भक्तपुरमा यस्तो देखियो गाईजात्राको दृश्य (भिडीयसहित)
शुक्रबारबात सुरु भएको गाईजात्रा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । दिवंगत आत्मालाई वैतरणी तर्न सजिलो होस् भनेर विशेषगरी नेवार समुदायले गाईलाई नगर परिक्रममा गराउँदै यो पर्व मनाउने गर्दछन् ।
मृतकका नाममा आफन्तजनले बालकलाई चोलो, जामा र पटुकीमा सजाएर एकातिर गाई र अर्कोतर्फ गणेशको चित्र राखेको पेरुंगाको टोपी लगाउने गर्छन् । पटुकाको दुई टुप्पो भुइँमा लतार्न लगाई ती बालकलाई नक्कली गाई बनाएर नगर परिक्रममा गराउने चलन छ ।
मृतकका नाममा आफन्तजनले बालकलाई चोलो, जामा र पटुकीमा सजाएर एकातिर गाई र अर्कोतर्फ गणेशको चित्र राखेको पेरुंगाको टोपी लगाउने गर्छन् । पटुकाको दुई टुप्पो भुइँमा लतार्न लगाई ती बालकलाई नक्कली गाई बनाएर नगर परिक्रममा गराउने चलन छ ।
भक्तपुरको गाईजात्रालाई मुलुकका अन्य भागमा मनाउने गाईजात्राभन्दा भिन्न र मौलिक शैलीका रुपमा लिईन्छ । यहाँको मुख्य आकर्षण घिन्ताङघिसी नाच हो। त्यससँगै मृतात्माको प्रतीकस्वरुप नगर परिक्रमा गरिने तहामचा अर्को आकर्षण हो। तहामचा बाँसबाट बनाइन्छ। हरियो करिब १५ फिट लामा चारवटा बाँसलाई ठाडो पारेर आयाताकारमा बाँधेर त्यसलाई कपडाले बेरेर तहामचा बनाइन्छ।
तहामचाको शिरमा गाईको चित्र, परालको सिङ राख्ने र त्यसलाई छाता ओढाइन्छ। तहामचालाई बाँसको नोल लगाएर मृतकका आफन्तले काँधमा बोकेर नगर परिक्रमा गराइन्छ। तहामचामा मृतकको तस्बिरसमेत राखिन्छ। त्यसले जात्रा हेर्न आएकालाई कसको तहामचा निकालेको त्यो स्पष्ट हुने गर्दछ। तहामचालाई नगर परिक्रमा गराउनुपूर्व मृतकको घरको मूलढोका अगाडि पुरोहितले क्रियापुत्रद्वारा सङ्कल्प गराई विधिबमोजिम पूजा गर्ने प्रचलन रहेको छ।
भक्तपुरकै तालाकोस्थित कुमालेले भने मृतात्माको शान्तिका लागि माटोको गाई बनाएर नगर परिक्रमा गराउँछन्। कुमालेको पुख्र्यौली पेसा माटोका भाँडा बनाउनु हो। त्यसैले, उनीहरुले आफ्नै मौलिक पुख्र्यौली पेसा अन्तर्गतको माटोको आकर्षक गाई बनाएर नगर परिक्रमा गराउने गरेको संस्कृतिकर्मी प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ । गाईसँगै मृतकको स्मृति झल्काउने करुण रस प्रधान गीति लीला, रामायण र श्रीकृष्ण लीलासमेत प्रदर्शन गरिन्छ ।
साथै, केटाकेटीलाई आकर्षक तवरले महादेव–पार्वती, कृष्ण–राधिकाका रुपमा शृङ्गार गरी बाजागाजाका साथ बासा लुइके गरेर प्रदर्शन गर्ने प्रचलनसमेत रहेको छ । गाईजात्राको दिन बिहान सबेरै कुखुरा नबास्दै भक्तपुर तलेजु मन्दिरबाट तलेजुको तहामचा बनाई नगर परिक्रमा गराइन्छ । त्यसपछि मात्र सर्वसाधारणका मृतकको नाममा गाईजात्रा निकालिन्छ ।
किंवदन्तीअनुसार राजा प्रताप मल्लको छोराको मृत्युपश्चात् रानी धेरै शोकमा डुबेपछि उनलाई नगरका जनताका घरमा पनि कसै न कसैको मृत्यु भएको हुन्छ भन्ने देखाउन गाई निकाल्ने प्रचलन सुरु भएको मानिन्छ । यतिले पनि रानीको मन शान्त नभएपछि रानीको मनलाई शान्त पार्न हास्यव्यङ्ग्य, ख्यालठट्टासमेत प्रदर्शन गर्न राजाले आदेश दिएबमोजिम गाईजात्राको अवसरमा हास्यव्यङ्ग्यसमेत प्रदर्शन गरिन्छ ।
प्रतिकृया दिनुहोस्
Loading...