काँग्रेस सभापति देउवा भन्छन् - 'संशोधन विधेयक पास हुन्छ'


  • बाग्लुङ, १६ पुस ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक कुनै पनि हालतमा पास हुने बताएका छन्।

एकचालिसौँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा नेपाली काँग्रेस बागलुङ, क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

“विधेयक संसद्मा टेबुल हुन्छ, कुनै पनि हालतमा पास हुन्छ, हामी पास गरेरै छोड्छौँ” – सभापति देउवाले भने। विपक्षी नेकपा (एमाले) लगायतका दलले संसद् अवरुद्ध गरेर प्रजातन्त्र विरोधी कार्य गरेको उनको भनाइ छ। सभापति देउवाले विपक्षीलाई संसद्को अवरोध हटाउन आग्रह गर्दै यदि, अवरोध भइरहे पनि संसद्को प्रक्रिया अघि बढ्ने उल्लेख गरे।

“संसद्लाई बन्द गर्न मिल्दैन, यो प्रक्रियामा अघि बढ्छ” देउवाले भने– “विपक्षीले प्रक्रियाबाटै विधेयक फेल गराओस्, हामीलाई हराओस् ।” उनले विपक्षीले संसद् अवरुद्ध गरेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए।

यसअघि नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको सम्झौताकै वरिपरि रहेर वर्तमान सरकारले संशोधन प्रस्ताव ल्याएको उनको भनाइ छ ।

राष्ट्रिय एकता र मेलमिलाप कायम गराउन सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको सभापति देउवाले बताए। “यो देश सबैको हो, मधेसलाई अविश्वास गरेर हाम्रो राष्ट्रियता बलियो हुँदैन।”,

सभापति देउवाले भने – “सीमामा बसेर देशको रक्षा गर्ने तिनै मधेसीहरु हुन्, मधेस, पहाड, हिमालबीचको एकतालाई सुदृढ गर्नु आवश्यक छ।” उनले सबै जातजाति, वर्ग, समुदायबीच राष्ट्रिय एकता कायम गरेर मुलुकलाई अघि बढाउन वर्तमान सरकार लागिपरेको उल्लेख गरे।

आगामी १४ महिनाभित्र तीन तहको निर्वाचन गर्नुपर्ने राष्ट्रिय अभिभारा मुलुकसामु रहेको सभापति देउवाले बताए। उनले मुलुकका ठूला परिवर्तनमा नेपाली काँग्रेसले अगुवाइ गरेको भन्दै संविधान कार्यान्वयन पनि नेपाली काँग्रेसकै नेतृत्वमा हुने दाबी गरे।

,

प्रतिकृया दिनुहोस्

Loading...