बुहारी पाल्न नसक्ने देश बनाएरै छाड्यौ हैन ?

केबी गुरुङ


प्राकृतिक सुन्दरताले भरिएको मेरो देश नेपाल मुना मदनको प्रेम नगरी पनि हो । मुना र मदनको प्रेम कथा कोरिएको प्रेम नगरीमा आज अजम्बरी प्रेमको अन्त्यष्टि भएको अनुभूति गरिरहेको छु, जुन ठाउमा प्रेमका घात र प्रतिघातकाहरु एक पछी आर्को घट्दै आएका छन् । नेपाल र फिलिपिन्सको माया प्रेम धेरै पहिले देखि नै एकाध भेटिन्छ तर यसपालिको पिरतीले धेरैको मनमुटु टुक्र्याएको छ ।

प्रेममय सादुवाद नाराहरु भन्दा फरक महिला मुक्ति र स्वतन्त्रताका नाराहरुले कानै चिड्याने गरी भट्याउने दिन र रातहरुले कयौं बर्षहरु पार गरिसकेका छन् । जतिजति नाराहरु ठुलो स्वरमा भट्याउने गर्छन, उतिउति नै दर्दनाक महिलाका अमानवीय घटनाहरु जन्मि रहेकाछन् । यो प्रकृतिको चुनौती हो वा देशको कानुनले नै आफ्नो खिल्ली आफै उडाइरहेको हो, गम्भीर बिषय बनेको छ ।

महिला मुक्ति र स्वतन्त्रताका स्वरहरुले यतिका बर्ष पार गरिसके पछी महिला नेतृत्व नपाउने त कुरै भएन । फलस्वरुप हाम्रो देशको मुल नेतृत्वमा महिलाको मुख्य जिम्मेवारीहरु पदभार भएका छन् । राष्ट्रको राष्ट्रपति जस्तो गरिमामय पदमा महिलाको पदभार भएको छ, सभासदहरुको नेत्रित्व गर्न महिला सभामुख छन्, अन्यायहरुलाई कसिलाउने सम्मानित न्यायालयले महिला न्यायाधीश पाएको छ । समावेशी र समानुपातिक मुद्दामा विजयी भएको नेपाली राजनीतिमा महिला नेतृत्वहरुको समावेशी मात्र होइन, अलिवेशी नै भएको छ, भन्नु पर्छ ।

महिला नेत्रित्वहरु पदभार भएको यहि देशमा आज बुहारी पाल्न नसक्ने देश “नेपालको नयाँ इतिहासको रचना” भएको छ । फिलिपिन्सकी छोरीले जुनीजुनी भर भनेर साँचेको मायाँलाई, यो देशको कथित छोरा चितवनका जिबन थापाले क्षणिक उत्तेजनामा आफ्नो कामुकतालाई कन्ट्रोल गर्न नसक्ने नामर्द पुरुश्वार्थको रुपमा परिभाषित गरेका छन् ।

मायामा घात हुँदा, माया गर्ने जिन्दगीको त बर्बाद भयो नै तर आफैबाट नयाँ जीवन पाएका ति निमुखा दुइ सन्तानको जिन्दगीको पनि बर्बाद हुने छन् । निर्दयी बाबु जस्तो हुँदैनन् आमाहरु, त्यसैले ति दुइ सन्तानको लालनपालन र शिक्षा दिक्षा दिन प्रतिबद्ध रहदै सात लाख जरिवाना तिरेर माइतीघर हान्निन जोया ।
अन्धो कानुन भएको देशमा शायद यो भन्दा अर्को विकल्प पनि थिएन उनि सँग । जिन्दगीको सहारा वनेका कथित श्रीमानबाट नै धोका भए पछी अरुको आश पनि त रहेन होला बिचरीलाई ।

माया अन्धो हुँदैन तर मायालाई अन्धो बनाउदा जिबन साथिबाट निर्घात कुटाइ खाइन, घर निकाला भइन, सडकमा गइन र पछ्यौरीमा चामल सापटी थापेर अनि दाउरा मागेर फाटेको कटेरोमा कस्टले रात् गुजार्नु पर्यो । त्यसरी पनि सुख पाइनन् जोयाले अन्ततः पिरतीको देश छाडेर आँशु बगाउदै आफ्नै जन्मघर माइती देश फर्कनु पर्ने भयो ।

दुई सन्तानलाई दायाँ बाँया काखमा च्यापेर जन्म घर फर्किदै गर्दा “मुना मदनको प्रेम कहानी” घात प्रतिघातमा अन्त्य भएको आभास भएको छ । प्रेम रच्ने जोडीहरुले “मायाँ केहो” भन्ने कुराको पुन: परिभाषा नयाँ प्रविधिवाट खोज्ने बेला आएको छ, हिजो गरिने कल्पनाको माया जाल कल्पना मै टुंगिएको छ । शायद मायाँ विना यो संसारको सृष्टि नै बन्द हुनेछ, तसर्थ नयाँ प्रबिधि युक्त मायाँ जाल खोज्नु पर्ने हुनसक्छ ।

