तराईका जिल्लामा चिसोसँगै शीतलहर पनि शुरु


  • काठमाडौं, २४ मंसिर ।

तराईका विभिन्न जिल्लामा बढ्दै गएको चिसोसँगै महोत्तरीमा पनि शीतलहर शुरु भएको छ । करिब एक सातादेखि जिल्लामा चिसोले आफ्नो रुप देखाए पनि आजदेखि झरी झैं शीतलहरको वर्षा हुन थालेको छ ।

बाक्लो हुस्सु, चिसो हावा र शीतलहरको बीच जिल्लाको जनजीवन निक्कै प्रभावित भएको छ । शीतलहरको कारण गाउँबस्ती तथा सहरबजारमा मानवीय चहलपहलमा कमी आएको छ भने सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ ।

बिहीबारदेखि जिल्लामा सूर्यसमेत देखापरेको छैन भने जाडो अब सहन नसकिने भएर ठाउँठाउँमा स्थानीयवासीले आगो तापेर बस्नुपरेको छ ।

शीतलहरसँगै बढेको चिसोले जिल्लाका मानिसका साथै वस्तुभाउ र बालीनाली पनि प्रभावित भएको छ । यस शीतलहरका कारण विशेषगरी सडकमा बसी माँगी खाने, बौलाहा र अति गरिब व्यक्ति बढी प्रभावित भएका छन् । तर अहिलेसम्म चिसोकै कारण महोत्तरीमा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएका छन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...