नुन वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले बताए ।

नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको उपस्थितिमा राहत वितरण गरिएको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।

त्यस्तै डुबानमा परेका रम्पुरा मल्हनिया र अन्य ठाउँमा राहत वितरण कार्य जारी रहेको उनले जानकारी दिए ।

जिल्लाको विभिन्न स्थानमा डुबानमा परेकालाई उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरी जिल्लाको विभिन्न खोला, नाला र नदीमा आएको बाढीमा परि हालसम्म झन्डै पाँच हजार घर डुबानमा परेको बताइएको छ । अझै घरको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

जसमध्ये ५०० घर पूर्णरुपमा क्षतिग्रस्त भइसकेका छन् भने बाढीको कारण डुबानमा परेका दुई दिनयता भोकै बस्न बाध्य रहेको पीडितले गुनासो गरेका छन् ।

कोइलाडी बरसाइन गाविस वडा नम्बर ४ र ५ का करिब ६० परिवार गाउँमा पानी पसेपछि कतै जान नसकेर गाउँमै घेरिएका छन् ।

खास गरी सकरपुरा गाविसका ५००, बिषहरिया गाविसका २५०, लौनिया र तिलाँठीका ५०० तथा लोखरम र रम्पुरा मल्हनियाका ७०० परिवारको घर जलमग्न भएको स्थानीय सोशिन्द्र यादवले बताe ।

त्यस्तै जिल्लाको अन्य भागमा पनि घर र खेतीयोग्य जमिन जलमग्न भएको बताइएको छ । यता बाढीमा फसेका व्यक्तिको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...