जनशक्ति र सामग्री अभावले सोचेअनुरुप काम गर्न सकिएन : पुनर्निर्माण प्राधिकरण

काठमाडौं, १८ असोज । 

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनशक्ति र निर्माण सामग्रीको अभावका कारण सोचेअनुरुप काम गर्न नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा मंगलबार बालुवाटारमा बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परामर्श परिषदको बैठकमा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले एकीकृत बस्ती विकासमा स्थानीयलाई आकर्षित गर्न नसकिएको जानकारी गराए ।

उनले एकीकृत बस्तीका लागि पूर्वाधार तयार गर्न सरकारसँग माग गरे ।

भूकम्पपछिको पुनःनिर्माणकाक्रममा हालसम्म भएका कामको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनशक्तिको अभाव र भौगोलिक विकटताका कारण निर्माण सामग्री ढुवानीमा समस्या देखिएको बताए ।

उनले प्राधिकरणको कामलाई प्रभावकारी बनाउन जनचेतना बढाउनुपर्ने र सबै राजनीतिक दलले सहमति गर्नुपर्ने बताए ।

पाँच वर्षभित्र पुनःनिर्माणका सम्पूर्ण काम सम्पन्न गर्ने गरी प्राधिकरणले आफ्नो काम अघि बढाइरहेकाले त्यसका लागि चाहिने १ लाखभन्दा बढी निर्माणकर्मीको व्यवस्था सरकारले गर्नुपर्ने ज्ञवालीको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्री दाहालले जनचाहनाअनुसार पुनःनिर्माणको काम तीव्र हुन नसकेको भन्दै जतिसक्दो छिटो काम अघि बढाउन सम्बन्धित सबैपक्षलाई निर्देशन दिए ।

उनले नीतिगत सुधार गरेरै भएपनि पुनःनिर्माणको काम छिट्टै टुंग्याउने तयारी सरकारले गरेको जानकारी दिए ।

बैठकमा आमन्त्रित पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबाहेक अरु पूर्वप्रधानमन्त्रीहरु उपस्थित नभएकोमा प्रधानमन्त्री दाहालले दुःख व्यक्त गरे ।

उनले आगामी दिनमा हुने राष्ट्रिय बहसमा सहभागी हुन पूर्वप्रधानमन्त्रीहरुलाई आग्रह गरे ।

बैठकमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले समयसीमा तोकेर काम गर्न प्राधिकरणलाई आग्रह गरेका थिए ।

यस्तै, नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले कानुनी जटिलताका कारण कुनैपनि काम सहजै गर्न नसकिने गरेकोमा चिन्ता व्यक्त गरे ।

बैठकमा सहभागी विभिन्न दलका सांसदहरुले भूकम्प गएको डेढ वर्ष भइसक्दा पनि पुनःनिर्माणको काममा ढिलासुस्ती हुनु लज्जास्पद भएको बताएका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...