हुण्डी कारोबारीहरूको नालीबेली - पवन सरिया र कृष्ण ज्ञवालीको समूह देशकै ठूलो हुण्डी कारोबारी


  • आर्थिक दैनिक, काठमाडौं, १४ मंसिर ।


प्रहरी प्रशासन, राजश्व र राष्ट्र बैंककै जिम्मेवार अधिकारीहरूको संरक्षणमा नेपालमा हुण्डी कारोबार फष्टाउँदै गएको पाइएको छ । 

दर्जनौँ रेमिटेन्स कम्पनीहरू सञ्चालित भएर पनि हुण्डीका माध्यमबाट नै ठूलो रकम ओसार/पसार हुँदै आएको तथ्यलाई राष्ट्र बैंक जस्तो नियमनकारी निकायले कुनै चासो नलिई उल्टो हुण्डी तस्करहरूलाई नै संरक्षण गरिरहेबाट हुण्डी तस्करहरूको मनोबल बढ्दै गएको हो ।

कालोधन हुण्डीमार्फत् नै ओसारपसार हुने गरेको तथ्य सार्वजनिक हुँदाहुँदै पनि त्यसलाई नियन्त्रणतर्फ यी निकायका जिम्मेवार अधिकारीहरूको ध्यान जानुको सट्टा उल्टो हुण्डी तस्करहरूसँग सेटिंग मिलाउँदै उनीहरूको अवैध कारोबारलाई संरक्षण गर्ने काम भइरहेको छ ।

राष्ट्र बैंकका केही जिम्मेवार उच्च अधिकारीहरूदेखि डेपुटी गभर्नरसम्मका व्यक्तिहरू हुण्डी तस्करसँग रंगरौशमा डुबिरहेको समेत भेटिएका छन् । हुण्डी तस्करहरूको सुरा, सुन्दरीमा समेत राष्ट्र बैंकका केही अधिकृतहरू भेटिएको तथ्य यसअघि सार्वजनिक भइसकेको छ ।


नेपालका चर्चित हुण्डी तस्करसँग राष्ट्र बैंकका डेपुटी गभर्नर स्वयम् नै मदिरा सेवन गर्न विभिन्न रेष्टुरेन्टहरूमा भेटिएको तथ्य उजागर भइसकेपछि हुण्डी तस्करहरूको सञ्जाल त्यति माथिसम्म छ भन्ने कुरा पुष्टि भएको छ । नेपालमा सबैभन्दा ठूलो हुण्डी कारोबारीहरूमा पवन सरिया, प्रदीप सरिया, मालिराम अग्रवाल, कृष्ण ज्ञवाली, ध्रुव ज्ञवाली, सुभाष भण्डारीको नाम अग्रपंक्तिमा आउँछ । कारोबारका हिसाबले सबैभन्दा ठूलो हुण्डीको तस्कर गर्नेमा पवन सरिया पहिलो नम्बरमा पर्दछन् भने त्यसपछि ज्ञवालीहरूको नाम आउँछ ।

हुण्डी तस्करहरूको सञ्जालमा राष्ट्र बैंकका केही अधिकारीहरुको संलग्नता रहेको आशंका गरिएको भए पनि स्वतन्त्ररुपमा त्यसको पुुष्टि हुुन भने सकेको छैन । तर हुण्डी कारोबारी कृष्ण ज्ञवालीसँग राष्ट्र बैकका केही उच्च अधिकारीहरुको गहिरो सम्वन्ध तथा अत्यन्तै नजिकको उठबस र सम्पर्क रहेको खुल्न आएको छ । 

ज्ञवालीसँग उनी धेरै रेष्टुरेन्टहरूमा समेत भेटिने गरेको कुरा राष्ट्र बैंककै जिम्मेवार कर्मचारीहरू बताउँछन् । सबैभन्दा ठूलो हुण्डीको अवैध कारोबार गर्ने पवन सरियाले ठूलो कारोवार आफ्नो ज्ञानेश्वरस्थित निवासबाट गर्ने गर्दछन् भने अन्य सानो–तिनो कारोवार महाबौद्ध क्षेत्रमा रहेको कार्यालयबाट भुक्तानी दिने गरेको समेत खुलासा भएको छ ।

पवन सरिया, मालिराम अग्रवाल र जेएन एण्ड कृष्ण ज्ञवालीको समूह सुरुमा एउटै थियो । केही वर्षअघिमात्र यो समूह फुटेर जेएन, कृष्ण ज्ञवाली र ध्रुव ज्ञवालीको समूह एउटा बनेको छ भने पवन सरिया र मालिराम अग्रवालको समूह यतिबेला अर्को बन्न पुगेको छ । यिनीहरू नेपालको सबैभन्दा ठूलो हुण्डीको अवैध कारोबार गर्ने गिरोहहरू हुन् ।


