वैद्यसँग छुट्टीदा विप्लवले लेखेका थिए यस्तो मार्मिक पत्र (चिठीसहित)


बैद्यसंग छुट्टिएर अलग पार्टी निर्माण गर्नेबेला नेत्र विक्रम चन्द 'विप्लव'ले मार्मिक पत्र लेखेका थिए । पार्टी विभाजन गर्दा पनी यसरी औपचारिक पत्र लेखेर छुट्टिएको सम्भवतः यो नेपालकै पहिलो पटक पटक हुन सक्छ ।

विप्लवले पत्रमा निकै शालिन र सभ्य भाषा प्रयोग गरेका छन्। पत्रमा भनिएको छ– ‘कमरेडहरु नेपाली राजनीतिक वर्गसंघर्षको विशिष्ट वस्तुगत अवस्थाले हाम्रो सहकार्य हाललाई टुटे पनि हामी सबै नेपाली जनता, पार्टी, क्रान्ति, सर्वहारावर्ग र वैज्ञानिक समाजवादको आदर्शप्रति समर्पित रहँदै जाँदा नयाँ सहकार्यको सुनौलो अवसर पनि प्राप्त हुने छ भन्ने विश्वास छ ।’

‘जब क्रान्ति, पार्टी, क्रान्तिकारी आन्दोलनलाई हेर्ने र प्रयोग गर्नेमा आधारभूत रुपले अन्तर पर्न जान्छ भने त्यहाँ सँगै रहेर काम कार्यमा एक अर्कालाई बाधा पार्नु उचित र नैतिक हुँदैन !’पत्रमा लेखिएको छ ।

