घुमुवा प्रहरी र युवा समूहबीच भिडन्त, गोली चल्दा १ घाइते

दाङ २५ भदौ।

मादक पदार्थ पिएर होहल्ला गरिरहेका युवाहरुको समूह र प्रहरीबीच भएको विवादका क्रममा गोली चल्दा एकजना घाइते भएका छन् ।

दाङको तुलसीपुर नपा–१५ ग्वारखोलामा रहेको सागर कटेजमा मादक पदार्थ पिएर हल्ला गरिरहेका युवाहरुले हतियार खोस्न खोजेपछि प्रहरीले गोली चलाउँदा रामपुर गाविस निवासी २६ वर्षी दानबहादुर बुढा घाइते भएका हुन् ।

स्थानीयस्तरमा दादागिरी गर्दै आएका युवा समूहलाई सम्झाउन खोज्दा पुलिसकै हतियार खोस्न खोजेपछि गोली चलाउनुपरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईले जानकारी दिए ।

करिब १६ जनाको समूहमा रहेका युवाहरुले आक्रमण गर्न खोजेपछि गोली चलाउँदा त्यो समूहका नाइके बुढाको खुट्टामा गोली लागेको डिएसपी प्रसाईले जानकारी दिए । घाइतेको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

पुलिसले घटनास्थलबाट ६ जना युवालाई पनि पक्राउ गरेको छ । अन्य युवाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...