त्यसैगरी सुभाष भण्डारीको हुण्डी कारोबार पनि संरक्षित रूपमा नै सञ्चालित छ । भण्डारीले अष्ट्रेलियाको हुण्डीको कारोबार गर्दै आएका छन् । नेपालबाट अष्ट्रेलियाको हुण्डीको करोवार गर्ने सुभाष भण्डारी एकमात्र कारोबारी हुन् ।

यसबाहेक सानोतिनो हुण्डीको कारोबार गर्नेहरूको संख्या नेपालमा पचासौँ रहेको पाइन्छ । राष्ट्र बैंककै उच्च अधिकारीहरूका अनुासर प्रहरी, राजश्वदेखि राष्ट्र बैंकका केही भ्रष्ट कर्मचारीहरूको मिलिमतोमा यी हुण्डी तस्करहरूको सञ्जाल फैलिइरहेको छ ।


विदेशबाट नेपालमा रकम ल्याउन र नेपालबाट पठाउन वैधानिक बाटोभन्दा हुण्डीमार्फत् कारोबार गर्ने कार्य बढ्दै गएको राष्ट्र बैंकको सर्वेक्षणले समेत उजागर गरेको छ । कोरियाबाट सबैभन्दा धेरै हुण्डीको कारोबार हुने गरेको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ । 

राष्ट्र बैकको अनुसन्धान विभागले गरेको सर्वेक्षणअनुसार कोरियाबाट आउने रेमिट्यान्समध्ये ७० प्रतिशत हुण्डीमार्फत् आउने गर्दछ । कोरियामा कार्यरत कामदारहरु २० प्रतिशतले मात्र रेमिट्यान्समार्फत् रकम पठाउने गरेका छन् भने ७० प्रतिशतले हुन्डीमार्फत् र १० प्रतिशतले औपचारिक हुन्डीमार्फत् नै रकम पठाउने गरेका छन् । 

यसैगरी मलेसियाबाट ३.५ प्रतिशत हुन्डी र २.४ प्रतिशतले औपचारिक तथा हुण्डी दुबै माध्यमबाट रकम पठाउने गरेको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ ।


त्यस्तै मलेसियाबाट लामो समयदेखि टोप राणाले निर्वाध रुपमा ठूलो मात्रामा हुण्डीको कारोवार गर्दे आएकाछन । उनीभन्दा अगाडि हुण्डी गर्ने मुक्त गुरुङ अहिले स्पेनको एनआरएन अध्यक्ष भएका छन । उनले हुण्डी गरेर पठाईदिने भनी मलेसियामा रहेका कामदारहरुबाट संकलन गरेको रकम ठगेर स्पेन पुु-याएका थिए ।

उनले त्यतिबेला मात्र झण्डै २२ करोड रुपैयाँ ठगेका थिए । अहिलेसम्म उनीमाथि कंहीं कसैले कुनैपनि प्रकारको कारवाही गरेका छैनन् । उनले नेपाली कामदारको रकम लिएर त्यसरी भागेपछि त्यो ठाउँ आईएमईले लिएको थियो । मलेसिया नेपालका लागि रेमिटेन्सको हव मानिन्छ ।


यसैगरी बिवादित भारतीय नागरिक राकेश अडुकिया पनि नेपालमा बसेर हुुण्डी कारोबार गर्ने व्यक्ति हुुन । उनका भाई हङकङमा बस्ने र बाबु भारतमा बस्ने गरेका छन् भने राकेशले नेपालमा बसेर हुुण्डीको संयोजन गर्ने गरेका छन् । 

अडुकिया जस्तै गरी विजय धारिवालले पनि नेपालमा बसेर हुुण्डीको कारोबार गर्ने गरेका छन् । खाडी मुलुकमा १.१ हुण्डी र २.२ प्रतिशत हुण्डी र औपचारिक माध्यमबाट रकम भित्रिने गरेको छ भने भारतबाट १४ प्रतशित रकम हुण्डीमार्फत् नेपाल भित्रिने गरेको छ । विकसित राष्ट्रहरूबाट २० प्रतिशत रकम हुण्डीमार्फत् आउने गरेको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ । हुण्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने गैर कानुनी तरिका हो । 

यस्तो कारोबार गर्दा सम्बन्धित देशहरूमा सम्पर्क व्यक्तिहरू राखेर ती व्यक्तिहरूमार्फत् कारोबार हुने गर्दछ । नेपालबाट कुनै पनि देशमा पैसा पठाउन हुण्डी कारोबार गर्नेको सम्बन्धित देशमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ र नेपालको एजेन्टलाई पैसा दिएपछि सम्बन्धित देशको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ । 

यसवापत उनीहरूले निश्चित प्रतिशत कमिसनको रकम लिने गर्छन् । हुण्डीको प्रयोग गर्नुको कारण छिटो र सहज तरिकाले पैसा पठाउन र पाउन सक्ने नै हो । राष्ट्र बैंकको सर्वेक्षणमा भनिएको छ–‘कुल ३ सय २० घर–परिवारमा सर्वेक्षण गरेकोमध्ये हुण्डीको कारोबार प्रयोग गर्नुको कारण ६६.३ प्रतिशतले छिटो र सहजतालाई जोड दिने गर्दछन् ।