यस्तो छ पत्रको पूरा अंश :-


आदरणीय कमरेड किरण
 अध्यक्ष
 ने.क.पा.—माओवादी
विषयः— जानकारी गराएकोवारे
कमरेड हाम्रो पार्टीमा केही समयदेखि नेपाली क्रान्ति र क्रान्तिकारी पार्टी निमार्णका विषयमा निकै गंभीर र पेचिला बहस र संघर्ष चल्दै आएको प्रष्टै छ । हामीले ती विषयलाई उचित समाधान दिन समुहगत रुपमा र एक्ला एक्लै निरन्तर अन्तरक्रिया, बहस र संघर्ष गर्दै पनि आयौं । परन्तु ती मामिलाहरु हल हुनुका सट्टा झन् गहिरिँदै गए । केन्द्रीय समितिको वैठकमा कमरेड किरणले पेश गर्नु भएको प्रस्तावसम्म पुग्दा त संगै बस्न र सहकार्यमा रहन नै असम्भव बन्न पुग्यो । तिनको कारण निम्नानुसार रहेका छन् ।
१. नेपाली क्रान्तिलाई कसरी अगाडि वढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता कसरी वनाउने भन्ने विषयमा गंभीर अन्तरहरु देखापरे । पदाधिकारी र पीबीको छलफलबाट ती विषय हल नभएपछि गत आषाढमा राष्ट्रिय सम्मेलन गरी निस्कर्ष निकाल्ने कुरा भयो । राष्ट्रिय सम्मेलनको लागि दस्तावेजहरु समेत तयार भए । जव दस्तावेजहरु तयार भए हठात सम्मेलनलाई रोक्ने कुरा अगाडि आयो । सम्मेलन गरेर समाधानतिर जाउँ, सके एउटै दस्तावेज बनाउ नभए सम्मेलनमा आएका प्रतिनिधिहरुले जे पास गर्दछन् त्यसैलाई मानेर जाउँ भन्दा नेतृत्व तयार हुन सकेन । अन्ततः सम्मेलन स्थगित हुन पुग्यो ।
दशै अगाडि कमरेड किरण सँग भेटी यथासिघ्र पूर्ण केन्द्रीय समितिको वैठक बोलाई पार्टी दुइलाइन संघर्षका विषयलाई विशेष महाधिवेशनमा लगेर समाधान गरौं भनेर आग्रह ग¥यौं । कमरेड किरणले महाधिवेशनको कुरै छोडौं, केन्द्रीय समितिको बैठक समेत बोलाउन अस्वीकार गर्नु भयो । नेतृत्वको यो रवैयाले राजनैतिक परिस्थितिले सुम्पिएको सर्वहारावर्गको कार्यभार कमजोर बन्न जाने अवस्था देखा प¥यो ।
२ राजनैतिक परिस्थिति निकै जटिल बिन्दुमा पुगेको छ । साम्राज्यवादी, विस्तारवादी र दलालपँुजीवादीहरु देशमा प्रतिक्रान्ति गर्दै पुरानै प्रतिक्रियावादी राज्यसत्ता लाद्ने ठाउँमा पुगेका छन् । माओवादीलाई सम्पूर्ण रुपले बदनाम गर्दै सखाप पार्ने अभियानमा छन् । माओवादी आन्दोलन विकेन्द्रीत बन्दै कमजोर अवस्थामा पुग्दैछ । यो अवस्थामा माओवादी आन्दोलन र पार्टीलाई एक गुणात्मक राजनैतिक पहल सहित केन्द्रीकृत र ध्रुर्विकृत गर्न जरुरी छ । यसको लागि कमरेड किरणलाई यथासिघ्र वस्तुवादी कदम चाल्न आग्रह गर्दा पनि ग्रहण र मनन् गर्ने अवस्था रहेन ।
प्रतिक्रान्ति र प्रतिक्रियावादी षड्यन्त्रबाट देश र जनतालाई बचाउँदै नेतृत्व गर्नु पर्ने जिम्मेवारी लिनु पर्ने विषयमा हाम्रो बीचमा सहमति हुन नसकेपछि हाम्रो दस्दावेजसँग सहमति राख्ने कमरेडहरुलाई देशभरीबाट बोलाई सुझाव लिने काम गर्नुपर्ने अवस्था आयो । विचार मिल्नेहरुसँग सबैले अन्र्तक्रियाहरु गरिरहेकै थियौं । हामीले पनि त्यहि शिलशिलामा अन्तरक्रिया ग¥यौं । यसको मुख्य कारण समग्र पार्टी नेतृत्व क्रान्तिको उचित पहल गर्ने जिम्मेवारीबाट अलग हुन पुगेपछि कुनै न कुनै रुपमा उक्त पहललाई अगाडि बढाउनु पर्ने महसुस हुन पुग्नु थियो ।
३. पार्टी गम्भीर मोडमा पुगेको स्थितिमा पनि यदि नयाँ आधारमा नयाँ सहमति भई अग्रगामी समाधान आउँछ भने त्यो उचित हुन्छ भन्ने ठानी हामी केन्द्रीय समितिको पूर्ण वैठकमा सहभागी बन्यौं । परन्तु सारा कमरेडहरुको अपेक्षा विपरित कमरेड किरणले हदै मनोगत अमर्यादित, पुर्वग्राही, फुटपरस्त प्रस्ताव पेश गर्नु भयो ।
कमरेडका अभिब्यक्तिहरु पनि पुर्वग्रहले खचाखच भरिएका एवं असहिष्णु अनुभूत गरियो । यदि उहाँको यो प्रस्ताव र भनाइहरुलाई स्वीकार्ने हो भने पार्टी राजनीतिक रुपले दक्षिणपन्थी, सुधारवादी, यथास्थितिवादी दलदलमा त फस्ने नै छ साथ साथै क्रान्तिकारी आन्दोलन र पार्टीलाई बिसर्जनको परिणाममा पु¥याउने छ । यो प्रस्तावलाई कुनै पनि क्रान्तिकारीले स्वीकार गर्न सम्भव छैन ।
उल्लेखित परिस्थितिमा हामीले कमरेड किरण सहितको नेतृत्वसँग एउटै पार्टीमा रहेर सहकार्य गर्न असम्भव देख्यौं । जव क्रान्ति, पार्टी, क्रान्तिकारी आन्दोलनलाई हेर्ने र प्रयोग गर्नेमा आधारभूत रुपले अन्तर पर्न जान्छ भने त्यहाँ सँगै रहेर काम कार्यमा एक अर्कालाई बाधा पार्नु उचित र नैतिक हुँदैन । यसर्थ हामीले आजका मितिदेखि कमरेड किरणको नेतृत्वसँग सम्बन्ध विच्छेद गरेको जानकारी गराउन चाहन्छौं ।
प्रिय कमरेडहरु नेपाली राजनीतिक वर्गसंघर्षको विशिष्ट वस्तुगत अवस्थाले हाम्रो सहकार्य हाललाई टुटे पनि हामी सबै नेपाली जनता, पार्टी, क्रान्ति, सर्वहारावर्ग र वैज्ञानिक समाजवादको आदर्शप्रति समर्पित रहँदै जाँदा नयाँ सहकार्यको सुनौलो अवसर पनि प्राप्त हुने छ भन्ने विश्वास छ । निश्चय नै यो हाम्रो जीवनको अप्रिय निर्णय हो ।
परन्तु यसलाई हामीले कुनै ब्यक्तिगत आग्रह पूर्वाग्रहको उपज नठानी एक अर्काप्रति सरल र शिष्ट बन्दै क्रान्तिको नयाँ प्रक्रियामा अगाडि बढौं भन्ने विशेष अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादनसहित
………………..
विप्लव
(सचिव)
ने.क.पा.—माओवादी
मिति - ८ मंसीर २०७१

, , ,

प्रतिकृया दिनुहोस्

Loading...