६० लाख बोकेर अमेरिका गएका रामबरण बाचे तर सन्ध्याले मृत्यु स्वीकार गर्नुपर्यो


  • देवीराम देवकोटा ।


पूर्वराष्ट्रपति रामवरण यादव क्यान्सर मुक्त भएका छन् । यादवकी छोरी अनिताले आफ्नो बुबा क्यान्सरको संक्रमणबाट मुक्त भएको जानकारी दिएकी छन् ।

अमेरिकाको डेट्रोएटमा रहेको हेनरी फोर्ड अस्पतालमा यादवको सफल शल्यक्रिया भएको थियो । 

असोज १६ गते डा. मनि मेननको नेतृत्वमा रहेको चार सदस्यीय टोलीले पूर्वराष्ट्रपति यादवको प्रोस्टेटको शल्यक्रिया गरेकोे थियो । रोबोटिक सर्जरी प्रविधिमा आधारित शल्यक्रिया करिब चार घन्टामा सकिएको थियो ।

यादव अहिले अस्पतालको अतिथिगृहमा चिकित्सकको निगरानीमा स्वास्थ्यलाभ गरिरहेका छन् । यादवलाई प्रोटिनयुक्त खानेकुराका साथमा आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ । यादव उपचारपश्चात् अक्टोबरको अन्तिम साता नेपाल फर्कने छन् ।

यादवको उपचारको सम्पूर्ण जिम्मा सरकारले लिने निर्णय गरेको छ । त्यसको लागि पहिलो चरणमा ६० लाख सहयोग गरिसकेको छ । 

डा. यादवको स्वास्थ्य ठिक हुनु जति सुखद् पक्ष छ त्यति नै कसैले उपचार नपाएरै मर्नु कयौं गुणा बढी दुखद् छ ।

एउटै देशका नागरिकमाथि राज्यले गर्ने विभेद भोग्नु अझ पीडादायी अबस्था हो । 

उच्च शिक्षा हासिल गर्दै गरेकी जुम्लाको चन्दननाथ नगरपालिका–६ की सन्ध्या शाहीले भने उपचार नपाएर असोज १९ गते ज्यान गुमाउनु परेको छ । 

यदि सन्ध्याले पनि यादवको जस्तो उपचार पाएको भए अल्पायुमै मृत्युको शिकार बन्नु पर्ने थिएन ।

दुई वर्ष पहिले नै सन्ध्याको शरीरमा क्यान्सर संक्रमण भएको जानकारी गराईएको थियो । तर उपचारको अभावमा दुई वर्षपछिको मृत्युलाई कुरेर बसिन् । 


सन्ध्या र यादवको रोग एउटै हो तर सरकारले उनीलाई अमेरिका पठाएर बचायो भने सन्ध्याको लागि एक रुपैयाँ समेत खर्च गर्न सकेन । सन्ध्याका लागि सरकार गरिब भयो ।


सन्ध्याले जीवन रक्षाको लागि स्वास्थ्यमन्त्री गगन थापालाई समेत पत्र लेखिन् तर दयाका दुई शब्द भन्दा अरु केही पाइनन् । 

सन्ध्याको पहुँच भक्तपुरको क्यान्सर अस्पतालभन्दा टाढा जाने हैसियतमा थिएन जसका कारण सन्ध्याले मृत्युलाई स्वीकार गर्नु पर्यो । 

आर्थिक अभावले उपचारको लागि बाहिर लिन नसकिएको परिवारले बताएका छन् ।


पूर्वराष्ट्रपति यादवको सल्यक्रिया सफल भएकोमा परिवारमा खुशीयाली थियो भने यता सन्ध्याको परिवार आँशुमा डुबेको थियो । 

यसले राज्यले नागरिकलाई दुई दर्जामा विभाजन गरेको प्रष्ट देखिन्छ । यादवलाई बचाउन सरकारले जुन भूमिका निर्वाह गर्यो सन्ध्याको लागि त्यो गरेन ।


यादव पूर्वराष्ट्रपति भएपनि यो देशका नागरिक हुन् । सन्ध्या बाँचेको भए यादवको ठाउँमा नपुग्ने भन्ने थिएन । 

राज्यले नेपालका नागरिक त्यसमा पनि अझ कर्णालीप्रति विभेद गरेको कुरा यो घटनाले थप पुष्टि गरेको छ ।

त्यस्तै सन्ध्याकै टोलीमा घर भएकी अनु कार्कीले पनि आर्थिक अभावका कारण उपचार नपाएर अल्पायुमै ज्यान गुमाउनु परेको छ । उनको दुबै मृगौंला खराब भएको थियो ।

अनलाइन डबलीबाट

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...