बिरामीको मृत्युपछि चितवन मेडिकल कलेजमा झडप, ३ प्रहरी घाइते

  • चितवन २२ मङ्सिर ।
चितवन मेडिकल कलेजमा सुत्केरी गराउन ल्याइएकी एक महिलाको मृत्युका विषयमा बुधबार अस्पतालमा झडप भएको छ ।

उपचारका लागि ल्याइएकी चितवनको भरतपुरस्थित कृष्णपुरकी २५ वर्षीया गर्भवती सुनिता गुरुङको उपचारका क्रममा मङ्सिर २० गते मृत्यु भएको थियो ।

अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै स्थानीयले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दैआएका छन् । झडपका क्रममा तीन प्रहरी र एक जना बिरामी कुरुवासहित चार जना घाइते भएका छन् ।

भीड तीव्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।

उनका अनुसार झडपका क्रममा भीडको लठ्ठी र ढुङ्गा प्रहारबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराई, प्रहरी हवल्दार विनोद ठाकुर र प्रहरी जवान विवेक खत्री घाइते भएका हुन् ।

आन्दोलनकारीको ढुङ्गा लागेर बिरामी कुर्न आएका अर्का एक व्यक्तिसमेत घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालले लापर्बाही गरेर बिरामीको मृत्यु भएको भन्दै आक्रोसित स्थानीयले अस्पतालका चार वटा सिसामा तोडफोडसमेत गरेका छन् ।

प्रहरीले पाँच जना आन्दोलनकर्तालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । पीडितको मागको विषयमा छलफल र वार्ता हुँदै गर्दा घटना बढेपछि अस्पताल परिसरमा विगत तीन दिनदेखि प्रहरी परिचालन गरिएको छ ।

यसैबीच चितवन मेडिकल कलेजले एक विज्ञप्ति जारी गरी जटिल रोग एक्लामेसिया (छारेरोग जस्तै) लागेकाले अस्पतालको प्रयासका बाबजुद उपचार सफल नभएको उल्लेख गरेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...