त्यस्तै १९.४ प्रतिशतले सुरक्षा, ३.८ प्रतिशतले रकम पठाउँदा लाग्ने खर्च, १.९ प्रतिशतले बढी विनिमय दर तथा ८.८ प्रतिशतले अन्य कारणहरू उल्लेख गरेका छन् । खासगरी, गन्तव्य मुलुकबाट औपचारिक माध्यमबाट स्वदेशमा पैसा पठाउन महँगो हुने कोरियालगायतका मुलुकबाट आधाभन्दा बढी कामदारले हुण्डीमार्फत् रकम पठाउने गरेको राष्ट्र बैंकको सर्वेक्षणमा उल्लेख छ ।

नेपाली कामदार रोजगारीका लागि गएका कतिपय विकसित मुलुकमा रेमिट्यान्स कम्पनीको सहज उपस्थिति हुन नसकेकाले हुण्डीमार्फत् रेमिट्यान्स आउने गरेको पाइन्छ । बैंकिङ प्रणालीबाट पठाउँदा बढी झन्झटिलोकासाथै खर्च पनि बढी लाग्ने हुँदा हुण्डीमार्फत् कारोबार हुने गरेको हो । लागूऔषध, हतियार तथा सुनलगायतका सामानको तस्करीमा पनि हुण्डीमार्फत् नै आर्थिक लेनदेन हुने गरेको केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अधिकारीहरू बताउँछन् ।


नेपालमा पछिल्लो समय दैनिक सय किलोभन्दा धेरै सुन तस्करी हुने गरेको र त्यसको आर्थिक लेनदेन हुण्डीमार्फत् नै हुने गरेको व्यूरोका अधिकृतहरूको दावी छ । त्यस्तै अर्थविद्हरूले हुण्डीमार्फत् पुँजी पलायन बढ्दै गएको बताएका छन् । हुण्डी कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा प्रत्यक्ष नकारात्मक असर परेको विज्ञहरूको भनाइ छ । 

हुण्डीमार्फत् कारोबार हुँदा वैधानिक माध्यमबाट नेपाल भित्रने रकम घटेको देखिन्छ । जसको असर रेमिट्यान्स कारोबारमा देखिएको छ । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा रेमिट्यान्सको वृद्धिदर जम्मा ६.६ प्रतिशत रह्यो, जबकी गतवर्ष त्यही अवधिमा रेमिट्यान्स वृद्धिदर २७.५ प्रतिशत थियो । यस्तै खुद ट्रान्सफर आय ३.७ प्रतिशतले वृद्धि भई १ सय ३० अर्ब १५ करोड पुगेको छ । 

यो वृद्धि दर गतवर्षको तुलनामा १२ गुणाले कमी हो । गतवर्ष यसै समयमा सरकारले ३७.५ प्रतिशतले वृद्धि भएको थियो । रेमिट्यान्स घट्दा मुलुकमा विदेशी मुद्रा सञ्चिति घटेको, शोधनान्तर बचतमा पनि असर परेको राष्ट्र बैंककै अधिकारीहरू बताउँछन् । २०७३ साउन महिनामा अघिल्लो महिनाको तुलनामा विदेशी मुद्राको सञ्चिति ०.६ प्रतिशतले घटेको छ । 

भदौ मसान्तसम्ममा ०.८ प्रतिशतले घटेको थियो । हुण्डीको कारोबार नेपालमा मात्रै नभई नेपालबाट पनि हुने गरेको छ । हुण्डीको कारोबारमार्फत् नै देशबाट पुँजी पलायन भइरहेको छ । नेपालबाट विदेश जाँदा २५ सय डलर लैजान पाउने भएपनि नेपाली ब्यवसायीले सिंगापुर, अष्ट्रेलिया, डेनमार्क गएर हजारौँ डलर खर्च गरेको र त्यसको माध्यम हुण्डी नै भएको रेमिट्यान्स कम्पनी चलाउने सञ्चालकहरू बताउँछन् ।


नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र पण्डितले पनि हुण्डीले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेको स्वीकारे । हुण्डीमार्फत् कारोबार बढ्दा राजस्व, विदेशी मुद्रा सञ्चिति र आयकरमा नकारात्मक असर पर्ने र यसले देशको समग्र अर्थतन्त्रमा नै नकरात्मक प्रभाव पार्ने उनको भनाइ छ । 

हुण्डी कारोबार निरन्तर बढिरहे पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ भने कसैको चासो गएको देखिँदैन । सरकारी संयन्त्र हुण्डीका तस्करहरूसँग मिलिमतो गरी रकम असुलिरहेका छन् । नेपाल राष्ट्र बैंकका निर्देशक पण्डित हुण्डीको कारोबार रोक्ने प्रयास गरेको दाबी छ । पण्डितले भने–‘हुण्डीको कारोबार रोक्नकै लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा सुरक्षा निकायका अधिकारी समेतको समिति बनेको थियो ।

