प्रहरी प्रधान कार्यालयमा आक्रमण, ३ को मृत्यु, ४० घाइते

अङ्कारा, भदौ २। 
पूर्वी टर्कीमा पर्ने भ्यान प्रान्तमा अवस्थित प्रहरी प्रधान कार्यालयमा बुधबार राति अबेर भएको कारबम आक्रमण र गोली प्रहारमा तीन सर्वसाधारणको मृत्य हुनुको साथै अन्य ४० घाइते भएका टर्कीको डोगन समाचार समितिले जानकारी दिएको छ।
सो आक्रमणमा परी दुई प्रहरी अधिकारीसहित ४० व्यक्ति घाइते भएका छन्। कुर्दिस वर्कर पार्टी (पिकेके) आतङ्ककारीले यो आक्रमण गराएको बताइएको छ।
भ्यान प्रान्तको चहलपहल भै रहने केन्द्र भागमा अवस्थित प्रहरी प्रधान कार्यालयमा स्थानीय समयानुसार बुधबार राति ११ बजे तिर सो घटना भएको थियो। भ्यान महानगरका स्थानीय बासिन्दाले सहरभरी गोली प्रहार र बम आक्रमणको आवाज सुनिएको बताएका छन्।
रातभरी एम्बुलेन्सका साइरन बज्नुका साथै प्रधान कार्यालयको सुरक्षार्थ उल्लेख्य परिमाणमा प्रहरी बल परिचालन गरिएको थियो। आतङ्ककारी आक्रमणबाट वरपरका कैयौँ भवनका झ्याल ढोका क्षतिग्रस्त भएका छन्।
आक्रमण गर्न प्रयोग गरिएका कारहरु पनि क्षतबिक्षत अवस्थामा घटनास्थलदेखि सयौं मिटर टाढासम्म यत्रतत्र छरिएका थिए। 
गत जुलाइ महिनादेखि पिकेकेको शृङ्खलाबद्ध हिंसात्मक गतिविधि बढ्दै गएका कारण दोहोरो गोली हानाहानमा अहिलेसम्ममा टर्की तथा उत्तरी इराकमा ५०० भन्दा बढी सरकारी सुरक्षाकर्मीहरु र एक हजार भन्दा बढी पिकेके आतङ्ककारीले ज्यान गुमाइ सकेका छन्।
त्यसैगरी, पिकेके आतङ्ककारीले सन् १९८४ देखि सरकार विरोधी आक्रमण सुरु गरेको त्यस समययता यस समूहसँगको द्वन्द्वमा परी चालीस हजार भन्दा बढी मानिसको मृत्यु भै सकेको छ। पिकेके समूहलाई टर्की, संयुत्त राज्य अमेरिका तथा युरोपेली संघले आतङ्कवादी संगठनको सूचीमा राखेका छन्।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...