विकास निर्माणमा राजनीतिक दलहरुले साझा धारणा बनाउनु पर्छ : नेता सिटौला

भद्रपुर, २३ भदौ ।

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विकास निर्माणमा राजनीतिक दलहरुले साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका छन् ।

जिल्ला विकास समिति, झापाद्वारा झापाको दक्षिणी क्षेत्र घेराबारी गाविसको वडा नं १ र ७ जोड्ने अदुवा खोलामा निर्माण गर्न लागिएको पक्की पुलको आज शिलान्यास गर्दै उनले सो कुरा बताएका हुन् ।

नेता सिटौलाले राजनीति अवसर प्रदान गर्ने क्षेत्र भएकाले यसमा राजनीतिक दलका नेता एवम् कार्यकर्ताहरु सधैँ सजग रहनुपर्ने भन्दै आगामी चैत महिनाभित्रमा हुने स्थानीय निकायको निर्वाचनका लागि तयार रहन सबै पक्षलाई आग्रह गरे ।

उनले झापाको धेरै पुरानो चारआली र केचना सडक निर्माणमा अब ढिलाइ नहुने भन्दै विकास र एकताबाट नै समाजलाई समृद्ध बनाउने विचार व्यक्त गरे ।

निर्माण व्यवसायीले गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउँदै नेता सिटौलाले विकासका निम्ति आएको बजेटलाई उचित सदुपयोग गर्न आपसी एकताको खाँचो रहेको धारणाा राख्नु भयो ।

स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा सांसदद्वय मोहन टुडु र अमृतलाल राजवंशी, प्रजिअ मदन भुजेल, नेपाली काँग्रेस झापाका सभापति उद्धव थापा, राप्रपा नेपालका केन्द्रीय सदस्य देवीरमण भट्टराई, नेकपा (एमाले)का नवराज भट्टराई, प्रमुख इन्जिनियर सुशील श्रेष्ठले पनि बोलेका थिए ।

पश्चिममा घेराबारी, राजगढ, चकचकी, डाँगीबारी, कन्काई नगरपालिका र बिर्तामोड एवम् पूर्वमा पथरिया, केचना, बनियानी, पाठामारी, पृथ्वीनगर, महेशपुर हुँदै सदरमुकाम चन्द्रगढी जोड्ने सो पुलको लागत रु पाँच करोड ११ लाख रहेको छ । 

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...