खैर अब मायाको कुरा छोडेर न्यायको कुरा गरौ । महिलाहरु समावेशी प्रतिनिधित्व मात्र नभएर अलिवेशी प्रतिनिधित्व हुँदा समेत छोरीहरुले न्याय पाउन सकिरहेका छैनन् । अहिले त झन् बुहारी समेत पाल्न नसक्ने देश बनाए । यहि नेर प्रश्न चिन्हहरु तछाडमछाड गरिरहेका छन्, जहाँ यिनै मुद्दाहरुको उत्खनन जस्ले गर्यो, तिनैले मुद्दाहरुको दिन दाहाडै हत्या गर्दैछन् ।


     लेखक: केबी गुरुङ
छोरी, बुहारिहरुको संरक्षणका लागी औलामा गणना गर्न नसकिने संस्थाहरु छन् यहाँ । जस मध्यको ठुलो नामधारी माइती नेपाल पनि छ । बम्बैमा बेचिने छोरीहरुको रक्षा गर्न तैनाथ हुने माइतीघर आफ्नै देशमा विदेशबाट भित्रिएकि बुहारीहरू लाई संरक्षण गर्न किन सक्दैन ? न्याय दिन किन सकेन ?

यस्तै छोरीहरु बेचिदा अरबको भूमिबाट कलम तिखार्दै खबरदारी गर्ने दाजुहरु नेपाल पसेसी बुहारीहरू विपत्तिमा पर्दा कलम चल्न छोड्यो, शायद छोरी र बुहारी बिचको रगतको साइनोको लेखाजोखा गर्दै होलान । फेसबुक भरि महिलावादका लागी जस्तो सुकै मूल्य चुकाउन तयार हुने, उस्तै परे प्रकृति सँग नै हमाला गर्न तयार हुने जय नारीहरु देशमा आफु जस्तै बुहारी अपमान हुँदा बेखबर छन् किन ? तिम्रो कलमको निमबाट निस्कने तिखो शब्द र मुखबाट निस्कने खरो आवाज के का लागी हो ?

पितृसत्तात्मक सत्ता देखि नै यो देशका पुरुषहरु त नरपिचास भए नै तर त्यहि पितृसत्तात्मक सत्ताको जरो उखेल्दै मातृसत्तात्मक सत्ताको अस्तित्व खोज्नेहरु आफ्नै वर्ण, जात र लिंग राक्षस पुरुषबाट अपमानित हुँदा चुँ सम्म बोल्दैनन । 

बरु सस्तो चर्चा कमाएर डलर कमाउने सामाजिक कार्यको पगरी गुठेका कथित महिलाबादीहरुले अपमानमा परेकी फिलिपिनी जोयालाई देश निकाला गरेर आत्मामा शान्ति जगाउदै “नेपालकै नमुना घटना हो” भन्छन । जोयालाई नेपालमा कुनै न्याय नदिएर बैधानिक हसियत बनाएर फिलिपिन्स फर्काउन सफल भएको ठान्छन, यी कथित अधिकार कर्मीहरु ।

नजिकै रहेको भारतका लाखौ छोरीहरुलाई बुहारी बनाएर भित्र्याउदै लालनपालन गर्न सक्ने नेपालले कोषौ टाढा रहेको फिलिपिन्सकि एउटी छोरीलाई बुहारी बनाएर लालनपालन गर्न किन सक्दैन ? तिनै बुहारीलाई पिंजडाको सुगाको संज्ञा दिएर, खुल्ला आकाशमा उद्दार गरेको भन्दै उन्मुक्तिको ढोल पिट्ने कथित महिला अधिकारबादीहरूले तिनै बुहारीबाट जन्मिएका दुइ सन्तान (छोरा) को भविष्य प्रति किन नजिर गर्न सकेनन ? ति दुइ सन्तानहरुले बाबुको पैतृक सम्पतिमा हक पाउनु पर्छ कि पर्दैन ?

जोयाले बुहारीको न्याय पाइनन्, उनका सन्तानहरुको संरक्षणको कुनै लेखाजोखा पनि भएन तर उल्टै ७ लाख जरिवाना तिरेर बुहारीको साइनो समेत पखालेर फर्किने भइन, किन कि फिलिपिन्स राजदुत र त्यहाँको राज्यले आफ्नो नागरिकको सुरक्षा गर्ने हैसियत राखेको छ तर नेपाली छोरीहरु बिदेशमा यस्तै बिपत आइपरे आत्मदाहा दिएर मर्ने बाहेक अरु उपाए नै छैन ।

