देउवाले मधेसी नेताहरुलाई दिए संशोधन विधेयक पास गराउने बचन


  • काठमाडौं, १५ पुस । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुलाई भेटेर संविधान संशोधन विधेयक पास गराउने बचन दिएका छन् ।

प्रधानमन्त्रीको आहृवानमा हालै बालुवाटारमा बसेको बैठकमा देउवा र मधेसी मोर्चाका नेताहरुबीच चर्काचर्की भएको थियो । लगत्तै दुई दिन आन्तरिक बैठकमा जुटेका मधेसी मोर्चाका नेताहरुले समय मागेर शुक्रबार देउवासहित कांग्रेस नेताहरुलाई भेटेका छन् ।

मधेसी मोर्चाका नेताहरुले कांग्रेसले चाहेमा संविधान संशोधन हुन सक्छ भनेर आफूहरुले सरकारलाई समर्थन गरेको भन्दै आफ्नो प्रतिवद्धताबाट पछि नहट्न आग्रह गरेका छन् ।

जवाफमा देउवाले संशोधन विधेयक संसदमा टेबल हुने र पास गराउने बताएका छन् । एक नेताका अनुसार उनले भने, ‘किन आत्तिनु हुन्छ, संशोधन पास गराउने मेरो जिम्मा भयो ।’

बालुवाटार बैठकमा देउवाले मधेसी मोर्चाले सहमति जनाए पनि नजनाए पनि चुनाव घोषणा गर्ने बताएपछि मधेसी मोर्चाका नेताहरु रुष्ट बनेका थिए । शुक्रबारको छलफलमा भने देउवाले संशोधन विधेयक संसदमा टेबल गरेपछि सहमतिमै मिति घोषणा हुने बताए ।

मधेसी मोर्चाका नेताहरुले भोलि प्रधानमन्त्री प्रचण्डलाई भेट्न समय मागेका छन् । मधेसी मोर्चाले संशोधन विधेयक परिमार्जन गर्न दबाव दिने र नभए आफ्नो फरक मतसहित अहिलेकै संशोधन विधेयकलाई भएपनि पास गराउने रणनीति लिएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...