प्रधानमन्त्रीले संसदमा भने संविधान संशोधनको ड्राफ्ट अन्तिम चरणमा पुग्यो

काठमाडौँ ४ कात्तिक ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको ड्राफ्ट अन्तिम चरणमा पुगेको बताएका छन् । सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनरत सबै पक्षसँग सहमति गरेर संशोधन प्रक्रिया अगाडि बढाउने उनले बताए ।आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।

‘आन्दोलनरत र असन्तुष्ट पक्षसँग वार्ता र संवाद गरी संविधान संशोधन गर्ने क्रममा केही औपचारिक, अनौपचारिक छलफल र गृहकार्यहरू भइरहेका छन्,’ व्यवस्थापिका–संसद्मा बुधबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘अहिले संशोधनको अन्तिम ड्राफ्ट तयार पार्नेतिर प्रक्रिया अगाडि बढेको छ ।’

तिहारदेखि छठ पर्वसम्म संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने गरी सरकारले तयारी गरेको पनि दाहालले जानकारी दिए । 

उनले भने, ‘विभिन्न पक्षसँग अलग–अलग गृहकार्यमार्फत अन्तिम ड्राफ्टको तयारी भइरहेको छ ।’ यसअघि प्रमुख प्रतिपक्षी एमालेलगायत सत्तापक्ष र मधेसी दलका सांसदहरूले संविधान संशोधनको तयारीबारे जानकारी नगराइएको बताउँदै आएका थिए ।

प्रधानमन्त्री दाहालले मधेसी दलहरूको जायज माग संविधान संशोधन गरेर सम्बोधन गर्ने दोहोर्याउदै आशंका नगर्न पनि आग्रह गरे ।

‘म सरकार प्रमुख भएकाले भन्छु– मधेसीका जायज माग सम्बोधन गरिन्छ, संविधान संशोधन गरिन्छ र निर्वाचन गराउने दिशामा गइन्छ,’ दाहालले भने, ‘संविधान कार्यान्वयन चुनौतीको सामना सबैले मिलेरै गर्नुपर्छ । मलाई विश्वास छ, सबैको सहमतिमा संविधान संशोधन गरी चैतमा स्थानीय तहको चुनाव गर्नुपर्नेछ ।’

, , ,

प्रतिकृया दिनुहोस्

Loading...