हातखुट्टा बाँधेर नकाबधारीले लुटे ५५ लाख

  • काठमाडौं, १९ मंसिर ।

ललितपुरमा शनिबार बिहान करिब ५५ लाख रुपैयाँबराबरको डकैती भएको छ ।

नकाबधारी समूहले महालक्ष्मीस्थानस्थित घरमा पुगेर परिवारका सदस्यलाई नियन्त्रणमा लिई ३४ लाख नगद र ४१ तोला सुन गरी ५५ लाख रुपैयाँबराबरको धनमाल लुटेको हो । बिहान करिब पौने ३ बजे घरको मुख्य ढोकाको चुकुल फुटाएर उनीहरू भित्र छिरेका थिए ।

हातमा रड लिएर छिरेका उनीहरूले परिवारका ६ जना सदस्यलाई नै मार्ने धम्की दिँदै डोरीले हातखुट्टा बाँधेका थिए । आफूहरूलाई मुखमा समेत टेपले बाँधेर लुटपाट गरेको पीडितहरूले बताएका छन् । नकाबधारी समूहले मार्ने धम्की दिई दराजको साँचो देखाउन लगाई नगद र सुनका गहना लिएर भागेका हुन् ।

साढे दुईतले घरमा पहिलो तलाबाट राई परिवारले ट्रान्सपोर्टसम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका थिए । माथिल्लो तलामा उनीहरू बस्दै आएका थिए । एउटा ढोकामा मात्र ताला लगाएकाले डकैती गर्नेहरूलाई सजिलो भएको थियो ।

राजधानीमा करिब दुई वर्षपछि डकैतीको घटना भएको हो । पेसेवर आपराधिक समूहले नै राईको परिवारका बारेमा सूचना पाएर डकैती गरेको हुनसक्ने प्रहरीको आशंका छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...