पण्डितले यसो भनिरहँदा स्वयम् समितिको संयोजक रहेका शिवाकोटी नै हुण्डीको ठूलो कारोबार गर्ने कृष्ण ज्ञवालीसँग नै विभिन्न रेष्टुरेन्टहरूमा भेटिनुले हुण्डी तस्करहरूको सञ्जाल राष्ट्र बैंकका पहुँचवाला अधिकारीहरूसम्म छ भन्ने कुरालाई सहजै अनुमान गर्न सकिन्छ ।

ज्ञवालीको सेटिंग राजश्वसम्म

हुण्डीको अवैध कारोबारमा संलग्न भएका समाचारहरू छापामा आउन थालेपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले कृष्ण ज्ञवालीको हुण्डी अखडामा निगरानी गर्न थालेको छ । एमालेका नेताहरूको संरक्षणका कारण ज्ञवालीको हुण्डीको अवैध धन्दा संरक्षित हुँदै आएको छ । 

एक वर्ष अगाडि रोगका कारण निधन हुन पुगेका एमाले नेता रामनाथ ढकालको पूर्ण संरक्षण र साझेदारी ज्ञवालीसँग रहँदै आएको थियो । प्रहरीले पक्राउ गर्दा होस् वा अख्तियारको विशेष टोलीले पक्राउ गरी राजस्वमा बुझाएको बखत होस् ज्ञवालीलाई उनी दिवंगत नेता ढकालले जोगाउँदै आएका थिए । 

अख्तियारमा केपी शर्मा नेतृत्वको विशेष टोलीले हुण्डीको अवैध कारोवार गर्नेहरू विरुद्ध सुरु गरेको अप्रेशनका क्रममा कृष्ण ज्ञवालीको हुण्डी अखडामा पनि छापा मारी राजश्वमा बुझाएको थियो । तर त्यतिबेला कृष्ण ज्ञवाली पक्राउ पर्नबाट जोगिएका थिए भने कम्प्युटर र आवश्यक कागजातमात्रै राजश्वमा बुझाइएको थियो ।

 राजश्वमा हुण्डी र डलरको अवैध कारोबार गर्नेदेखि राजश्व छल्ने राजश्व माराहरूको संगठित सेटिङ नै हुने गर्दछ । ज्ञवालीको पनि राजश्वमा नगदी सेटिङ भएकै कारण उनी सहजै उम्कन सफल भए तर त्यसभन्दा अघि भने हनुमानढोकाको प्रहरी हिरासतमा उनी चार दिन बस्न बाध्य भएका थिए । 

हालका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अपराध महाशाखामा एसएसपीका रुपमा कार्यरत रहँदा हुण्डीको अवैध कारोबार गरेको अभियोगमा कृष्ण ज्ञवाली पक्राउ परी ४ दिन थुनिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौं अपराध महाशाखा र राजश्व अनुसन्धान विभागमा ज्ञवालीको नगदी सञ्जाल र सेटिङ भएका कारण केन्द्रीय अनुसन्धान व्यूरोले छुट्टै ढंगले निजको निगरानी उनले गर्ने गरेको हुण्डीको अवैध कारोवारको सञ्जाल र उनी संलग्न रहेका विभिन्न वित्तीय संस्थाहरूको समेत निगरानी र अनुसन्धान गरिरहेको समेत थाहा भएको छ ।

हुण्डीको प्रत्यक्ष आर्थिक कारोबारमा ध्रुव ज्ञवाली र हरि गौतम संलग्न रहेका छन् । हुण्डी कारोबारको प्रमुख व्यक्ति जेएन ज्ञवाली हङकङमा बस्दछन् । हङकङबाट नै ध्रुव ज्ञवालीलाई सूचना प्राप्त हुन्छ र आर्थिक कारोबार ज्ञवाली एवम् गौतमले गर्ने गर्दछन् । बजारमा रकम उठाउने काम भने उमेश, देवेन्द्र र ठकुरी थरका गरी तीनजनाले गर्दै आएका छन् ।

व्यूरोले रकम उठाउने यी व्यक्तिहरू उपर पनि निगरानी गरेको समाचार स्रोत बताउँछ । सनत प्रधानको डायनामिक ट्राभल्समा सामान्य पेट पाल्नका लागि जागिर खाएका कृष्ण ज्ञवाली र ध्रुव ज्ञवालीसँग आजका दिन हुण्डीको अवैध कारोबारबाट कमाएको करोडौं करोडको सम्पत्ति रहेको छ । हुण्डीको अवैध कारोबारबाट नै उनीहरूले यो अस्वाभाविक सम्पत्ति जोड्न सफल भएका हुन् ।

