डायनोसरको बारेमा आयो नयाँ तथ्य


करोडौं वर्षअघि लोप भएको भीमकाय जीव डायनोसरको बारेमा वैज्ञानिक खोजी दिनदिनै नयाँ र रोचक रुपमा प्रस्तुत हुँदै आएको छ। 

यो कति वर्षअघिसम्म पृथ्वीमा बाँच्यो, के कारणले लोप भयो भन्ने बारेमा फेरि नयाँ तथ्य फेला परेको छ। यसले अहिलेसम्मको हाम्रो मान्यता नै गलत प्रमाणित गरिदिएको छ।

पहिला पढौं यसको लोप कसरी भयो भन्ने बारेमा। 

यसको लोेप हुनुको कारणमा भने वैज्ञानिकहरु अहिले लगभग सहमतिमा पुगेका छन्। करिब ६ करोड ६० लाख वर्षअघि उल्कापिण्ड पृथ्वीमा ठोक्किएपछि यहाँको जलवायु परिवर्तन भएको र त्यसमा समायोजित हुन नसक्दा डायनोसर लोप भएको अधिकांश वैज्ञानिकको मत छ।

त्यतिबेला उल्कापिण्ड पृथ्वीमा ठोक्किँदा आगोको लप्का र धुवाँको मुस्लो छायो। मुस्लो यति बाक्लो थियो कि त्यसले सूर्यको किरण आउनसमेत रोकिदियो। 

सूर्यको किरण र राप नहुँदा पृथ्वीमा तापक्रम पनि निकै घट्यो। यसरी अकस्मात जलवायुमा परिवर्तन भई डायनोसरजस्ता जनावर टिक्न सकेनन्। त्यतिबेला उल्कापिण्ड खसेर खाडल पारेको मेक्सिको युकातान प्रायद्वीपमा भेटिएको वैज्ञानिकहरुले दावी गरेका छन्।

अब पढौं यसको उत्पत्तिको कथा। 

वैज्ञानिकहरुले डायनोसर उत्पत्तिको बारेमा हालै ब्राजिलमा केही तथ्यहरु फेला पारेका छन्। ब्राजिलको दक्षिणी इलाकामा डायनोसरको २३ करोड वर्ष पुरानो अवशेष फेला पारिएको र जुन अहिलेसम्मकै पुरानो तथ्य भएको उनीहरु बताउँछन्। उनीहरुका अनुसार २३ करोड वर्षअघि दक्षिण अमेरिकी क्षेत्रमा डायनोसर रहेको यसले पुष्टि गर्दछ। 

जीव विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय जर्नल ‘करेन्ट बायोलोजी’ मा अनुसन्धानकर्ता म्याक्स लानगर नेतृत्वको एक टोलीले ब्राजिलमा डायनोसरका अवशेष उत्खनन र अध्ययनको विषयमा विस्तृत लेख छापेका छन्। 

लेखका अनुसार, यसअघि भेटिएका अवशेषमा डायनोसरका हड्डीका टुक्राटुक्री मात्र थिए। ब्राजिलमा भेटिएको अवेशष भने लगभग सग्लो अवस्थामा छ। 

यो ‘बुरियोलेस्टेस स्चुलजी’ प्रजातिका डायनोसरको अवशेष भएको उनीहरू बताउँछन्। स्चुलजी लामो घाँटी भएको डिप्लोडोकस’ र ‘ब्राचियोसौरस’ नाम गरेका डायनोसर प्रजातिको पुर्खाको रुपमा मानिन्छ।

अर्को कुरा, ‘डिप्लोडोकस’ र ‘ब्राचियोसौरस’ डायनोसर शाकाहारी रहेको वैज्ञानिक दावी छ। जबकि, उनीहरूको पुर्खा मानिएको स्चुलजी प्रजाति भने मांसाहारी थियो। स्चुलजीका तिखा र काँडे दाँत थिए। यस्ता दाँत मांसाहारी जनावरमा हुन्छन्। 

यसरी मांसाहारबाट शाकाहार भोजन गर्ने जन्तुमा परिवर्तन हुनुमा के कारण होला? वैज्ञानिकहरुको यसमा अनेक तर्क छन्। धेरैले यसको वजनलाई आधार बनाएर विश्लेषण गरेका छन्। 

वैज्ञानिकहरु ब्राचियोसौरस प्रजातिका डायनोसरको वजन ५० टनसम्म रहेको अनुमान गर्छन्। त्यसैले भीमकाय शरिर बोकेर अन्य जनावरको शिकार गर्दै हिंड्नु असम्भवजस्तै थियो। बाध्य भएर शाकाहारी भोजनमा अभ्यस्त हुन थाले।

ब्राजिलमा भएको यो पछिल्लो खोजले डायनोसरको बारेमा सनसनीपूर्ण खुलासा गरेको छ। विगतमा २० करोड १० लाख वर्षअघि जुरासिक युगमा डायनोसरको उदय भएको मानिएको थियो। 

त्यसपछि ‘लेजरपेटिस’ को उदय भई २३ करोड वर्षअघिसम्म बाँचेको अनुमान गरिएको थियो। तर अहिले आएको यो अध्ययनले ‘लेजरपेटिस’ र डायनोसर तीन करोड वर्षसम्म सँगसँगै बाँचेको पुष्टि गरेको छ। 

अहिले आएको यो नयाँ तथ्यसँगै सबै पुरातत्वविद्, इतिहासविद् र संग्रालयहरुले आफ्ना मान्यतामा परिवर्तन गर्नुपर्ने चुनौती भएको छ। 

एजेन्सीहरुको सहयोगमा

,

प्रतिकृया दिनुहोस्

Loading...