चिनियाँ राष्ट्रपति नेपाल अाउने ‘निश्चित जस्तै’

काठामाडौं, २६ साउन । 

चीनको सरकारी थिंक ट्यांक टोली प्रमुख जी झेईले चिनियाँ राष्ट्रपति सी जिनपिङको आगामी असोजमा हुने नेपाल भ्रमणको तयारीकै लागि आफूहरू यहाँ आएको बताएका छन् ।

बंगलादेश र भारत भ्रमणपछि नेपाल आएको चिनियाँ टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीलाई छुट्टाछुट्टै भेटेर आगामी असोजमा चिनियाँ राष्ट्रपति नेपाल भ्रमणमा आउने जानकारी गराएको हो। कान्तिपुर दैनिकमा समाचार छ।

चीन सरकार मातहतको संस्था चाइना इन्स्टिच्युट अफ कन्टेम्पररी इन्टरनेसनल रिलेसन्स (सीआईसीआईआर) का अध्यक्ष जी झेई नेतृत्वको टोलीले अरू दलका नेतालाई समेत भेट्ने कार्यक्रम छ। सीआईसीआईआर अन्तर्राष्ट्रिय सम्बन्ध र रणनीतिक विषयमा अध्ययन गर्ने चीन सरकारको महत्त्वपूर्ण संस्था हो । सोमबार साँझ काठमाडौं आएको चिनियाँ टोली राजनीतिक भेटघाटमा व्यस्त छ।

‘यहाँहरू (नेपाल सरकार र प्रमुख नेपाली दलहरू) को चाहनाअनुसार यो वर्ष चीनका राष्ट्रपतिले नेपाल भ्रमण गर्नेमा आशंका छैन,’चिनियाँ टोलीका नेताले प्रधानमन्त्री दाहाललाई भनेको भनाइ स्रोतले उद्धृत गर्‍यो। ‘नेपाल चीनको उच्च प्राथमिकतामा छ। यो उच्च भ्रमण नेपाल–चीन सम्बन्ध विस्तारका लागि धेरै महत्त्वपूर्ण छ,’ जीले भनेका थिए,‘हामी त्यसैको तयारीका लागि काठमाडौं आएका हौं।नेपाल र चीनले यो उच्च भ्रमण सफल पार्न आवश्यक छ।’

प्रत्युत्तरमा प्रधानमन्त्री दाहालले आफ्नो सरकार र नेपाली दलहरू चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताए। भारतको पर्यटकीय सहर गोवामा आगामी असोज २८ र २९ मा हुने ब्रिक्स (ब्राजिल, रुस, चीन, भारत र दक्षिण अफ्रिका) को आठौं सम्मेलनमा सहभागी हुन जाने अवसर पारेर चिनियाँ राष्ट्रपति नेपाल आउन लागेका हुन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...