हङकङको चुमकिङमेसनमा खेम गुरुङले सञ्चालन गरेको लज रहेको भवनको सो¥हौं तलामा जेएन ज्ञवालीले हुण्डीको अवैध कारोबारको सुरुआत गरेका थिए । ज्ञवालीहरूको यो हुण्डी कारोबारको प्रमुख व्यक्ति र योजनाकार जेएन ज्ञवाली नै हुन् ।

पहिले खिचापोखरीको गोल्छा हाउस नजिकैबाट हुण्डीको रकम भुक्तानी गर्दै आएका ज्ञवालीहरूले अहिले सुन्धाराको चाइना टाउनबाट यो अवैध धन्धा सञ्चालन गरिरहेका छन् । हुण्डीको यो अवैध कारोबारमा संलग्न रहेका जेएन ज्ञवाली, कृष्ण ज्ञवाली र ध्रुव ज्ञवाली तीनै जना काष्ठमण्डप डेभलपमेण्ट बैंकको सञ्चालक समितिमा समेत रहेका छन् । 

जेएन अध्यक्ष छन् भने कृष्ण र ध्रुव सदस्यका रुपमा रहेका छन् । तर जेएन हङकङ बस्ने भएका कारण बैंकको निमित्त अध्यक्षको जिम्मेवारी यिनै हुण्डी कारोबारी कृष्ण ज्ञवालीलाई दिएको छ । पहिले यी ज्ञवालीहरूसँग पवन सरिया र मालिराम अग्रवालसमेत हुण्डीको कारोवारमा साझेदार थिए तर अहिले छुट्टिएर ज्ञवालीहरू र सरिया एवम् अग्रवाल छुट्टाछुट्टै कारोबार गर्दै आइरहेका छन् । 

हुण्डी कारोबारी कृष्ण ज्ञवालीले आफ्नो अवैध कारोबारलाई जोगाउने क्रममा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामणि सिवाकोटीसँग पनि सम्बन्ध कायम गरेको र बारम्बार उनीहरू खाइ–पिई र बस–उठमा समेत संलग्न रहँदै आएको काष्ठमण्डप डेभलपमेण्ट बैंकका एक उच्च अधिकारीले जानकारी दिए ।

सहकारीको बोर्ड झुण्ड्याएर भण्डारीको हुण्डी कारोबारः

कुनै बेला पिरामिड हिसाबले सदस्यता बनाई अवैध कारोबार गरेको युनिटी समूहले सामाखुसी चोकमा सञ्चालन गरेको थियो– युनिटी अस्पताल । सरकारले मात्रै नभएर न्यायालयले समेत युनिटीको यो प्रकरणलाई गैरकानुनी मात्रै होइन ठगीको संज्ञा दियो । 

यो ठगीधन्दामा संलग्न भएकाहरू अझै कति जेलमा बस्न बाध्य छन् भने कति धरौटीमा निस्किएका छन्, कतिले धरौटी राखी जेलमुक्त भएपछि पनि अनेकन व्यवसाय गरिरहेका छन्, अझै पनि युनिटी ठगी प्रकरणका खम्बा मानिनेहरू कानुनी कठघरामा उभिइसकेका छैनन् । कतिका ठगी घटनाहरू अहिले पनि अदालतमा विचाराधीन छन् । त्यही ठगी समूहले सञ्चालन गरेको युनिटी अस्पतालसँगै सिटिजन्स इन्टरनेशनल बैंक रहेको छ ।

यही बैंकको माथिल्लो तल्लामा एउटा सहकारीको बोर्ड झुण्डिएको छ नव धौलागिरी वचन तथा ऋण सहकारी संस्था लिमिटेड । त्यही सहकारीको कार्यकारी प्रमुख रहेका छन्–सुभाष भण्डारी । म्याग्दी घर भएका सुभाष भण्डारी कुनै बेला म्याग्दीमा शिक्षण पेसा गरेर जीविकोपार्जन गर्दथे ।

सामान्य आर्थिक हैसियत भएका यिनै सुभाष भण्डारी अहिले झण्डै अर्बको हाराहारीमा पुगिसकेका छन् । म्याग्दीको सामान्य परिवारमा र बिकट गाउँमा जन्मी–हुर्किएका सुभाष भण्डारी रातारात कसरी झण्डै अर्बको हाराहारिमा पुगे भन्ने प्रश्न अहिले चौतर्फीरूपमा उठिरहँदा अहिले प्रष्ट भयो कि उनको असली धन्दा त हुण्डीको अवैध कारोबार पो रहेछ । 

