लोकमानविरुद्ध संसद्मा महाअभियोग दर्तापछि प्रमुख आयुक्तबाट निलम्बित
- काठमाडौं ४ कात्तिक।
अदालतको अपहेलना गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाअभियोग दर्ता गराएका छन्।
एक सय ५७ जना सांसदहरुले संसद्मा महाअभियोग दर्ता गराएका हुन्। सर्वोच्च अदालतले उपस्थित हुन आदेश दिदा पनि उनले अटेर गरेर अदालतको अपहेलना गरेको आरोप लगाइएको छ ।
सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमुख विपक्षी एमालेका सांसदहरुले कार्कीलाई पदमुक्त गर्न महाभियोग प्रस्ताव दर्ता गरेका छन्।
महाअभियाेग प्रस्ताव दर्ता भएपछि यसको टुंगो नलागेसम्म सम्बन्धित पदाधिकारीले काम गर्न नपाउने वा भूमिका निलम्बित हुने संवैधानिक प्रावधान छ।
माओवादी केन्द्रका सांसद महेन्द्र बहादुर शाही प्रस्तावक र एमाले प्रमुख सचेतक भानुभक्त ढकाल समर्थक रहेको उक्त प्रस्तावमा १ सय ५७ जना सांसदको हस्ताक्षर रहेको छ।
संसदका एक चौथाई सभासदले हस्ताक्षर सहित महाभियोगको प्रस्ताव दर्ता गर्न पाउने संविधानको धारा १ सय १ को उपराधा २ मा उल्लेख व्यवस्था छ ।
एक चौथाई सभासदले दर्ता गरेको प्रस्ताव संसद्मा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुने प्रावधान छ।
प्रतिकृया दिनुहोस्
Loading...