पर्यटक लोभ्याउदै हीरक महोत्सव

सिबी अधिकारी, काठमाडौँ, १५ असोज । 

नेपाली पर्यटनको मुख्य आधार हिमाल आरोहण हो । जसले नेपालको पहिचानलाई विश्वसामु प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । सर्वोच्च शिखर सगरमाथा सहित विश्वका ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् ।

सन् १९५३ मे २९ मा पहिलो पटक नेपाली तेन्जिन नोर्गे शेर्पा र विदेशी न्यूजील्याण्डका सर एडमण्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि नेपाली पर्वतारोहण विश्वचर्चित बन्यो ।

त्यसयता नेपालको पर्वतीय पर्यटन पर्यटनको मेरुदण्डकै रुपमा कहलियो । अन्नपूर्ण, मनास्लु, कबमलु, कञ्चनजङ्गाजस्ता चर्चित हिमाल आरोहणका लागि विभिन्न मुलुकबाट सयौँको संख्यामा आरोही आउछन् ।

नेपालमा हिमाल आरोहणको विभिन्न वर्षगाँठमा रजत, स्वर्ण र हीरक महोत्सव मनाईदै आएको छ, यसले नेपालको पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गरी विदेशी पर्यटक आकर्षण गर्न महत्वपूर्ण योगदान पुगेको छ । 

छ हिमालको हीरक महोत्सव

नेपाली हिमाल आरोहणको ६० वर्ष बढी लामो इतिहास छ, यस अवधिमा सगरमाथासहित छ वटा हिमाल हीरक महोत्सव मनाउन सफल भएका छन् । सगरमाथा, चोयु, मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सव मनाईएको छ, भने आगामी मङसिरमा मकालु र कञ्चन्जङ्गाको हीरक महोत्सव मनाईदैँछ । 

छ हिमालको स्वर्ण महोत्सव

पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेलेका सगरमाथासहित छ वटा हिमालले स्वर्ण महोत्सव मनाईसकेका छन् । सगरमाथा, चोयु, मनास्लु, ल्होत्से, मकालु, र कञ्चनजङ्गा हिमालको स्वर्ण महोत्सव मनाईसकिएको छ । 

सगरमाथा मात्रै रजत महोत्सव 

चर्चित हिमालको स्वर्ण र हीरक महोत्सव मनाईसक्दा सगरमाथाको मात्रै रजत महोत्सव मनाईएको छ । एनएमएको विवरण अनुसार हालसम्म सात हजार ७०० बढीले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।

व्यक्तिगत रुपमा मात्रै करिब चार हजारले आरोहण गरेका छन् । सबैभन्दा बढी २१ पटक आप्पा र फुर्वा टासी शेर्पाले सगरमाथाको आरोहण गरेका हुन् ।

नेपालमा हाल (५,८००) मिटर अग्ला ४०३ वटा हिमाल आरोहणका लागि खुल्ला गरिएको छ । भूगर्भविद् स्व.डा हर्क गुरुङ्को अध्ययन प्रतिवेदन अनुसार (५,८००) मिटर अग्ला १७ हजार ९२ वटा हिमाल आरोहण योग्य छन् । एक हजार ३८९ हिमाल आरोहण खोल्न बाँकी छन् । 

यसै सन्दर्भमा विश्व चर्चित मकालु र कञ्चनजङ्घा हिमालको हीरक महोत्सव मनाउने अन्तिम तयारी भएको छ । आगामी मङ्सिर ३ र ४ गते काठमाडौँ तथा ६ गते सङ्खुवासभाको चिचिलडाँडा र ७ गते ताप्लेजुङको फुङ्लिङ बजारमा महोत्सव मनाउन लागिएको हो ।

विश्वको पाँचौँ अग्लो मकालु (८,४८५) र तेस्रो अग्लो कञ्चनजङ्गा (८,५८६) मि उचाइको हिमालमा पहिलो मानव पाइला टेकेको ६०वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन लागिएको छ । सन् २०१५ मै महोत्सव मनाउनुपर्ने भएपनि भूकम्प र नाकाबन्दीका कारण पछि सरेको हो । 

विसं २०१२ जेठ १ गते फ्रान्सेली लियोनेल टेरे र जिन काउजीले मकालु हिमालको सफल आरोहण गर्नुभएको थियो । त्यस्तै जेठ ११ गते बेलायती जो ब्रिब र जर्ज ब्यान्ड ले कञ्चनजङ्घाको आरोहण गरेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीको अध्यक्षतामा मकालु–कञ्चनजङ्गा हीरक महोत्सव–२०७३ मूल आयोजक समिति गठन गरिएको छ । 

मूल आयोजक समितिका सदस्य सचिव एवम् नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष आङछिरिङ शेर्पाले नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा प्रवद्र्धन गर्न महोत्सव उपयोगी हुने बताउछन ।

अध्यक्ष शेर्पाका अनुसार हालसम्म मकालु हिमालको ३९१ र कञ्चनजङ्गाको ३२३ जना स्वदेशी तथा विदेशी आरोहीले सफल आरोहण गरिसकेका छन् त्यसमा सबैभन्दा बढी नेपाली र अमेरिकी नागरिक छन् । 

महोत्सवका अवसरमा ख्यातिप्राप्त विदेशी आरोही, पर्यटन तथा वातावरणविद एवम् अन्तराष्ट्रिय सञ्चारमाध्यमको पनि सहभागिता हुने हुदाँ नेपालको पर्यटनलाई विश्वमा प्रवद्र्धन गर्न महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...