त्यसो त हुण्डीको अवैध कारोवार गर्नुअघि सुभासले अष्ट्रेलियामा मानव तस्करीको कार्य पनि गर्दथे । ठूलो सपना बोकेका गाउँका युवाहरूलाई सजिलो काम र बढी तलबको सपना देखाएर भण्डारीले धेरै युवाहरूलाई अष्ट्रेलिया पठाए । अहिले आफूले पठाएका धेरै त्यस्ता युवाहरू अष्ट्रेलियामा कुनै न कुनै व्यापार व्यवसायमा संलग्न रहेका छन् भने कति त अझै पनि रोजगारी गरिरहेका छन् ।

ती सबैको रकम सञ्कलन गर्ने र यताबाट अष्ट्रेलियासमेत हुण्डीको अवैध कारोवार भण्डारीले नै गर्दछन् । अष्ट्रेलियाको हुण्डीको अवैध कारोबार गर्ने नेपालका एकमात्र कारोबारी हुन्–सुभाष भण्डारी । कुनै पनि व्यापारी अथवा कर्मचारी वा पढ्न जाने विद्यार्थी जो कोहीले पनि अष्ट्रेलियामा रकम पठाउनु परेको अवस्था होस् वा अष्ट्रेलियामा रहेका नेपालीहरूले कमाएर नेपालमा पठाउनु पर्ने रकम होस् सबै काम यिनै सुभाष भण्डारीले गर्दै आएका छन् । 

उनी बाहेक अष्ट्रेलियाको हुण्डीको कारोबार गर्ने अरू कुनै व्यक्ति छैन । यिनै सुभाष भण्डारीले आफू संलग्न रहेको नव धौलागिरी वचत तथा ऋण सहकारीको कार्यालयबाट हुण्डीको खुलेआम कारोबार गर्दै आएका छन् । उनले रकम संकलन र बाँड्ने काम यसै सहकारीबाट गरिरहेका छन् ।

धेरै व्यापारीहरूलाई रकम तिर्नुपर्ने भएपछि आफ्नो व्यापार चौपट्ट भएको थेग्न नसकी ठमेल सात घुम्तीस्थित आफ्नै कार्यालयमा झुण्डिएर आत्महत्या गर्न पुगेका गोपी ज्ञवालीसँग सुभाष भण्डारीको कारोबार हुँदै आएको थियो तर उनको आत्महत्यापछि त्यो टुंगिएको छ । त्यतिमात्र होइन हुण्डीको अवैध कारोबार गर्ने माफिया भण्डारीले नेपाल प्रहरीका एकजना बिवादास्पद आईजीसंग घनिष्ठ सम्वन्ध जोडेको पाइएको छ ।


भण्डारीले नागार्जुन पछाडि रहेको बासु लामाले सञ्चालन गरेको नाममात्रको रिसोर्टमा समेत आफू र केही प्रहरी अधिकृतहरूलाई रंगरौश र मस्ती गराउन लाने गरेको समेत खुल्न आएको छ । बिदाको दिन होस् या कार्यालय समयपछि भण्डारीले त्यस्ता प्रहरी अधिकृतहरूलाई लैजाने गरेको समेत लामाको उक्त रेष्टुरेन्टमा काम गर्ने एक कर्मचारीले जानकारी दिए ।

आइजिपीको निर्देशन बेवास्ताः

कानुनले निषेध गरेको हुण्डीको अवैध कारोबारमा सक्रिय रहेका सुभास भण्डारीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले निगरानी गरेको समाचार हामीलाई प्राप्त भएको छ ।

गतांकमा नवजनप्रहारले सुभाष भण्डारीको हुण्डी तस्करीको सञ्जालका बारेमा समाचार प्रकाशित गरेपछि व्यूरोले त्यसतर्फ निगरानी बढाएको हो भने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले समेत हुण्डीको अवैध कारोवार रोक्न निर्देशन दिएको स्वयमले जानकारी दिएका छन् । 

समाचार प्रकाशित भएपछि आइजिपी अर्यालले आफूले व्यूरोदेखि महानगरीय अपराध महाशाखासम्मलाई स्पष्टसँग हुण्डीको अवैध कारोबार रोक्न र यस्तो अवैध कारोबार गर्नेहरूलाई तत्काल पक्राउ गर्न निर्देशन दिएको जानकारी दिए ।

यस पत्रिकाका सम्वाददातासँग कुरा गर्दै आइजिपी अर्यालले विगतमा आफू महाशाखामा कार्यरत रहँदा पनि हुण्डीको अवैध कारोबार गर्ने धेरै व्यक्तिहरूलाई पक्राउ गरेको र यसअघि पनि महाशाखाले त्यस्ता केही हुण्डी कारोबारीहरूलाई पक्राउ गरेको बताउँदै पुनः आफूले त्यस्ता हुण्डी कारोबारीहरूलाई निगरानी गरी पक्राउ गर्न निर्देशन दिएको जानकारी दिए ।