मानवअधिकार संरक्षण सम्बन्धि संसारमा सबभन्दा उत्कृष्ट अधिकार सहितको नेपालको संबिधान बनाएका छौ भन्नेहरुको ध्यान यिनै निर्दयी बुहारी जोया तिर आँखा किन परेन ? तिम्रो नयाँ संविधानको कानुनमा कहाँ नेर लेखेको छ कि ? “जोया बुहारी बनेर त्रिभुवन अन्तर्राष्ट्रिय एरपोर्टबाट भित्रिदा स्वीकार्य हुने तर तिनै बुहारी आपत-बिपतमा सडकमा भौतारिदै गर्दा सात समुन्द्र कटाएर जरिवाना सहित आफ्नै देशमा फिर्ती गराउनु पर्ने” महाशयहरु ? तिम्रो उत्कृष्ट मानवअधिकार संरक्षण नयाँ संविधानको कानुन, कुन चरिको संरक्षणका लागि हो ?
बुहारी जोया आफ्नै माइतीघर फर्किनुमा उनको आत्म स्वतन्त्रता होला तर उनलाई आफ्नै जन्म देश फर्किन बाध्य पार्ने पुरुष जो महिला अधिकारकर्मीहरुको भाषामा राक्षस पुरुषलाई न्यायालयको कट्घेरामा उभ्याउन पहल किन नगरेको ?

बुहारीलाई माइतीघर फर्काउनु पहिले कट्घेरामा उभ्याएर दुई सन्तानको अधिकारलाई सुरक्षित नगरि पठाउनु मानवअधिकार तथा नागरिकले पाउनु पर्ने हक अधिकार बन्चित गरिएको छ । समस्याको दीर्घकालीन निराकरण भन्दा क्षणिक निउनिकरण तिर महत्व दिने अधिकारवादीहरु हो कतिन्जेल यसरीनै सामाजिक कार्यको ढोल पिट्दै एनजीओ आइएनजिओको डलर पचाउने ?

शायद भोलि ति फिलिपिन्स छोरीले बुहारीको हक त खोज्दैनन् होला तर सन्तानहरुको पैतृक सम्पति माथी अधिकार खोज्न पाउने प्रावधान छ कि छैन ? यदि अधिकार खोज्न आउदा प्रक्रिया र प्रणालीका प्रमाणहरु अंकुश बनाएर तेर्स्याउने फेरी तिमीहरु नै होला हैन ?

कानुनका पहरेदारहरु बुहारीबाट दुइ सन्तान फुतफुत जन्माउदा सम्म मुख दर्शक भएर हेरेर बस्ने, ति बच्चाहरुको अधिकारलाई सुनिश्चितता पनि नगर्ने र अहिले बुहारीको हक अधिकारबाट बन्चित समेत गर्नुले विश्वकै सर्वोउत्कृष्ट संविधानको सेखी झार्ने काम भएको छ ।

यस घटनाले मानवीयताको दृस्टीकोणबाट हेर्दा पनि लैंगिक असमानता र बालबालिकाहरुको हक अधिकार सम्बन्धि मुद्दालाई हास्यास्पद बनाएको छ । सिधा भन्नु पर्दा देशमा कानुन मिचेर जेसुकै गर्न पाउने तर हक अधिकार खोज्दा वा न्याय खोज्दा आधिकारिक कानुनि प्रमाणहरु खोज्ने टुप्पाबाट पलाएको कानुन हो ।

समस्याहरुलाई मलजल गरेर हुर्किन दिने तर अन्तिम बिन्दुमा न्याय खोज्दा प्रक्रिया र प्रणालीहरुका अंकुशहरुले कोपर्ने र मानव अधिकारको पूर्ण हनन गर्ने कानुन नै, हाम्रो देशको अन्धो कानुन हो । जुन कानुन भित्र उपेक्षित जाति र बर्गहरु, लैगिक असमानताहरु, निमुखा बालबालिकाहरुले न्याय पाउने कुरा आकाशको फल आँखातरी मर जस्तै भएको छ । बाँकी मुद्दाको निकास त “उही मुलाको चाना, उही मुलाको सिन्की” बनेको छ ।

देशको उच्च  पदमा महिला नेतृत्वहरु पदभार  हुँदा  पनि जीवन थापा जस्ता पुरुषहरु जब सम्म कानुनको फन्दामा पर्दैनन तब सम्म बुहारीहरु यो देशमा सुखले बस्न  नपाउने छैनन, ती नावालकहरुको पैतृक सम्पतिमाथिको हक अधिकार सुनिस्चितता गरिदेउ, नत्र महिला  स्वतन्त्रता  र मुक्तिका खोक्रा नाराहरुले आफैलाइ गिज्याउदै सलामी गर्नेछन, अनि भन्ने छन मुर्दा शान्ती भित्रबाट यस्तै चित्कारहरुले जय नारिबाद, जय बालअधिकार !
धन्यवाद ।

,

प्रतिकृया दिनुहोस्

Loading...