ऊर्जामन्त्री प्रभाकरको नाममा नक्कली खाता खोलेर करोडौं ठगी !

काठमाडौं, १६ मंसिर ।

करोडौं ठगीको आरोपमा महानगरीय अपराध महाशाखाले ईश्वरीप्रसाद पोखरेललाई पक्राउ गरेको छ ।
प्युठान घर भई नवलपरासीको बर्दघाटमा बसाई सरेका उनी पेशाले मोटर पार्ट्स सप्लायर हुन् । तर, विभिन्न देश पठाइदिन्छु भनेर तथा नक्कली खाता खोलेर करोडौं ठगी गरेको पाइएको छ ।

यतिसम्मकी उनले माओवादी नेता एवं वर्तमान ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’को नाममा समेत नक्कली खाता खोलेको पाइएको छ । भारतीय सेनाका भगौडासमेत रहेका उनले प्रभाकर र हिमाल शर्माको नक्कली नागरिकता बनाएर नबिल र क्रिष्ट बैंकमा खाता खोलेका थिए ।

उनले क्रिष्ट बैंकका म्यानेजरलाई फोन गरेर आफू माओवादी नेता शर्मा भएको भन्दै १० लाख रुपैयाँ मागे । रकम लगेको एक सातामा चुक्ता गरे । फेरि २० लाख रुपैयाँ लगेर पनि फर्काए । तर, तेस्रो पटकमा भने उनले एक करोड मागे र फरार भए ।

ठगी आरोपमा अदालतले उनलाई ०६७ सालमा नै २ वर्ष कैद र २ लाख २९ हजार जरिवानाको फैसला सुनाएको थियो ।

उनले सन्दीप दर्नाल, भिम बहादुर दर्जी, शान्ती राई समेत २३ जनालाई इजरायल पठाउने भनी १ करोड ५ लाख लिएको, सुदीप राज पन्तलाई दक्षिण कोरिया पठाउने भनी ३ लाख लिएको, रोजन लामालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाई दिने भनी २ लाख ५० हजार लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बैंकिङ प्रयोजनको लागि ग्रीन सिटी, कृषी फर्म तथा बाख्रा प्रशोधन केन्द्र नवलपरासीमा दर्ता गरी विभिन्न बैंक, वित्तीय संस्था एवं व्यक्तिहरुलाई ठगी गर्ने गरेको देखिएको र अनुस्धान भइरहेको प्रहरीले जनाएको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...