उदयपुरमा बस दुर्घटना ४ जनाको मृत्यु, २५ घाइते


  • उदयपुर, २४ मंसिर । 

उदयपुरमा तीर्थयात्री सवार बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा अन्य २५ जना घाइते छन् ।

खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री सवार ना ४ ख ३६२० नम्बरको बस कटारी-घुर्मी सडकखण्ड अन्तर्गत उदयपुरको लेखानी-५ भदौरेमा शुक्रबार बिहान दुर्घटना भएको हो । बस करिब २ सय मिटर तल खसेको छ ।


दुर्घटनामा सप्तरीका १३ वर्षीय दिपेश राम, मधुपट्टी ६ सप्तरीकै ६० वर्षीया सरस्वतीदेवी राम, ३३ वर्षीया उसम देवी राम र ७० वर्षीय ठकन रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालकसहित ४२ जना चढेको बस तेल बोकेको ट्यांकरलाई साइड दिन खोज्दा दुर्घटना भएको घाइते अनिल कुमार रामले बताए ।

गम्भीर घाइते भएका चालकसहित पाँच जनालाई थप उपचारका लागि धरानको घोपा अस्पताल पठाइएको छ । रिफर गरिएकाहरुमा कुसाह ५ सप्तरीका ४५ वर्षीय चालक ललन पासवान, २० वर्षीय विन्दा पासवान, ६० वर्षीय नथरा विक, अनिल कुमार राम र शर्मिला सदा छन् ।

सामान्य घाइतेहरुको भने जिल्लास्थित कटारी अस्पतालमा उपचार भइरहेको छ । बसमा एकजना तीर्थयात्री सिरहाको र अन्य सबै सप्तरीका रहेको प्रहरीले जनाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...