माघ १ गते तारुकामा जुध्ने भए गोरु, मेला ब्याबस्थापन समिति गठन

  • कास्की १२ पुस । 

नुवाकोटको तारुकामा माघे संक्रान्तिमा हुने गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ । नेपालकै पहिचान र गौरवको विषय रहेको तारुकाको गोरु जुधाई मेला सम्पन्न गर्न दिपेश शाक्यको अध्यक्षतामा ९ सदस्यीय मेला व्यवस्थापन समिति गठन भएको हो । 

समितिका सचिवमा साधुराम सिग्देल, कोषाध्यक्ष बद्रि गुंगाना, सदस्यहरु माधव बख्रेल, राज्यलक्षी श्रेष्ठ, श्याम अच्छामी, कृष्ण तामाङ, संगिता शाही र सर्मिला सिग्देल रहेका छन् । त्यस्तै जनकराज ढुंगानाको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन भएको छ । 

नुवाकोट -पोखरा सम्पर्क समाजका सल्लाहकार संयोजक राजेन्द्र न्यौपानेले इमान्दार मिडियालाई दिएको जानकारी अनुसार समितिले अब गोरु दर्ता गर्नका लागि सूचना जारी गर्नेछ । तारुका गाविसको चन्दनी ठूलो पाटामा विगत देखिनै गोरु जुधाई हुदै आएको छ ।

मेला अवलोकनका लागि नुवाकोट आसपासका जिल्ला धादिङ, रसुवा, काठमाडौं, सिन्धुपाल्चोक, चितवन, गोराखा सहित अन्य जिल्लाबाट समेत दर्शक आउने गर्दछन् । 

राजधानीबाट तारुका जानको लागि कलंकी हुँदै गल्छी–त्रिशूली सडकखण्ड प्रयोग गर्न सकिन्छ, यो सबैभन्दा छोटो रुट हो । पासाङलाह्मु राजमार्ग अन्तर्गतको काठमाडौं–पीपलटार देवीघाटको बाटोबाट पनि तारुका पुग्न सकिन्छ ।

पोखरा चितवनतर्फबाट आउने दर्शकहरुको लागि भने गल्छी हुँदै तारुकाघाटतर्फ लाग्नुपर्ने हुन्छ । मेला हुने ठाउँ राजधानीबाट करिब ६५ किमिको दूरीमा रहेको छ । 

मोटरसाइकल लैजानेहरु मेला स्थलमै पुग्नसक्छन् भने बसमा जानेहरुले गल्छी देवीघाट मार्गको तारुकाघाट भन्ने ठाउँमा बसबाट ओर्लेर करिब एक घण्टा ग्रामीण दृश्य अवलोकन गर्दै मेला स्थल पुग्नुपर्ने हुन्छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...