नगद डलर लिँदा अब राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा बढी शुल्क तिर्नुपर्ने

काठमाडौं, ९ असोज ।

नगद डलर लिँदा अबदेखि नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दरभन्दा बढी शुल्क तिर्नुपर्ने भएको छ । नगद डलरको माग थेग्नै नसक्ने गरी बढेपछि राष्ट्र बैंकले अतिरिक्त शुल्क थपेर नगद डलर लिने प्रवृत्ति निरुत्साहित गर्न लागेको छ। आजको राजधानीमा खबर छ।

नगद डलरको प्रयोगलाई निरुत्साहित गर्न ‘क्यास ह्यान्डलिङ चार्ज’ लिन लागिएको छ । यस्तो चार्ज बढीमा ३ प्रतिशतसम्मको हुने नेपाल राष्ट्र बैंकका एक अधिकारीले जानकारी दिए । यद्यपि निर्णय भइनसकेकाले त्योभन्दा केही कम पनि हुन उनको भनाइ छ ।

‘विदेशबाट कार्गो गरेर ल्याउँदै डलर बाँड्न सकिन्नँ, जसले पनि नगर्दै लिने र खर्च नभएको डलर पनि सम्बन्धित बैंकमा फिर्ता नगरेर आफैंसँग राख्ने प्रवृत्ति बढेको छ, यसलाई निरुत्साहित गर्न पनि क्यास ह्यान्डलिङ चार्ज लिनुपर्ने देखियो,’ ती अधिकारीले भने ।

नेपाल राष्ट्र बैंकले करिब ७ वर्ष अगाडिसम्म सर्वसाधारणसँग २ प्रतिशत यस्तो चार्ज लिने गरेको थियो । पछि खुला बजार नीतिमा यस्तो चार्ज लिन नहुने भन्ने तर्क बलियो भएपछि राष्ट्र बैंकले सो व्यवस्था खारेज गरेको थियो । नगद डलरको अभाव भएपछि राष्ट्र बैंकले सिंगापुरबाट १ करोड अमेरिकी डलर ल्याउने निर्णय गरिसकेको छ ।

यस्तै, वाणिज्य बैंकहरूलाई पनि नगद डलर ल्याउन दिने नीतिगत निर्णय गरिसकिएको छ । नगद डलरको प्रयोगलाई निरुत्साहित गर्न कार्डको प्रयोग बढाउन गर्नुपर्ने उपायबारे अध्ययन गरी सुझाव पेस गर्न विदेशी विनिमय विभागको नेतृत्वमा एक समिति पनि गठन गरिएको छ ।

सोही समितिले प्रारम्भिक अध्ययनको क्रममा क्यास ह्यान्डलिङ चार्ज लिनुपर्ने निष्कर्ष निकालेको हो । नगदको कारोबार गर्दा आइपर्ने जोखिम र व्यवस्थापन गर्न खर्च लाग्ने भएकाले क्यास ह्यान्डलिङ चार्ज लिनुपर्ने राष्ट्र बैंक अधिकारीको तर्क छ ।

‘नगदको कारोबार गर्दा नक्कली नोटको जोखिम र त्यसको व्यवस्थापन गर्न लाग्ने खर्च नगद कारोबार गर्नेले नै तिर्नुपर्छ, अन्य देशहरूमा पनि यस्तो शुल्क लाग्छ, हामीले पनि (त्यस्तो शुल्क) लिनुपर्ने देखियो,’ ती अधिकारीको भनाइ छ । नगद कारोबारलाई निरुत्साहित गरी कार्ड प्रयोग बढाउन पनि यस्तो शुल्क आवश्यक भएको उनको भनाइ छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...