नयाँ धानको बीउ लगाउदा दोब्बर धान उत्पादन

बझाङ, १८ असोज ।

बझाङका १५ गाविसका कृषकले खेतमा लगाएको नयाँ धानको बीउबाट दोब्बर उब्जनी भएको बताएका छन् ।

परम्परा धानको बीउमा विभिन्नखालका रोग लाग्ने र उब्जनीसमेत नहुने भएपछि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा वितरण गरेको हरजित नाथ धानको बीउ लगाएपछि दोब्बर उब्जनी भएको हो । 

जिल्लाका हेन्तवाडा, डुग्री, सम्देउ, चैनपुर, गोलाई, देबल, सेलाखेत, खेइरा, भोपुर, साइलावर, मालझुली, जालतडी, सतियाँ र मलारीलगायत गाविसमा यसपाली भोकमरी हट्ने भन्दै स्थानीयवासी खुसी भएका छन् ।

“गत वर्षभन्दा दोब्बर धान फलेको छ, यसपाली भोकमरी टर्ने भयो,” जयपृथ्बी नगरपालिका– ७ का केशव खड्काले बताए । आगामी वर्षका लागि चार बोरा बीउ राखेको उनको भनाइ छ ।


यस्तै सोचेभन्दा दोब्बर उब्जनी भएपछि जयपृथ्वी नगरपालिका–४ खेइराका वीरबहादुर कुँवर आफूले उपभोग गरेर करिब रु २० हजारसम्मको धान बिक्री गर्ने लक्ष्य राखेको बताउछन् ।
दुई वर्षयता जिल्ला कृषि कार्यालयले उन्नत बीउ उपलब्ध गराउन थालेपछि तरकारी, धान, गहुँको उब्जनी बढी हुने गरेको नानदेव कृषक समूहका अध्यक्ष केशव रोकाया बताउछन् । जिल्लामा परम्परागत अन्न बालीको बीउ र पुरानै खेती प्रणालीले खाद्यान्न कम उब्जनी हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत ईश्वरीप्रसाद पोण्डेले बताए । 

, , ,

प्रतिकृया दिनुहोस्

Loading...