व्यूरोले पनि हुण्डीको अवैध कारोबार गर्नेहरूमाथि निगरानी गरेको जानकारी प्राप्त भएको छ । सुभाष भण्डारी अष्ट्रेलियाको हुण्डीको कारोबार गर्ने कारोबारी हुन् । नेपालबाट जति पनि अष्ट्रेलियामा कारोबार हुन्छ र अष्ट्रेलियामा कार्यरत नेपालीहरूले नेपालमा रकम पठाउने माध्यम नै सुभाष भण्डारीको हुण्डीमार्फत् हो । उनी एकमात्र अष्ट्रेलियामा हुण्डीको अवैध कारोबार गर्ने प्रमुख नेपाली हुन् । 

उनको यो अवैध कारोबार सामाखुसी चोकमा रहेको नव धौलागिरी वचत तथा ऋण सहकारी संस्थाको कार्यालयबाट हुँदै आएको छ । उनी उक्त सहकारीको प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । हुण्डीको अवैध कारोबारबाट नै भण्डारीले छोटो अवधिमा करोडौँ करोड अकुत सम्पत्ति कमाउन सफल भएका हुन् । म्याग्दीको एक गाउँको सामान्य परिवारमा जन्मिएका भण्डारीले जीविकोपार्जनकै लागि शिक्षक पेसासमेत अँगालेको सम्झनेहरू अहिले उनलाई झण्डै अर्बको हाराहारिमा देख्दाखेरि चकित पर्दछन् । 

छोटो समयमा नै भण्डारीले हुण्डीको अवैध कारोबारबाट अकुत सम्पत्ति कमाउन सफल भएका हुन् । शहन्सा होटलमा व्याटमिन्टन खेल्न जाने क्रममा केही प्रहरी अधिकृतहरूसँग नजिक हुन पुगेका भण्डारीले तिनै प्रहरी अधिकृतहरूको नाम भजाउँदै आफ्नो अवैध धन्दालाई संरक्षण गर्दै आइरहेका छन् ।

महाराजगञ्ज र सो¥हखुट्टे प्रहरीका सिभिलमा खटिने घुमुवाहरूलाई समेत मासिक रकम दिएर मात्र होइन केरकारमा समेत सेटिंग मिलाएर आफ्नो हुण्डीको कालो कारोबारलाई भण्डारीले संरक्षित गर्दै आएको पनि उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

केही प्रहरी अधिकृतहरूलाई महँगा रेष्टुरेन्टमा रक्सी ख्वाएकै भरमा होस् अथवा वासु लामाले सञ्चालन गरेको नागार्जुनको ओशो तपोवन नजिकै रहेको रिसोर्टमा लगेर रंगरौश गराएकै भरमा उनले त्यस्ता प्रहरी अधिकृतहरूलाई नजिक पार्नेमात्रै होइन तिनैका माध्यमबाट हुण्डीको आफ्नो अवैध कारोबारलाई संरक्षित गरिरहेका छन् ।

गतसाता मात्रै नव जनप्रहारले उनको यो हुण्डीको अवैध कारोवारको समाचार प्रकाशित गरेपछि उनले विभिन्न माध्यमबाट रोक्ने प्रयत्नहरू पनि नगरेका होइनन् । गैरकानुनी अवैध कार्य गरेर अकुत सम्पत्ति कमाएको सूचनासमेत पाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले समेत उनको सम्पत्तिका विषयमा छानविन सुरु गरिसकेको थाहा भएको छ । 

प्रहरीले नव धौलागिरी सहकारीमा निगरानी राख्न थालेपछि अहिले अन्य ठाउँबाट हुण्डीको कारोबार गर्न भण्डारीले सुरु गरेका छन् भने बजारमा रकम संकलन गर्न जाने आफ्ना भाइहरूलाई समेत निजले सचेत र सर्तकताका साथ काम गर्न भनेको समेत सहकारीसँग आबद्ध समाचार स्रोतले जानकारी दियो ।

राजेशले पोले ज्ञवालीलाईः

राजनीतिक संरक्षणमा गुण्डागर्दी र असुली कार्यमा सक्रिय रहेका डनहरूले अस्वाभाविक रूपमा अकुत सम्पत्ति कमाएपछि त्यसको छानविन भने भइरहेको छ । केन्द्रीय अनुसन्धान व्यूरोले अवैध ढंगले सम्पत्ति कमाएका दीपक मनाङे, चक्रे मिलन, गणेश लामा, परशुराम बस्नेत र अभिषेक गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।

ती मुद्दाहरू उपर अझैसम्म अदालतले अन्तिम टुंगो लगाएको छैन । उनीहरू धरौटी बुझाई बाहिर आएपछि पूर्ववत रूपमा नै आफ्ना अनैतिक कार्यहरू सुचारु गरिरहेकै छन् । यही पृष्ठभूमिका कुमार घँैटे मारिएपछि गुण्डाहरूमा केही त्रासको वातावरण देखिए पनि त्यो रोकिन भने सकेको छैन । कुमार घैँटेको व्यापारिक साझेदारका रूपमा रहेका राजेश कार्की पनि यतिबेला जोडिएको एक नाम हो ।

