सुन्तलाले उचित बजार नपाउँदा किसान निरास !

रोल्पा, ९ मङ्सिर । 
रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् । 


“आउँदा जाँदा ६ घन्टा पैदल यात्रा गर्नुपर्छ, दिनभरिको धुलो–धुवाँ खाँदै ग्राहकको प्रतीक्षा गर्दा मुस्किलले एक हजार रुपैयाँको सुन्तला बिक्री हुन्छ”, धवाङ–९ भूमकी रामकुमारी गुरुङले गुनासो गरिन् । “गाउँमै सङ्कलन केन्द्र स्थापना गरे समय पनि बचत हुने र श्रमशक्ति पनि कम लाग्ने थियो, यसतर्फ कसैले ध्यान दिएका छैनन्”, गुरुङले असन्तुष्टि पोख्दै भनिन् । 

घरमा गाईवस्तुको स्याहार पनि आफैँ गर्ने तथा सुन्तलासमेत आफैँ सदरमुकामसम्म ल्याउनुपर्दा महिलालाई थप समस्या हुने गरेको धवाङ–९ भूमकै वीनमाली पुनले बताइन् । “पुरुषहरु डोको बोकेर बजार जान लाज मान्छन्, सुन्तला बेचेर आएको पैसा भने उनीहरुलाई नै दिनु पर्छ”, पुनले अगाडि थपिन् । 

रोल्पा सदरमुकाम आसपास धवाङ, तित्रिकोट, वाइगाउँलगायत स्थानका सुन्तला उत्पादक किसानले डोकोमा ढुवानी गरी कात्तिकदेखि चैतसम्म सदरमुकाममा सुन्तला बिक्री गर्ने गर्दछन् । 

“सङ्कलन केन्द्रको आवश्यकता महसुस गरी कार्यालयमा किसानले मागगर्न आए निश्चित स्थानमा सङ्कलन केन्द्र स्थापना गर्न सकिने जिल्ला कृषि विकास कार्यालय रोल्पाका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए । सुन्तलालाई लामो समयसम्म टिकाइराख्न सुन्तला उत्पादक किसानलाई क्यारेटसमेत वितरण गर्न सकिने उनले जानकारी दए ।

प्रतिकृया दिनुहोस्

Loading...