संसद्को निर्णय सरकारले सहर्ष स्वीकार्छ : सचिव ज्ञवाली

भक्तपुर, ३ साउन । 

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारले संसद्को निर्णयलाई सहर्ष स्वीकार गर्ने बताएका छन । 

रफत् सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार संसद्लाई विश्वास गर्ने भएकाले संसद्को निर्णयको अवज्ञा नगर्ने बताएका हुन् । 

संसद्ले गणितीय आधारमा गर्ने निर्णयलाई एमालेले स्वीकार्ने बताउँदै उनले भने, “नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको गठबन्धनले सरकारविरुद्ध संसद्मा राखेको अविश्वासको प्रस्तावमा सरकार असफल भए तत्कालै प्रधानमन्त्री ओलीले सरकार छाड्नु हुन्छ, संवैधानिक सङ्कटका कुरा गरेर बस्नु हुन्न ।” 

संविधान कार्यान्वयनको पाटोमा नेकपा (एमाले) अटल रहेको भन्दै उनले एमाले सरकारको मोहभन्दा पनि संविधानको रक्षाका लागि नयाँ सरकार निर्माणसँगै प्रतिपक्षमा बस्ने उनको भनाइ थियो । 


वर्तमान सरकारले सत्ता लम्ब्याउनु अनुचित सम्झौता नगरेको चर्चा गर्दैै उनले सत्ता लम्ब्याउनेभन्दा पनि संविधानको सफल कार्यान्वयनको पाटोलाई प्रमुखता दिएको जिकिर गरे । 

सचिव ज्ञवालीले भने, “वर्तमान सरकारको स्पष्ट खाका देखेर अन्य राजनीतिक दल अत्तालिएका हुन्, सरकारले तयार पारेको सफल संविधान कार्यान्वयनको बाटो देखेर त्यसलाई असफल पार्न सरकार परिवर्तनको खेल भएको हो ।” 

सरकार परिवर्तनमा देखिएको संवैधानिक जटिलता फुकाउन वर्तमान सरकार तयार रहेको बताउँदै उनले सरकारले संसद्बाटै निकास खोज्ने बताए । 

, ,

प्रतिकृया दिनुहोस्

Loading...