बल्लतल्ल सुरु भयो नेविसंघको मतदान प्रक्रिया, ३९ भोटिङ मेसिनबाट भोट खसालिदै

दिया चन्द, काठमाडौँ, १ भदौ ।

नेपाल विद्यार्थी सङ्घको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेदेखि सुरु गर्ने भनिएको मतदान प्रक्रिया मध्यान्ह साढे १२ बजेपछि मात्र सुरु भएको छ । 

सङ्घको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा ३९ वटा भोटिङ मसिनबाट मतदान भइरहेको नेविसंघका प्रवक्ता यूपी लामिछानेले इमान्दार मिडियालाई जानकारी दिए । 

'३९ मेसिनबाट मतदान हुदैछ, अहिलेसम्म ६ /७ सय जनाले भोट खसालेका छन् ' लामिछानेले भने,' बिहानैदेखि सुरु गर्ने भनिएकोमा केहि प्राविधिक कारणले ढिलो सुरु भयो, राति अबेरसम्म नै मतदान प्रक्रिया लम्बिने सम्भावना छ ।'

केही पदमा विद्युतीय उपकरण तथा केही पदमा कागजी मतपत्रद्वारा मतदान गराउन निर्वाचन समितिलाई प्राविधिक समस्या देखिएपछि मतदान तोकिएको समयमा सुरु हुन नसकेको बताइएको प्रवक्ता लामिछानेको भनाई छ।

अध्यक्षमा आठजनाले उम्मेदवारी दिए पनि पदमराज पन्तले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि महाधिवेशनमा सातजना चुनावी प्रतिस्पर्धामा छन्।

मनोजमणि आचार्य, नैनसिंह महर, शुभराम बस्नेत, आनन्दराज त्रिपाठी, लक्ष्मण आचार्य, नगेन्द्रसिंह ठकुरी र वचन कार्की प्रतिस्पर्धामा रहेका  छन ।

त्यसैगरी, महामन्त्रीमा छ जनाले उम्मेदवारी दिए पनि राजेश ज्ञवालीले उम्मेदवारी फिर्ता लिएपछि पाँचजना चुनावी प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा हिमालदत्त श्रेष्ठ, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेल रहेका छन ।

त्यस्तै कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिएका छन ।

मधेसी सहमहामन्त्रीमा परमेश्वर शाह निर्विरोध निर्वाचित भएका छन । यसबाहेक उपाध्यक्ष, सहमहामन्त्री र केन्द्रीय सदस्यमा गरी ५०० भन्दा बढीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

सङ्घको ११ औँ महाधिवेशन उद्घाटन भएको १० दिनपछि नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने कार्यक्रम रहेको थियो । नौ वर्षपछि भएको सङ्घको ११आैँ महाधिवेशन नेकाका पार्टी सभापति शेरबहादुर देउवाले साउन २३ गते उद्घाटन गरेका थिए । 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...