वृन्दावनको 'भम्केपानी' पर्यटकीय क्षेत्र ओझेलमा

- कञ्चनपुर, २ पुस ।
पर्यटकीय सम्भावना बोकेको कञ्चनपुर झलारी पिपलाडी नगरपालिकास्थित वृन्दावन सामुदायिक वन क्षेत्रमा पर्ने भम्केपानी क्षेत्र ओझेलमा परेको छ ।
प्रचारप्रसार र संरक्षण संवद्र्धनको अभावमा भम्केपानी क्षेत्र ओझेलमा परेको हो । हिउँदमा तातो र गर्मीमा चिसो पानी हुने कुण्ड यस क्षेत्रमा रहेको छ । कुण्डमा रहेको पानी आफै माथि उफ्रिने भएकाले यसको नाम भम्केपानी रहन गएको स्थानीयवासी डिल्लीप्रसाद चौधरीले बताए ।
कुण्डमा रहेको पानी पहिला पहिला दुई फुटमाथि उफ्रिने गरेको र हाल खोलाले कुण्डलाई काटेर बगाउने अवस्थामा पु¥याएपछि कालिका सामुदायिक वनले संरक्षणका लागि चारैतिरबाट ढुङ्गाको पर्खाल लगाएपछि पानी उफ्रिने क्रममा कमी आएको उनले बताए ।
कुण्डमा रहेको पानी अनाँैठो तरिकाले उफ्रिने गरेको हेर्नका लागि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । दैनिक औषतमा ३० जना भन्दा बढी आन्तरिक पर्यटक अवलोकनका लागि यहाँ पुग्ने गरेको वैजनाथ सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए ।
मेलामा आउनेले कुण्डमा नुहाएमा सबै पाप कर्म नाश हुने र चर्मरोग निको विश्वासका साथ यहाँ मानिसहरु पुग्ने गरेको स्थानीयवासी ढुण्डीराज भण्डारीले बताए ।
यस क्षेत्रप्रति थारु समुदायको अगाध श्रद्धा रहेकाले उनीहरुले सोमबारे औँंसी, माघे सङ्क्रान्तिका बेला यस क्षेत्रमा पुगेर पूजा गरी कुण्डमा अनिवार्य नुहाउने गर्दछन् । पौराणिककालदेखि यस क्षेत्रले धार्मिक मान्यता पाउँदै आए पनि यात्रुहरुको सुविधाका लागि भौतिक संरचना निर्माण नहुँदा तथा यहाँसम्म पुग्ने सडकको अवस्था जिर्ण हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।
यस क्षेत्रका दशवटा सामुदायिक वनका पदाधिकारीले भम्केपानी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा चिनाउनका लागि प्रचारप्रसारसँगै आवश्यक रकम विनियोजन गरी भौतिक संरचना निर्माण गर्न एक्यवद्धता समेत जनाएका छन् ।
प्रतिकृया दिनुहोस्
Loading...
