थापाको सत्तारोहणमा कांग्रेस तगारोः मोर्चा बिच्किँदा गच्छदारलाई मौका

- काठमाडौं,१३ पुस ।
प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले परराष्ट्र मन्त्रालय छाड्न नमानेका कारण राप्रपा अध्यक्ष कमल थापाको सत्तारोहण रोकिएको छ । पार्टी एकीकरण लगत्तै उपप्रधानमन्त्री र पूर्ववर्ती सरकारका दुई मन्त्रालयसहित सरकारमा जान खोजेका थापालाई कांग्रेसले रोकेको हो ।
कमल थापाको सत्ता यात्रामा कांग्रेस तगारो बनेपछि संविधान संशोधन विधेयक लगायत सरकारका निर्णयहरुप्रति थापाले निरन्तर अशन्तुष्टि र सहमति जनाउँदै आएका छन् । उनले संविधान संसोधन विधेयकको विपक्षमा मतदान गर्ने समेत बताइसकेका छन् ।
राप्रपा सत्ता गठबन्धनको तेस्रो ठूलो दल हो । उसको संसदको गणितको शक्ति पनि माओवादीको भन्दा आधा छ । यसअघि राप्रपा र राप्रपा नेपाल एकीकरण हुनुअघि राप्रपाले २ मन्त्रालय पाएको थियो ।
अहिले राप्रपाको सीट संख्या ३७ छ । राप्रपामा कि त पार्टी अध्यक्ष थापा सरकारमा जानुपर्ने कि त दुई मन्त्रीलाई पनि फिर्ता बोलाएर विपक्षमा बस्नुपर्ने दबाव बढिरहेको छ । यो जानकारी सत्ता गठबन्धनका नेताहरुलाई समेत गराइएको छ ।
स्रोतका अनुसार राप्रपाले उर्जा र स्थानीय विकास मध्य एक र परराष्ट्र मन्त्रालय दावी गरेको छ । माओवादी पक्षले एउटा मन्त्रालय उनलाई दिन सकिने संकेत गरिसकेको छ । सम्भवतः माओवादीले स्थानीय विकास छाड्नेछ ।
तर, कांग्रेसले परराष्ट्र मन्त्रालय छाड्न मानेको छैन । यसबीचमा शेरवहादुर देउवा र विमलेन्द्र निधीले राप्रपा नेताहरुलाई कमल थापाको साटो अर्को नेतालाई मन्त्री बनाएर पठाउन आग्रह गरेका छन् ।
सबीचमा मधेसी मोर्चा र सत्ता गठबन्धनको दूरी बढ्दै गएको छ । यदि मधेसी मोर्चाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएमा राप्रपा बिना प्रचण्ड सरकार टिक्न सक्दैन । त्यसैले राप्रपाले आफ्नो बार्गेनिङ पावर बढाएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
१४ सिटसहितका फोरम लोकतान्त्रिक पनि अहिले सरकारमा छैन । उसका लागि छुट्याएको मन्त्रालयमा पनि कांग्रेसले राज्यमन्त्री पठाइसकेको छ । फोरम लोकतान्त्रिक र राप्रपा दुवैलाई सरकारमा ल्याउन कांग्रेस र माओवादीले खाइपाइ आएका मन्त्रालय छाड्नुपर्ने हुन्छ ।
सत्ता गठबन्न जोगाउन कि त मधेसी मोर्चाको समर्थन कायम राख्नुपर्छ, होइन भने राप्रपा र फोरम लोकतान्त्रिकलाई सरकारमा मन्त्रालय मिलाउनुपर्ने बाध्यता प्रधानमन्त्रीलाई आउन लागेको स्रोतको विश्लेषण छ ।
प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री कृष्णवहादुर महराले कमल थापालाई केपी ओली सरकारको पालामा लिएजस्तै उपप्रधानमन्त्री र परराष्ट्र तथा स्थानीय विकास मन्त्रालय दिन सकिने संकेत गरेका थिए । तर, अहिले कांग्रेसले मानेन भनेर तर्किन थालेको राप्रपा स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...
