एमाले सङ्घीयताको पक्षमा नरहेको थापाको आरोप

- खोटाङ, १६ पुस ।
नेकपा माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख तथा पूर्व रक्षामन्त्री रामबहादुर थापाले नेकपा एमाले सङ्घीयताको पक्षमा नरहेको आरोप लगाए।
माओवादी केन्द्रको भ्रातृ सङ्गठन किराती राष्ट्रिय मुक्ति मोर्चाको खोटाङको दिक्तेलमा आज आयोजित चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सङ्घीयताको विपक्षमा रहेको एमालेले आफ्नो पार्टीभित्र पाँच विकास क्षेत्रलाई नै प्रदेश बनाइदिए हुन्छ भनेर पटकपटक छलफल चलाइरहेको बताए।
दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले जनताको बलिदानीबाट प्राप्त अधिकारलाई स्थापित गर्न माओवादीले सरकार, सदन र सडकबाट सङ्घीयता र स्वयत्तताको आन्दोलन चलाइरहेको बताए।
उत्पीडन, दमनमा परेका र गरिबीको जाँतोमुनि पिसिरहेका जनता मुक्तिका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएको बताउँदै उनले भने – “राज्य व्यवस्थामा उत्पीडित जाति, लिङ्ग, धर्मको शासन गर्ने राजनीतिक अधिकार नभएसम्म देश विकास हुन सक्दैन ।”
उनले संविधानलाई संशोधन गरेर सङ्घीयताको आन्दोलनलाई पूर्णता दिएर सबैलाई एकताबद्ध गर्न आफ्नो पार्टी गम्भीर भएर लागिपरेको बताए।
कार्यक्रममा पोलिटब्युरो सदस्यहरु गोपाल किराती, सुरेश आलेमगर, समीता कार्कीलगायत केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस्
Loading...
