पहिरोले आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध

गोरखा, १९ असोज ।

तनहुँको आँबुखैरेनी नगरपालिकास्थित ऐनापहरा नजिक पहिरो खसेपछि आज बिहान ८ बजेदेखि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदै आएको छ ।

गएराति परेको वर्षाका कारण बिहान पहिरो झरेको हो । पहिरोमा यात्रुवाहक, मालवाहक गाडी परे÷नपरेको यकिन भइसकेको छैन । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक रमेश श्रेष्ठका अनुसार अहिले पहिरो हटाउने काम भइरहेको छ । “सडकमा ठूलो पहिरो झरेको छ” उनले भने, “पहिरो हटाउन तीनवटा डोजर परिचालन गरेका छौँ ।” स्काभेटरको अभावले गर्दा पहिरो हटाउन समस्या भएको श्रेष्ठले बताए ।

पहिरोले सडक अवरुद्ध भएपछि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन खण्डमा लामो सवारी चाप परेको छ । पहिरोले पोखरा र गोरखा क्षेत्रको आवतजावत ठप्प हुँदा यात्रु अलपत्र भएका छन् । पहिरो खुलाउन कम्तीमा चार घन्टा लाग्ने श्रेष्ठले बताउनुभयो । पहिरोले करिब २०० मिटर सडक अवरुद्ध बनाएको हो ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...