सवारी साधन दायाँ मोड्न नपाइने, डेलिभरी भ्यान र स्कुल बसलाई समयसीमा

  • काठमाडौं, १९ मंसिर । 

काठमाडौंमा सवारी जामको समस्या अन्त्यका लागि महत्वपूर्ण चार ट्राफिक नियम परिवर्तन गरेर कडाइ गरिने भएको छ ।

यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले बनाएको नियम यो नियम रिंगरोडभित्र लागू हुनेछ । सवारी चापको समयमा केही प्रयोजनका गाडीलाई अब रिंगरोडभित्र समय तोकेर निषेध गर्नेदेखि सवारीको जथाभावी मोड्ने प्रवृत्तिमाथि अंकुश लगाउने निर्णय भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले अनलाइनखबरलाई बताए । सुरुमा प्रचार–प्रसार गरेर यो नियमबारे जनतालाई सचेत गराइनेछ र, निश्चित समयपछि लागू गरिनेछ ।
अब लेन अनुशासनलाई थप कडाइ गर्न सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने निर्णय भएको छ । अहिले सवारी गइरहेको साइडभन्दा पारिपट्टीको बाटो प्रयोग गर्न बिपरित लेन हुँदै सवारी क्रस गरेर जाने प्रचलन छ । सवारी फर्काउन पनि विपरित लेनमा जथाभावी दायाँ मोड्ने गरिएको छ ।

तर, अब नयाँ नियम लागू गरेर यसमा कडाइका साथ रोक लगाइनेछ । सवारीहरुले ट्राफिक आइल्याण्डबाट मात्रै राइटसाइड मोड्न सक्नेछन् । जथाभावी दायाँ मोड्न दिँदा सवारी जाम बढेको र ट्राफिकलाई पनि हैरानी भएको यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको दाबी छ । ट्राफिक आइल्याण्ड नभएका क्रसिङ बाटोमा अब राइट मोडेर विपरित दिशाको सडकतर्फ जान पाइने छैन ।
त्यस्तै नयाँ नियम अनुसार अब विद्यालयका बसहरुलाई पनि सडकमा ‘अफिस टाइम’मा गुड्न नदिइने भएको छ । स्कुल बसहरुले ९ बजेअघि नै विद्यार्थीलाई विद्यालय पु¥याइसक्नुपर्नेछ र ४ बजे अघि नै विद्यार्थी फर्काएर स्कुल बस विद्यालयमा आइसक्नुपर्नेछ ।

अर्थात विहान ९ बजेभित्र स्कुलबस स्कुल हाताभित्र प्रवेश गरिसकेकेको हुनुपर्नेछ भने भने बेलुका ४ बजेपछि पनि स्कुल बस सडकमा आउन पाउने छैनन् । अहिले उपत्यकामा झण्डै ३ हजारभन्दा बढी स्कुल बस रहेको अनुमान छ । 

त्यसैगरी ट्राफिक प्रहरीले अब खानेपानी बोक्नेबाहेक अन्य डेलिभरी भ्यानलाई पनि ‘अफिस टाइम’मा रिंगरोडभित्र चलाउन नदिने भएको छ । विभिन्न सामग्रीको ढुवानीका लागि चल्ने साना भ्यान तथा गाडीलाई बिहान ९ बजेदेखि ११ बजेसम्म चल्न नदिइने भएको छ । यसैगरी अपहरान्ह ४ देखि बेलुकी ६ बजेसम्म पनि यस्ता भ्यान चल्न नदिने निर्णय भएको छ । अब मुख्य जाम हुने समयमा डेलिभरी भ्यान तथा गाडीहरु सडकमा आए ट्राफिक प्रहरीले कारवाही गर्नेछ ।

ट्रापिक प्रहरीले अब पैदलयात्रुले जेब्राक्रसिङबाटै बाटो काट्ने वातावरण बनाउन पनि विशेष प्रयास गर्ने बताएको छ । विभाग र ट्राफिकले अब पुलमुनीका सडकलाई अधिकतम् रुपमा प्रयोगमा ल्याउने निर्णय पनि गरेका छन् ।

सबै पुलमुनिका बाटाहरु खोलिने भएको छ । पुलमुनीका सडक प्रयोगमा आउँदा जाम कम हुने र करिडोरका सडकमा पनि सवारी गुडाउने क्रम बढ्ने विश्वास गरिएको अधिकारीहरुले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...