कमलपोखरीमा गिल्ट नामक ट्राभल एजेन्सी सञ्चालन गरेका राजेश कार्की कुमार घैँटेसँग रेष्टुरेन्टमा साझेदारीको रूपमा समेत व्यापार गर्थे । लाजिम्पाटस्थित माछापुच्छ्रे बैंकको अगाडि रहेको फ्राइडे नामक रेष्टुरेन्टमा घैँटेको साझेदार थिए राजेश कार्की । घैँटे मारिएपछि महानगरीय अपराध महाशाखाले पक्राउ ग-यो राजेश कार्कीलाई । अनुसन्धानका क्रममा १८ दिन थुनामा राखी अहिले कार्कीलाई छोडेको छ, महाशाखाले । 

आमा बिरामी र श्रीमती डेलिभरी हुने अवस्थामा रहेका कारण भन्दै मानवीय दृष्टिले प्रहरीले राजेश कार्कीलाई छोडे पनि निजको सम्पत्तिमा भने छानविन गरिरहेको महाशाखाले जानकारी दिएको छ । डिएसपी रमेश थापाका अनुसार निज कार्कीको सम्पत्ति छानविनका क्रममा प्रहरीले मालपोतदेखि विभिन्न बैंकहरूसँग निजको नाममा रहेको सम्पत्ति माग गरेको छ ।

घैँटेका साझेदार रहेका राजेश कार्कीले लाजिम्पाटस्थित फ्राइडे रेष्टुरेन्ट र कमलपोखरीस्थित गिल्ट ट्राभलबाट हुण्डीको अवैध कारोबार गर्ने गरेको समेत प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ । धेरै देशहरूमा हुण्डीको अवैध कारोबार गर्दै आएका कार्कीले विशेष गरेर इजरायलमा बढी हुण्डीको कारोबार गरेको देखिएको स्रोत बताउँछ । 

उनले आफूले इजरायललगायतका देशहरूमा हुण्डीका लागि रकम उठाए पनि सोझै सम्पर्क नगरी कृष्ण ज्ञवालीलाई दिने गरेको प्रहरीसँगको अनुसन्धानका क्रममा बताएको थियो । सुन्धारास्थित चाइना टाउनमा युनियन ट्राभल्स सञ्चालन गर्दै आएका कृष्ण ज्ञवाली ठूलो हुण्डीका कारोबारी हुन् । हाल प्रहरी प्रमुख रहेका उपेन्द्रकान्त अर्याल महानगरीय अपराध महाशाखाको प्रमुख रहेका समयमा अवैध रूपमा हुण्डीको कारोबार गरेकै आरोपमा कृष्ण ज्ञवालीलाई पक्राउ गरेका थिए । 

चौतर्फी दबाबका बाबजुद पनि ज्ञवाली चार दिन थुनिएका थिए । उनलाई राजनीतिक रूपमा एमालेका रामनाथ ढकालले संरक्षण गर्दै आएका थिए र केही महिना अघिमात्र ढकालको मृत्यु भएको छ भने ज्ञवाली गुल्मी र एकै थरका भएका कारण एमालेका नेता प्रदीप ज्ञवालीले हाल उनलाई संरक्षण गरेको आरोप छ । नेपालमा अवैध रूपमा हुण्डीको कारोबार गर्ने ठूला पाँच जनामध्ये अग्रपंक्तिमा पर्दछन्, कृष्ण ज्ञवाली ।

उनको हुण्डीको अवैध सञ्जाल धेरै देशहरूमा विस्तारित रहेको छ । ज्ञवालीलाई संरक्षण र यो हुण्डीमा साथ दिने प्रमुख हुन्–जेएन ज्ञवाली । उनी हङकङमा बस्दछन् । हङकङबाट उनले विश्वका धेरै देशहरूमा हुण्डीको सञ्जाल सञ्चालन गरेका छन् । जेएन ज्ञवालीकै संरक्षणमा कृष्ण ज्ञवालीले नेपालमा हुण्डीको कारोवार गर्ने गर्दछन् । राजेश कार्कीलाई पक्राउ गरेसँगै ज्ञवालीको हुण्डीको सञ्जालसमेत उजागर भएको छ ।

तर, प्रहरीले भने कार्कीले नाम पोलेको भए पनि कृष्ण ज्ञवालीलाई पक्राउ त परैजाओस् । अनुसन्धानका लागि पनि बोलाएको भने छैन । यता राष्ट्र बैकका केही उच्च अधिकारीहरुबाट पनि हुुण्डी कारोबारीहरुले बिशेष संरक्षण पाउने गरेका कारण अहिलेसम्म पनि हुुण्डीको कारोबारलाई निरुत्साहित गर्न राष्ट्र बैक असफल रहेको मात्र नभएर कुनै पनि कदम नचालेकोबाट स्पष्ट हुन्छ ।

-

, ,

प्रतिकृया दिनुहोस्

Loading...